महासंघले प्रतिरोधात्मक संघर्ष गर्ने

काठमाडौं, २७ असार । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले मजदुर विरोधीहरुका विरुद्ध प्रतिरोधात्मक संघर्ष गर्ने घोषणा गरेको छ ।
कुपण्डोलस्थित नेकपा–माओवादीको नेवाः राज्य समितिको कार्यालयमा आज पत्रकार सम्मेलन गरेर महासंघले मजदुर विरोधी गतिविधि, ठेकेदारी, ज्यालादारी र करारप्रथाको अन्त्यको माग गर्न माग गरेको छ । माग पुरा गराउन दबाव दिन उदेश्यले संघर्षका कार्यक्रम गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघका संयोजक रामदीप आचार्यले ‘हायर एण्ड फायर,’ ‘नो वर्क नो पे’को नीतिको खारेजी, राज्यका सबै निकायहरुमा मजदुर वर्गको समानुपातिक प्रतिनिधित्व, अधिकार सम्पन्न मजदुर आयोग गठनलगायतको माग गरेका छन् ।
उनले एकल यूनियन अवधारणको खारेजीलगायतका विषयलाई सम्बोधन गर्न सम्बन्धित पक्ष एवं राज्यलाई दवाव दिन संघर्ष गर्न लागेको बताए ।
महासंघले चार वर्ष सम्म हड्ताल गर्न नपाउने मजदुरमारा सम्झौताको खारेजीको माग पनि गरेको छ ।
नेकपा–माओवादीलाई आप्mनो बैचारिक राजनीतिक नेतृत्वदायी माउ पार्टी घोषणा गरेको महासंघले वर्तमान श्रम ऐन खारेज गरी अन्तरिम श्रम ऐनको व्यवस्था गर्नुपर्ने जनाएको छ ।
महासंघको मंगलबार बसेको सचिवालय बैठकले राष्ट्रियतासँग जोडेर सरकारले गरेको विप्पा सम्झौता राष्ट्रघाती भन्दै खारेजको माग गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई व्यवस्थापन गर्न दिने निर्णय, जलश्रोत क्षेत्रमा भएका राष्ट्रघाती सम्झौतालगायतको भण्डाफोर गर्ने निर्णय पनि महासंघले गरेको छ ।
महासंघको पाँचौ राष्ट्रिय भेलाप्रति उत्तरदायी हुने गरी विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले सचिवालय सदस्यहरुको कार्य विभाजन गर्दै १३ वटा राज्य समिति संयोजक पनि निर्धारण गरेको छ । सेती–महाकालीमा धर्मनन्द जोशी, भेरी कर्णालीमादधिराम ढकाल, थारुवानमा तेजबहादुर खड्का, मगँरातमा नारायणप्रसाद भट्टराई, तमुवानमा अर्जुन छन्त्याल, अवधमा शम्भु राईलाई चयन गरेको छ ।
भोजपुरामा गंगा बस्नेत, मिथिलामा नन्दु झा, नेवाः राज्यमा ईश्वर तिमिल्सेना, किराँतमा पदम दाहाल र लिम्वुवानमा गीताराम परियार संयोजक रहेका छन् । कोचिलाको हकमा भने पछि कार्यालयले निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया