मोबाइल रंगमञ्चजस्ता प्रचण्ड

नेपाली नाट्य क्षेत्रका सुप्रसिद्ध कलाकार, नाटककार, रंगमञ्च निर्देशक र अनुसन्धानकर्ता प्रचण्ड मल्लको छुट्टै परिचय दिइरहनु पर्दैन । ७३ वर्षे उनी नयाँबानेश्वरको आफ्नो निवासमा श्रीमती र छोरीसहित बुढ्यौली कटाउँदै छन् ।
रंगकर्मी मल्ल अतीतको सम्झनामा पस्दै यसो भन्छन्, ‘नाटकप्रतिको लगाव र झुकावलाई देखेर साहिँला दाजु सुरेन्द्रमान मल्लले म १३ वर्षे पिउसो फुच्चेलाई २००९ सालमा समजीको जिम्मा लगाइदिनुभयो । सम निवासमा मैले नाटकको कखरा सिकेँ । नाटकका निपुण शिल्पी र असल पारखी समजीले मलाई नाटकका सानाभन्दा साना पक्ष र सूक्ष्मताहरूको ज्ञान दिनुभयो ।’
जीवनको गोरेटोमा उनले धेरैको धेरैपटक उधारो खाए पनि हरेकको उधारो हरेकपटक तिरेका पनि छन् । रेडियो सुन्ने, टिभी हेर्ने, पुस्तक पढ्ने, बोलाउँदा फिल्मको ‘प्रिमियर सो’ मा मात्र जाने, पत्रिका दिनहुँ पढ्ने बानी भएका मल्ल ‘बरु बासी पत्रिका पढ्छु, तर अहिलेसम्म पत्रिकामा आफ्नो राशिफल कहिले नहेरेको’ कुरा हाँसीहाँसी सुनाउँदै थिए ।
समको मृत्युपर्यन्त अटुट सम्बन्ध भएका बुलन्द आवाजका धनी मल्ल यसो भन्छन्, ‘समजीको खाँट्टी चेला हुन पाउनुलाई म आफ्नो अहोभाग्य सम्झन्छु ।’
खोला र नदीमा बाँकटे हान्न नआए अहिलेसम्म कुनै रोगले नछोएका मल्लले पनि जीवन–नदीमा धेरै नै गोता लगाएका छन् । २१ सालदेखि उनले प्रज्ञा–प्रतिष्ठानमा जागिर खाए तर पछि त्यही अफिसबाट राजीनामा दिएर निस्किनुपर्‍यो । यस तीतोलाई उनले यसरी सजिलै पोखे, ‘के गर्ने यस्तै छ ।’
मल्ल आफ्नो दैनिकी सुनाउँदै भन्छन्, ‘बिहान ५ बजे उठेर करिब ४५ मिनेट प्राणायाम गरेपछि म ६ बजे प्रभात भ्रमणमा जान्छु । डुलीआउँदा घरमुली भएकाले दूध, तरकारी, अन्य सामान र पत्रिका पनि नबिर्सी ल्याउँछु । बिहानको खाना खाइवरी करिब ११ बजे अफिस पुग्छु । बेलुका प्राय: ५ बजेपछि सोझै घर आउँछु ।’ दिनको ४–५ घन्टा अध्ययन, लेखन, चिन्तन, मनन नगरी खाएकै पच्दैन रे उनलाई । राति करिब ११ बजेतिर सुतिसक्दा रहेछन् ।
११ सालमा ‘अमरसिंह’ नाटकबाट कलाजगत्मा प्रवेश गरेका मल्ल २२ सालमा ‘आर्ट थिएटर’ विषयमा शिक्षा मन्त्रालयको कोटामा नेपाल सरकारबाट रसियाको मास्कोमा तीनवर्षे तालिम लिन पुगे । यस्तो अवसर न उनीअघि न त उनीपछि कसैले पायो । ‘मन्त्रालयले त्यो कोटा नै खै किन हो रद्द गर्‍यो,’ बडो टीठ मान्दै उनी सुनाउँदै थिए ।
