पौडेल मुख्यसचिव, वरिष्ठ सचिवहरुद्वारा भटाभट राजीनामा

काठमाडौं, १५ साउन । निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवमा अन्तत: लीलामणि पौडेलले बाजी मारेका छन् । लामो कचिंगलपछि सरकारले वरिष्ठतामा आठ नम्बरमा रहेका प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेललाई ‘दक्षताका आधारमा’ कायममुकायम मुख्यसचिव नियुक्त गरेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार मध्याह्न बसेको मन्त्रिपरिषद् बैठकले सचिव पौडेललाई २२ साउनदेखि स्वत: मुख्यसचिवको जिम्मेवारी सम्हाल्ने गरी कामु मुख्यसचिवको जिम्मेवारी दिएको छ । यसअघि सचिव पौडेलले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीको निजी सचिवालय, प्रशासन महाशाखा, आर्थिक पूर्वाधार महाशाखालगायतको जिम्मेवारी सम्हाल्दै आएका थिए । ‘२२ साउनबाट मुख्यसचिवको जिम्मेवारी सम्हाल्ने गरी अहिले कामु मुख्यसचिवमा पौडेललाई मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको छ,’ बैठकपछि सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले भने । आगामी २२ साउनबाट अनिवार्य अवकाश पाउन लागेका मुख्यसचिव माधवप्रसाद घिमिरे आइतबारबाट बिदामा बस्ने भएपछि कामु मुख्यसचिवमा पौडेललाई नियुक्त गरेको मन्त्री यादवले जानकारी दिए ।
मुख्यसचिव नियुक्त गर्ने विषयमा सरकारमा रहेका मन्त्रीहरूबीच गहिरो मतभेद रहे पनि आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट सबैको सहमतिमा निर्णय लिएको उनको भनाइ छ ।
प्रधानमन्त्री भट्टराईका विश्वासपात्रका रूपमा चिनिने सचिव पौडेललाई मुख्यसचिव बनाउने पक्षमा प्रधानमन्त्रीसहित सत्तारूढ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत थिए । एक मन्त्रीका अनुसार उनलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री भट्टराई आºनो कुर्सी नै दाउमा राख्न तयार थिए । यसअघि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मधेसी मोर्चाका मन्त्रीबीच विवाद भएपछि मुख्यसचिव चयन हुन सकेको थिएन ।
मधेसी मोर्चाका मन्त्रीहरूले उद्योगसचिव उमाकान्त झालाई मुख्यसचिव बनाउनुपर्ने अडान लिएका थिए । तर, झा मुख्यसचिव बन्ने पक्काजस्तै भएपछि उनीहरूले वरिष्ठताका आधारमा निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइरालाको नाम अघि सारे । मोर्चाबाट सरकारमा सहभागी मन्त्रीहरूले सचिव झापछि समावेशीका नाममा सञ्चारका अवनीन्द्रकुमार श्रेष्ठ वा सिँचाइकी ब्रिन्दा हाडाको नाम लिएको स्रोतले बतायो ।
सञ्चारमन्त्री यादवले पनि कामु मुख्यसचिव तोक्ने विषयमा मुख्यसचिवको मैदानमा रहेका १२ जना सचिवबारे छलफल भएको र त्यसमध्ये पौडेल, झा, कोइराला र हाडाको नाम अघि आएको बताए । बैठकमा मुख्यसचिव नियुक्तिबारे सबै मन्त्रीले आºनो विचार राखेका थिए ।
मन्त्री यादवका अनुसार मुख्यसचिवले प्रधानमन्त्रीको निकट रहेर काम गर्नुपर्ने भएकाले आफूअनुकूल व्यक्ति हुनुपर्ने अडान प्रधानमन्त्रीले लिएका थिए । यसअघि मधेसी मोर्चा र माओवादीका शीर्ष नेताहरूबीच बिहान बसेको बैठकमा पौडेललाई मुख्यसचिव बनाउने विषयमा सहमति भएको थियो ।
दक्ष र इमानदार छविका पौडेल प्रधानमन्त्री कार्यालयमा सरुवा हुनुअघि गृहमा थिए । गृहमा उनलाई मन्त्री गच्छदारले नरुचाएपछि प्रधानमन्त्री कार्यालय सरुवा भएका हुन् । उनले पर्यटन, उद्योग वाणिज्य, सूचना तथा सञ्चार मन्त्रालयमा जिम्मेवारी सम्हालिसकेका छन् । मुख्यसचिव भएपछि सौर्यलाई प्रतिक्रिया दिँदै पौडेलले आफूमाथी दायित्व थपिएको बताए । अहिलेको प्रशासनयन्त्र अस्थिर राजनीतिबाट प्रभावित रहेको उल्लेख गर्दै उनले भने, ‘अस्थिर राजनीतिबाट प्रशासनलाई कसरी जोगाएर लैजाने भन्ने चुनौति ममाथी छ ।’

मन्त्रिपरिषद् बैठक बस्नुअघि के भयो ?
