खडेरीले गर्दा किसानले मकै छर्न पाएनन्

दाङ, २६ जेठ । समयमै पानी नपरेपछि रुकुममा ८० प्रतिशत किसानहरुले मकै छर्न पाएका छैनन् । खडेरीका कारण समयमै मकै छर्न नपाए पछि किसानहरु अहिले चिन्तीत बनेका छन् ।
यस बर्ष जेठ महिना बित्दै जादा समेत पानी नपरेपछि रुकुमका किसानहरुले मकै रोप्न नपाएर निरास भएका हुन् । जिल्लाको २० प्रतिशत किसानले मात्र मकै रोपेको र अरु खडेरीका कारण रोप्न नपाएको जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ ।
‘समयमै पानी परेन किसानले मकै रोप्नको लागि जग्गामा मल थुपारेका छन,’ जिल्ला कृषि बिकास कार्यालय रुकुमका प्राविधिक सहायक कुसुम भुसालले भने ।
उनका अनुसार, ‘रुकुममा जेठ १५ सम्म अन्तिम मकै छर्ने सिजन हो, केही छिटफुट रुपमा मकै रोपेका किसानको पनि अहिले मकै पनि बोटमै सुकेको छ ।’
जिल्लाका ४३ गाविसका किसानहरुले मकै बालीलाई मुख्य बालीको रुपमा लगाउने गर्छन । कृषि विकास कार्यालय रुकुमका अनुसार जिल्लाका २३ हजार ६३ हेक्टरमा मकै खेती हुने गर्छ ।
यसैगरि रुकुममा पाँच हजार ६ सय ३४ धान र १८ हजार आठ सय ७३ हेक्टरमा गहुँ खेती हुने गर्छ ।
बर्ष भरि खानका लागि पुग्ने गरि रुकुमका कृषकहरुले मकै छर्ने गर्छन् । मकै बाली समयमै छर्न नपाएपछि अर्को बर्ष खाद्यान्न अभावको सामना गर्नु पर्ने चिन्ताले किसानलाई सताएको छ । कतिपय ठाउँका किसानले त धानको व्याड समेत राख्न पाएका छैनन ।
यता, खडेरीका कारण दाङ जिल्लामा लगाईएको मकै बालीलाई समेत प्रत्यक्ष प्रभाव पारेको छ । पानी समयमा नपरेपछि उत्रिएका मकैका विरुवा पनि सुक्न थालेका छन् ।

-फाईल तस्बिर

प्रतिक्रिया