दुई तिहाई भन्नेका तालु सुक्न थालेः खनाल

काठमाडौं, ४ असार । एमाले अध्यक्ष झलनाथ खनालले राजनीतिक र संबैधानिक संकटको निकासका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने वताएका छन् ।
काठमाडौंमा आज कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले केयरटेकर सरकारवाट मुक्त गरेर संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठन गरी अन्य प्रक्रिया अघि बढाउनु पर्ने वताए । सहमतिको नयाँ सरकार गठन गरेपछि मुलुकको संबैधानिक र राजनीतिक संकटलाई निकास दिन अन्य प्रक्रियावारे छलफल चलाउनु पर्ने खनालको भनाई थियो ।
संविधानसभा र संसद्समेतको एमाओवादीले हत्या गरेकाले संकटको निकासका लागि संविधानले वाटो देखाउन नसक्ने उनले बताए । अध्यक्ष खनालले राजनीतिले वाटो देखाउनु पर्ने पनि उल्लेख गरेका छन् ।
उनले समाजिक सद्भाव, राष्ट्रिय एकता र लोकतन्त्र पक्षधर शक्तिहरुले आन्दोलनमार्फत एमाओवादीको सर्बसत्तावाद र अधिनायकवाद विरुद्ध आन्दोलन गर्नु पर्ने भएकाले पार्टीलाई एकतावद्ध पार्नु पर्ने वताए ।
एमाओवादीले आफ्नो नेतृत्वको सरकार भएको लाभ लिएर संविधानसभाको हत्या गरी मुलुकलाई राजनीतिक र संबैधानिक संकटको अंध्यारो सुरुङमा लगेकाले एमाओवादीको युग समाप्त भएको उनको दावी छ ।
‘राती १० बजे एकाएक माओवादी र मधेसी मोर्चाका नेताहरु चार दलको बैठकवाट उठे र मन्त्रिपरिषद्को बैठक बसेर छंदाखाँदाको संविधानसभाको हत्या गरे,’ खनालले भने, ‘दुई तिहाइ मतका लागि गरिएको चुनाव घोषणा गरेको भन्नेहरुका अनुहार सुक्न र सोहोरिन थालेका छन् ।’
महासचिव ईश्वर पोखरेलले एमाले सम्पूर्ण जातजाती, भाषा र संस्कृतिको साझा पहिचानको पक्षमा रहेको वताउँदै बहुपहिचानका प्रदेशको एमालेको अडानलाई संघीयता विरोधी भनि प्रचार गरिएकोप्रति आक्रोश ब्यक्त गरे । तस्बिरः ज्ञानेन्द्र कार्की

प्रतिक्रिया