काठमाडौं, ४ साउन । झाडापखालाका बिरामीको संख्या बढ्दै गएपछि सरकारले यसको उच्च जोखिम क्षेत्रमा नि:शुल्क औषधि वितरण गर्न थालेको छ । दुर्गम तथा मानव विकास सूचकांकमा कमजोर रहेका जिल्लाका प्रत्येक घरमा जीवनजल र पानी शुद्ध गर्ने औषधि पीयूष वितरण गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई वर्षअघि जाजरकोटबाट सुरु भएको झाडापखाला फैलिएर १८ जिल्लामा महामारीको रूप लिएको थियो । त्यसबेला तीन सयभन्दा बढीको मृत्यु भएको थियो । यसपटक पनि झाडाका बिरामी देखिन थालेकाले महामारीका रूपमा फैलन नदिन जीवनजल र पीयूष वितरण कार्यक्रम ल्याइएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. जिडी ठाकुरले बताए । महाशाखा प्रमुख डा. ठाकुरका अनुसार जाजरकोट, कालिकोट, रुकुम, रोल्पा, मुगु, बाजुरा, ताप्लेजुङ, रौतहट, सिरहा, बारा, कपिलवस्तु, डोटीलगायत २८ जिल्लाका प्रत्येक घरमा चार/चार पुरिया जीवनजल र एक/एकवटा पीयूष वितरण गर्न लागिएको छ ।
‘केही जिल्लामा औषधि वितरण भइरहेको छ भने केहीमा पठाइरहेका छौँ,’ उनले भने, ‘जिल्लामा रहेका स्वास्थ्य स्वयंसेवक र स्वास्थ्यकर्मीले प्रत्येक घरमा जीवनजल र पीयूष नि:शुल्क वितरण गर्नेछन् ।’ उनका अनुसार ती जिल्लाका प्रत्येक स्वयंसेवकलाई झोलामा अनिवार्य रूपमा १० वटासम्म जीवनजल र केही पीयूष बोक्न निर्देशन दिइसकिएको छ ।
झाडापखालाको जोखिम देशभरि बढेकाले सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सतर्क गराइसकिएको विभागअन्तर्गत प्राथमिक स्वास्थ्य तथा पुनर्जागरण महाशाखा प्रमुख डा. आनन्द श्रेष्ठको भनाइ छ । ‘वर्षा सुरु भएलगत्तै अस्पतालमा झडापखालाका बिरामी आउने क्रम बढ्दै गएकाले स्वास्थ्यका सम्पूर्ण कर्मचारीलाई उच्च सतर्क गराउँदै बिदा नबस्न तथा जुनसुकै अवस्थामा पनि उपचार सेवा पुर्याउन तयार रहन निर्देशन दिइसकिएको छ,’ उनले भने ।
उनका अनुसार दुई वर्षअघिको जस्तै महामारी फैलन सक्ने सम्भावना रहेकाले जाजरकोट, रुकुमलगायत जिल्लामा रहेका र्यापिड रेस्पोन्स टिमलाई सक्रिय बनाइएको छ । महामारीको अवस्था आउन नदिन विशेष तयारी गरेको र जिल्ला–जिल्लामा स्वास्थ्यकर्मी तथा औषधि पठाइसकिएको छ । सरकारले वैशाखदेखि असोज अन्तिमसम्मलाई झाडापखालाको खतरा महिनाको सूचीमा राखेको छ । यो समयमा खानेपानी, खानेकुरा तथा जताततै फोहोर हुने भएकाले झाडापखालाका रोगी बढ्ने गरेको पाइन्छ । डा. श्रेष्ठका अनुसार दुई वर्षअघि महामारी देखिएका १८ जिल्लालाई फेरि महामारी आउन सक्ने भएकाले उच्च जोखिमका जिल्लाका रूपमा लिएर सतर्कता अपनाइएको छ । महाशाखाले उच्च जोखिममा राखेको जिल्लामा जाजरकोट, रुकुम, दैलेख, सुर्खेत, डोल्पा, रोल्पा, सल्यान, प्युठान, डडेलधुरा, अछाम, बाजुरा, डोटी, बैतडी, बझाङ, धादिङ, मकवानपुर, कैलाली र कञ्चनपुर छन् । साथै, उपत्यकामा पनि झाडापखालाका रोगी बढ्न थालेकाले उपत्यकालाई पनि जोखिम क्षेत्रका रूपमा हेरिएको छ ।
‘वर्षातको समयमा पानीको मुहान फोहोर हुने तथा गर्मीका कारण दुग्धपदार्थ, अन्डा तथा अन्य खानेकुरा चाँडै बिग्रने भएकाले झाडापखालाका रोगी बढी देखिन्छन्,’ उनले भने, ‘त्यसकारण सधँै उमालेको वा शुद्धीकरण गरेको पानी पिउने तथा घरबाहिरको खानेकुरा जथाभावी खानुहँुदैन ।’
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि २० अर्ब व्यक्ति झाडापखालाबाट संक्रमित हुन्छन् । तीमध्ये नेपालमा पनि हरेक वर्ष १० लाखभन्दा बढी मानिस संक्रमित हुने गरेको बताइन्छ । दुर्गम क्षेत्रमा झाडापखालाले महामारीको रूप लिनुमा त्यस क्षेत्रमा चर्पीको व्यवस्था नहुनु, स्वच्छ खानेपानीको अभाव, कुपोषण, सरसफाइसम्बन्धी चेतनाको कमी नै प्रमुख कारण रहेको चिकित्सकले बताउँदै आएका छन् । सरकारले ती जिल्लामा विशेष अभियानका रूपमा एकीकृत जनस्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । अभियान सञ्चालन भएका प्रत्येक जिल्लामा दस/दस हजारका दरले पीयूष, हात धुने साबुन र जीवनजल पठाइएको छ ।
मौलिक अधिकारका रूपमा रहेको स्वास्थ्यमा जनताको पहुँच बढाउन मन्त्रालय सक्रिय भएको प्रवक्ता डा. पदमबहादुर चन्दले बताए । ‘आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित रहन पुगेका दुर्गम गाउँका बासिन्दालाई विशेष सुविधा दिन अभियान ल्याइएको छ,’ उनले भने, ‘अभियान चलेका जिल्लाभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने तथा स्वास्थ्यचौकीमा नि:शुल्क औषधिको आपूर्ति र झाडापखालाजस्ता रोगको महामारी नियन्त्रण गर्न सतर्कता अपनाइनेछ ।’
प्रतिक्रिया