आइतबार प्रधानमन्त्री भट्टराईलाई कामु मुख्यसचिव तोक्न निकै पापड बेल्नुपर्‍यो । पौडेलबारे मधेसकेन्द्रित दलका मन्त्रीहरूले कडा असहमति जनाएपछि प्रधानमन्त्रीलाई समस्या परेको हो । कामु मुख्यसचिव तोक्नका लागि यसअघि तीनपटकसम्म मन्त्रिपरिषद् बैठक बसेको थियो । तर, ती कुनै पनि बैठकले टुंगो लगाउन सकेको थिएन ।
आइतबारको बैठकले पनि कामु मुख्यसचिव तय गर्ने सम्भावना कम देखिएको थियो । तर, मुख्यसचिव माधवप्रसाद घिमिरेले आइतबारबाटै बिदा बस्ने औपचारिक जानकारी गराएपछि सरकारका लागि कामु मुख्यसचिव तोक्नैपर्ने बाध्यता भयो । कामु मुख्यसचिवको जिम्मेवारी तोक्न सरकारले बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलायो । तर, मन्त्रिपरिषद्का सदस्यहरूबीच कुरा नमिलेपछि मध्याह्न १२ बजेपछि मात्र बैठक सुरु भएको थियो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि मधेसी मोर्चा र एमाओवादी अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री भट्टराईबीच आइतबार बिहान करिब दुई घन्टा संयुक्त बैठक बसेको थियो । बैठकमा पनि उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उद्योगका सचिव झालाई मुख्यसचिव बनाउनुपर्ने अडान लिए । गृहमन्त्रीसँग कुरा नमिलेपछि माओवादीले तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि सिंहदरबारमै बोलाएर छलफल गरेको थियो । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘माओवादीले अनेक अड्चन देखाएपछि हामीले बाध्य भएर पौडेललाई नै समर्थन गर्ने निर्णयमा पुग्यौँ ।’ ती मन्त्रीले कस्ता अड्चन भन्नेबारे केही बताउन चाहेनन् ।
बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीले रुचाएको व्यक्ति नै मुख्यसचिव बन्ने प्रथा रहेको सम्झाएका थिए । तर, मोर्चाका नेताहरूले सिंगो मधेस पछि परेकाले निजामती सेवाको सर्वोच्च पदमा एकपटक मधेसी समुदायका व्यक्तिलाई चान्स दिनुपर्ने भन्दै उद्योगसचिव झाका नाममा अडान लिएका थिए । उद्योग सचिव झालाई मुख्यसचिव बनाउँदा सरकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत राम्रो सहयोग पुग्ने उनीहरूको दाबी थियो । विकल्पका रूपमा उनीहरूले वरिष्ठताका आधारमा निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइरालाको नाम अघि सारेका थिए ।

वरिष्ठ सचिवहरूले राजीनामा दिने
एमाओवादी नेतृत्वको सरकारले मर्यादा क्रम र योग्यता मिचेर प्रधानमन्त्री कार्यालयका सचिव पौडेललाई मुख्यसचिवमा नियुक्त गरेको भन्दै मर्यादा क्रममा पौडेलभन्दा वरिष्ठ सचिवहरूले पदबाट राजीनामा दिने बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव अवनिन्द्रकुमार श्रेष्ठले आफूभन्दा जुनियर व्यक्तिको मातहतमा रहेर काम गर्न नसक्ने भन्दै आगामी शुक्रबार पदबाट राजीनामा दिने बताए ।
‘म भोलिबाट बिदा बस्छु र शुक्रबारदेखि लागू हुने गरी पदबाट राजीनामा दिन्छु,’ उनले सौर्यसँग भने, ‘निजामती प्रशासनलाई सिस्टममा सञ्चालन गर्नका लागि दबाब दिन पनि वरिष्ठ सचिवहरूले पदबाट राजीनामा दिनुको विकल्प छैन । क्षमता, योग्यता र बरियतामा आठौँ नम्बरमा रहेका व्यक्तिलाई निजामती प्रशासनको सर्वोच्च पद दिइन्छ भने पहिले दोस्रो तहमा रहेका व्यक्तिले कसरी काम गर्न सक्छ ?’
