अर्थमन्त्री पूर्ण बजेट ल्याउन सहमति खोज्दै

काठमाडौं, ८ असार । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्ष २०६९/७० का लागि पूर्ण बजेट ल्याउन सहमति जुटाउन कांग्रेस/एमाले लगायतका दलहरुसँगको राजनीतिक परामर्शलाई तिब्र बनाएका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालसँग आज विहानै डुल्लुस्थित उनकै निवासमा भेटगरेर अर्थमन्त्री पुनले पूर्ण बजेट ल्याउन सरकारलाई सहयोग गर्न आग्रह गरे । उनले खनालसँग एमालेका तर्फबाट दुई जना अर्थविज्ञ उपलब्ध गराई दिन पनि आग्रह गरेका छन् ।
अर्थमन्त्रालयका कर्मचारी सहित खनाल निवास पुगेका पुनले पूर्ण बजेट नहुँदा बर्षभरीका विकास आयोजनामा असरपर्ने भन्दै बजेटलाई राजनीतिक मुद्धा नबनाउन एमालेलाई सुझाव दिए ।

जवाफमा अध्यक्ष खनालले बर्तमान सरकार कामचलाउ रहेको भन्दै सरकारले वजेट ल्याउन नसक्ने बताएका छन् । उनले भने, ‘सहमतिको सरकार बनाएर नयाँ बजेट ल्याउन पर्छ, यो सरकारले वाटो खोलिदिनुपर्छ ।’
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै मन्त्री पुनले आफू पूर्ण आकारको बजेटको तयारीमा लागेको भन्दै सोही विषयमा अध्यक्ष खनाललाई जानकारी गराएको बताए । उनले भने, ‘बजेट सबै राजनीतिक दलहरूलाई मान्य हुने गरी बनाउन मैले तयारी गरिरहेको छु ।’
एमाले अध्यक्ष खनालसँग शीर्ष नेतृत्वहरुलाई राजनीतिक सहमतिका लागि पहल गर्न आग्रह गरेका मन्त्री पुनले नयाँ बजेटका लागि आफूले सहमति खोज्न अधिकतम पहल गर्ने उल्लेख गरे ।
‘बजेट राजनीतिक पार्टीहरूबीच सहमतिको आधार हुनु पर्छ,’ अर्थमन्त्री पुनले भने, ‘मैले तयार गर्ने बजेटमा सहमति कायम हुन्छ ।’
बजेटमा सहमति जुटाउन पूर्व अर्थमन्त्रीहरूसँग पनि छलफल गरिरहेको जनाएका उनले विघटित संविधानसभाका प्रमुख दलका शीर्ष नेतृत्वको सहयोग आफूलाई आवश्यक रहेको बताए ।
उनले नेपालको अहिलेको अर्थतन्त्र राम्रो भएको जानकारी गराउँदै आगामी बजेट लगानीमैत्री, रोजगारमूखी ल्याउन लागेको उल्लेख गरेका छन् ।
यसअघि, बिहीबार बेलुका मन्त्री पुनले कांग्रेस सभापति सुशील कोइरालासँग भेटगरेर बजेटमा सहयोग गर्न आग्रह गरेका थिए । यद्यपी सभापति कोइरालाले भने आफूहरु मुलुकलाई संवैधानिक बाटोमा फर्काउन सडकमा रहेको भन्दै पहिला कामचलाउ सरकारले निकासका लागि बाटो खोल्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया