अहिले चुनाव स्वीकार गर्न सकिदैन

काठमाडौं, २६ जेठ । कांग्रेस र एमालेका प्रमुख नेताहरुले सत्ताकब्जाका लागि घोषणा गरिएको नयाँ निर्वाचनलाई मान्न नसकिने बताएका छन् । उनीहरुले अवैधानिक रुपमा घोषणा भएको निर्वाचनको पक्षमा आफूहरु नरहेको बताए ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीले संघीयता र संविधानमा झुटो प्रचार गरेर कांग्रेस र एमालेको बद्नाम गरिरहेको आरोप लगाए ।
उनले भने, ‘एमाओवादीले सामथ्र्यसहितको जातीय पहिचान स्वीकारेको तर त्यसलाई पनि उसले नमानेर उल्टै गलत प्रचार गर्दै हिँडेको छ ।’
राजधानीमा भएको २२ दलको विरोध सभामा सम्बोधन गर्दै नेता देउवाले संविधान सभाको आश देखाएर एमाओवादीले १०/१२ हजार मान्छेको ज्यान जाने वातावरण बनाएपनि अन्ततः एमाओवादीले नै संविधान सभा तुहाएको बताए ।
चुनाव मार्फत सत्ता कब्जा गर्ने एमाओवादीको नियतका कारण अहिलेको चुनाव स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् । उनले चुनावका लागि सहमति गरेर जानुपर्ने अन्यथा यथाअवस्थामा नमान्ने बताए ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेलाई जनजातिको विरोधी भएको भ्रम छरेको भन्दै भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।
‘एमाओवादी जनजातिको समर्थक होइन,’ देउवाले भने, ‘नेवा, ताम्सालिङ लगायतका संरचनाको इन्चार्ज एमाओवादीले बाहुनलाई बनाएर अरुलाई उल्लु बनाएको छ ।’
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी नेपाली आमाको धुन्धुकारी सन्तान रहेको बताए । उनले भने, ‘एमाओवादीले जन्मेदेखि दुःखमात्रै दियो ।’
विगत १६ वर्षदेखि एमाओवादीले नेपाली जनतालाई दुःख दिनेमात्रै काम गरेको नेता नेपालको भनाई थियो । उनले भने, ‘एमाओवादीले सत्ता र पैशाका लागि देश बेच्नसमेत पछि पर्दैन ।’
लोकतान्त्रिक संविधान बन्ने डरले एमाओवादीले संविधानसभा विघटन गरेको दोहराए ।
एमाले नेता केपी ओलीले धेरै पानी र साबुन खर्च गरे पनि एमाओवादीलाई सपार्न नसकिएको बताए । ‘एउटा नक्कली मयूर निस्केर जनताको सच्चा प्रतिनिधि भएको नाटक गर्‍यो र पछि धोका दियो,’ उनले भने, ‘अहिले संविधान सभा विघटन गरेर सत्ताकब्जामा लागेको छ ।
राजपा अध्यक्ष सूर्यबहादुर थापाले प्रधानमन्त्री बाबुराम भट्टराईले घोषणा गरेजस्तो संविधानसभा चुनाव अब हुन नसक्ने बताए । उनले भने, ‘फेस्टिबल मुडमा चुनाव हुन सक्दैन ।’
अध्यक्ष थापाले चुनावअघि विपक्षी दल र नेतासँग सल्लाह नै नगरी एकलौटी रुपमा घोषणा गरिएको संविधानसभा चुनावमा सहयोग गर्न नसकिने बताए । उनले भने, ‘चुनाव घोषणा छलकपट र धोकापूर्ण छ, धोकेवाज सरकारलाई नैतिकताले पनि सहयोग गर्न सकिदैन ।

प्रतिक्रिया