लोकसेवा आयोगका सचिव श्यामप्रसाद मैनालीले पनि सचिव पदबाट राजीनामा दिने बताए । उनले मंगलबार आयोगको कार्यकक्षमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिने घोषणा गरे । ‘आफूभन्दा कनिष्ठको अन्डरमा रहेर कसरी काम गर्न सकिन्छ ?’ उनले भने, ‘कनिष्ठको अन्डरमा काम गर्नुभन्दा राजीनामा दिएर घरमै बस्नु उत्तम हुन्छ ।’ उनले नियमविपरीत सरकारले मुख्यसचिव चयन गरेको जिकिरसमेत गरे ।
उद्योगमन्त्री उमाकान्त झाले पनि पदबाट राजीनामा दिने बताए । ‘भोलि साथीहरूसँग सल्लाह गरेर सामूहिक हुन्छ वा व्यक्तिगत रूपमा, तर सचिव पदबाट राजीनामा दिन्छु,’ झाले भने, ‘मभन्दा नौ वर्ष जुनियर मानिसको अन्डरमा कसरी काम गर्न सकिन्छ ?’
राज्यले आफूलाई विश्वास नगरेको गुनासो गर्दै सचिव झाले भने, ‘बिहानसम्म त मलाई नै मुख्यसचिव बनाउँछन् भन्ने लागेको थियो तर दिउँसो अर्कैलाई बनाएछन् । सरकारको निर्णय सुनेपछि म अफिस पनि गइनँ, अहिले सुतिरहेको छु ।’ उनले आफूलाई मुख्यसचिव नबनाएको विषयमा मधेसकेन्द्रित दलका नेताहरूसँग जानकारी लिने पनि बताए । अहिलेसम्म मैले कसैसँग सम्पर्क गरेको छैन तर म किन योग्य भइनँ त्यसको उत्तर खोज्नेछु ।’
गृह मन्त्रालयका सचिव सुशील जबराले पनि पदबाट राजीनामा दिने उनीनिकट अन्य सचिवलाई जानकारी गराएका छन् । यसबारे जानकारी लिन खोज्दा सचिव जबराले यति मात्रै भने, ‘किन जुनियरलाई मुख्यसचिव बनाएको हो, त्यसबारे प्रधानमन्त्री कार्यालयलाई नै सोध्नुस् ।’
मुख्यसचिवका अर्का प्रतिस्पर्धी निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइरालाले पनि राजीनामा दिने बताएका छन् । उनले मुख्यसचिवकै दौडमा रहेका अन्य सचिवलाई आफूले राजीनामा दिने निर्णयमा पुगेको जानकारी गराएको स्रोतले बतायो । तर, कोइरालाले भने यसबारे प्रतिक्रिया दिन चाहेनन् । उनले भने, ‘म महत्त्वपूर्ण निर्णय गर्छु तर त्यो अहिले सार्वजनिक गर्दिनँ ।’
त्यस्तै, प्रधानमन्त्री कार्यालयका त्रिलोचन उप्रेती, महिला तथा बालबालिका मन्त्रालयका बालानन्द पौडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भगवतीकुमार काºले र सहरी विकासका ताना गौतमले पनि राजीनामा दिने मनस्थिति बनाएका छन् । तर, उनीहरूले केही बताउन चाहेनन् ।

जसको दौडधुप खेर गयो
आइतबार बिहानसम्म मुख्यसचिवको दौडमा पौडेलसहित १२ जना थिए । तर, बाजी मारे आठौँ नम्बरकाले । मुख्यसचिवको मैदानमा रहेकाहरूले राजनीतिक दलदेखि भारतीय दूतावाससम्मको लगौंटी समाएका थिए ।
