दस वर्षपछि सेनाका अधिकृतविरुद्ध जाहेरी

नेपालगन्ज, १८ साउन । सशस्त्र द्वन्द्वका बेला छोराको हत्या गरेको अभियोगमा बाँकेकी एक वृद्धाले दस वर्षपछि सेनाका अधिकृतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

वनकटवा–४ की ५० वर्षीया राधादेवी देवकोटाले इलाका प्रहरी कार्यालय कोहलपुरमा मंगलबार जाहेरी दिएकी हुन् । राधादेवीका छोरा क्रान्ति अभिलाषी देवकोटालाई १५ पुस ०५८ मा बाँकेकै नौवस्ता, डिगिया चोकमा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो ।
राधादेवीले घटनामा संलग्न भएको आरोपमा तत्कालीन भीमकाली गुल्म चिसापानी ब्यारेकका सेनानी अजितकुमार थापा र सहसेनानी रमेश स्वाँरविरुद्व कर्तव्य ज्यानसम्बन्धी जाहेरी दरखास्त दिएकी हुन् ।
उनले दिएको जाहेरीमा डिगियास्थित नास्ता पसलमा बसेको अवस्थामा सादा पोसाकमा आएका तत्कालीन शाही नेपाली सेनाका दुईजनाले नियन्त्रणमा लिन सकिने अवस्था हुँदा पनि माओवादीको आरोपमा छातीमा गोली हानेर हत्या गरेको उल्लेख छ ।
घटनापछि थप सुरक्षा बलका साथ सहसेनानी स्वाँर चिसापानी ब्यारेकबाट तत्काल घटनास्थलमा आएको र शवसमेत लिएर गएको तथा अहिलेसम्म उपलब्ध नगराएको पीडित राधादेवीले बताइन् ।
पीडितले दिएको कर्तव्य ज्यानसम्बन्धी जाहेरीका सम्बन्धमा माथिल्लो निकायमा बुझेर शुक्रबारसम्म आवश्यक कारबाही अगाडि बढाइने कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले बताए ।

प्रतिक्रिया