२१ सालदेखि चुरोटसँग मीत लाउन पुगेका मल्ल यसले कसैको हित नगर्ने कुरा सगौरव घोषणा गर्छन् । आफूलाई कुनै ढक–तराजुमा राखेर जोख्ने काम कहिले नगरेका मल्ललाई मासु र गुन्द्रुकको अचार भएपछि दिमागबाट अन्य विचार नै हराउँछ अरे । होसमा रहेर भोजमा मात्र सोमरस पिउने बानी पनि रहेछ उनको । अफिसको कुर्सीमा झुपुक्क कहिले सुकला नभएका हाम्रा नेपाल संगीत नाट्यप्रतिष्ठान उपकुलपति नमोटाएरचाहिँ पक्कै दुब्ला भएका हुन् अरे † फूलप्रेमी मल्ल आफैँ नाना किसिमको ज्यावल, विजन, मल ल्याएर भाँतीभाँतीका फूल पनि फुलाउँदा रहेछन् ।
उनी हिजो जे थिए, आज पनि उही छन् । पदको मदले उनलाई रत्तिभर पनि छोएको छैन । ‘नपत्याए मेरा टोले र मलाई चिन्नेहरूलाई सोध्न सक्नुहुन्छ’ सम्म भन्न उनले भ्याए । पद भनेको क्षणिक कुरा हो, समय भएपछि आफ्नो ठाउँमा पैदल, बस, टेम्पो र माइक्रोमा मारमुग्री गर्नैपर्छ । मेरो असली पहिचान त्यही नै हो । मानिसले आफ्नो पहिचान भुल्नु हुन्न भन्ने कुरा मनको कन्तुरमा बेसरी गाँठो पारेर राखेका छन् उनले ।
कामलाई नै काम भन्ने मल्लले अहिलेसम्म करिब दुई सय ५० वटा नाटक निर्देशन गरिसकेका छन् । आफू होचो भए पनि नाट्य कर्मद्वारा धेरै अग्लाहरूलाई बुचो बनाइसकेका छन् उनले ।
बूढो र पुरानो अतीतलाई सम्झिँदै मल्लले भने, ‘समजीको घरमा नाटक रिहर्सल हुने गथ्र्यो । उहाँको परिवार ठूलो थियो । छोरा, छोरी, फुपू, दाजु, काका, भाइ, भतिजा । उहाँका जेजति नातेदार थिए, एक–दुई जनाबाहेक सबै नाटक खेल्थे । उनीहरूको शिरा र धमनीमै रगतको सट्टा नाटक दौडन्थ्यो कि जस्तो लाग्छ अहिले । नोकरचाकरका सट्टा नाटक नखेल्नेहरू स्वत: हामी रिहर्सल गर्नेहरूलाई पानी, कफी, खजुरी ख्वाउने काम बडो तल्लीन भएर गर्थे । अहिले सम्झिँदा मनै ढ्याक्क फुलेर आउँछ ।’
शास्त्रले नमागी कसैलाई सल्लाह नदिनु भनेर के भयो, मल्लको मनशास्त्रले त्यो कुरा मान्दैन र जान्दैन पनि । त्यसैले त उनी नाटकमा आफ्नै प्रतियोगी भए पनि कहिले खुर्रर कुदेर उता गएर भन्छन्, ‘ए बाबु † तपाईंको नाटकमा यहाँनिर रंगमञ्चको सज्जा मिलेको छैन ।’ कहिले फेरि खुर्रर कुदेर यता आउँदै भन्छन्, ‘ए नानी † नाटकअनुसार तपाईंको भेषभूषा मिलेको छैन ।’ मल्ल नेपाली नाट्यक्षेत्रका मोबाइल रंगमञ्च नै हुन् ।
‘हस् त †’ भन्दै म वहाँको कार्यकक्षबाट खुला हावा खान निस्केँ । उनले ढोकासम्म आएर हात मिलाउँदै भने, फेरि भेटुँ है भाइ ।’ यिनै शब्दका साथ हार्दिकतापूर्ण बिदाइ गरे ।

प्रतिक्रिया