उद्योगसचिव उमाकान्त झाले आफू सबैभन्दा वरिष्ठ रहेको भन्दै मुख्यसचिवमा दाबी गर्दै आएका थिए । उनलाई मुख्यसचिव बनाउन भारतीय राजदूत जयन्तप्रसाद सिंहदेखि मधेसकेन्द्रित दलहरूले दह्रो लबिङ गरेका थिए । त्यस्तै, निर्वाचन आयोगका सचिव कोइरालाले कांग्रेसलाई प्रयोग गर्न खोजे । उनले पनि आफूलाई सबैभन्दा वरिष्ठ भन्दै मुख्यसचिवमा दाबी गर्दै आएका थिए । सिँचाइकी सचिव ब्रिन्दा हाडाले पनि मुख्यसचिवका लागि बलियो शक्ति प्रयोग गरेकी थिइन् । उनले प्रधानमन्त्री भट्टराईपत्नी हिसिला यमी तथा अन्य महिलावादी संघसंगठनका प्रतिनिधिलाई अघि सारेकी थिइन् ।
नजिकबाट पौडेल
जन्म : २७ वैशाख २०१९
निजामती सेवामा प्रवेश : २६ असार २०४५
पहिलो सरकारी पद : शाखा अधिकृत
उपसचिव : ३ भदौ २०५३
सहसचिव : २३ माघ २०५४
सचिव : २० असोज २०६४
मुख्यसचिव राजनीतिक पद होइन
– रघुजी पन्त, एमाले नेता

मुख्यसचिव छान्ने आधार भनेको योग्यता, क्षमता, क्रियाशीलता, प्रशासनिक नेतृत्व लिन सक्ने र विषयवस्तुलाई बुझ्ने र ह्यान्डिल गर्न सक्ने खुबी र वरिष्ठता नै हो । वरिष्ठता एउटा महत्त्वपूर्ण आधार हो तर त्यो मात्रै निर्णायक होइन । मुख्यसचिव प्रशासन क्षेत्रको सर्वोच्च पद हो त्यसैले त्यो भ्रष्टाचार रोक्ने आँट भएको, देशभक्त र प्रधानमन्त्रीले के चाहन्छन् भन्दा पनि देशको हितको चिन्ता गर्ने र प्रधानमन्त्रीलाई सही सल्लाह दिन नहिच्किचाउने व्यक्ति हुनुपर्छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउने मुख्य प्रशासनिक व्यक्ति भएकाले उसमाथि प्रधानमन्त्रीको विश्वास रहेको हुनुपर्छ । प्रधानमन्त्री र मुख्यसचिवको बीचमा अविश्वास रह्यो भने शासन राम्ररी
सञ्चालन हुँदैन ।
क्षेत्र र जात हेरेर मुख्यसचिव छान्न खोज्नु प्रशासनयन्त्रलाई ध्वस्त पार्न खोज्नु हो । ब्राह्मण, क्षत्री, मधेसी वा जनजाति भएका आधारमा प्रशासनिक क्षेत्रमा व्यक्ति छानिनु हुँदैन । आरक्षण दिने प्रस्थानबिन्दुमा हो । सचिव, मुख्यसचिवजस्तो पदमा योग्यता र क्षमताका आधारमा मात्रै चयन गरिनुपर्छ ।
मुख्यसचिव प्रशासनिक पद हो, राजनीतिक होइन । त्यसैले यो पदमा बस्ने व्यक्तिले आवश्यक रूपले राजनीतिक मामलामा रुचि लिनु र संलग्न हुनु हँुदैन । यो मामलामा निवर्तमान मुख्यसचिव माधव घिमिरे उदाहरण हुनुहुन्छ । माधवप्रसाद घिमिरे निष्पक्ष र स्वच्छ छवियुक्त रहनुभयो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यही आधारमा उहाँको छनोट गर्नुभएको हो भन्ने मलाई लाग्छ । मुख्यसचिव नियुक्तिमा प्रधानमन्त्रीको निर्णायक भूमिका हुन्छ र हुनुपर्छ यसलाई अन्यथा मान्नु हुँदैन ।

प्रतिक्रिया