‘मेरो एक फोनले सयौं जोगिए सेतीबाट’

भलाउदी (कास्की), ३० वैशाख । बिहान करिब सवा नौ बजे गुमानसिंह पुनमगर भात खाएर हात चुठ्दै थिए । एक्कासि ठूलो आवाज आयो र जमिन नै थररर भयो । त्यही बेला माथि आकाशमा हेलिकोप्टर देखियो । ‘कत्ति ठूलो आवाज आएको हो हेलिकोप्टरको ? यहीँ खस्न लाग्यो कि क्या हो’ भन्दै बर्बराए उनी ।
तर, जमिन भुइँचालो गएझैँ हल्लिन थाल्यो । भित्रबाट श्रीमती र छोराहरू चिच्याउँदै बाहिर निस्के । ‘भगवान्ले सृष्टिको अन्त्य हुँदा यस्तै विध्वंश हुन्छ भन्नुभएको छ, लौ एकै ठाउँ जम्मा होआँै, अब पक्कै मरिन्छ,’ भन्दै श्रीमती र छोराहरू एकअर्काको हात समातेर आँगनमा गुजुल्टो परे ।
हेलिकोप्टर गइसकेको थियो तर आवाज झन् ठूलो भयो र जमिन हल्लिरह्यो । त्यसपछि गुमानसिंह दौडेर बारीको छेउमा पुगे । सेतीमा ठुल्ठूला मुढा, रूख, ढुंगासहित भयंकर बाढी उर्लिएको देखियो । बाढीले दायाँ–बायाँको बस्ती, जंगल सबै सोहोरेर ल्याएको थियो ।
माछापुछ्रे गाविस–७, भलाउदीका गुमानसिंहलाई अघिल्लो शनिबारको अत्यासले छाडेको छैन । ‘एक्कासि सेतीको त्यत्रो बाढी देख्दा एकछिन् त के गर्ने के नगर्ने सोच्नै सकिनँ,’ उनलेसौर्यसँग भने, ‘त्यत्तिकैमा के बुद्धि आयो, सबैतिर खबर फैलाइदे भन्न पोखरामा छोरा रिभुलाई फोन हानेँ ।’ एनसेलको मात्रै मोबाइल चल्ने भलाउँदीमा छोराको फोन लागेन । अघिसम्म माथि कबुचेको खोँचतिरबाट तल हुत्तिँदै गरेको भेल उनको बारीको सिधै तल झोलुंगे पुललाई समेत डुबाएर ओरालो लाग्यो ।
छोराको मोबाइल नलागेपछि उनले माथिल्लो बस्तीमा फोन लगाए । सादेलको गाउँमा २५ बाख्रा र अन्य गाईवस्तु बगाएको खबर आएपछि उनी झन् आत्तिए । पोखरामा बस्ने छोरा रिभूलाई फेरि फोन हाने । यसपल्ट लाग्यो । ‘सादेलको बस्ती बगायो भन्ने सुनेपछि तलका तातोपानी, खारापानी, सिमपानी, लाल्टिन बजार पक्कै बगाउँछ भन्ने लाग्यो,’ उनले सुनाए, ‘छोरालाई माथिका बस्ती बगाउँदै बाढी भराभरी आइसकेको खबर जताततै फैलाइदे भनेँ, उसले त्यसै गरेछ ।’
रिभू पुनले स्थानीय एफएम र प्रहरीमा खबर गरे । त्यसपछि उनका बुबा गुमानसिंहसँग पोखराका एफएमले प्रत्यक्ष अन्तर्वार्ता लिए भने सेना, प्रहरी, सशस्त्रको टिम ठूलो बाढी आउँदै छ भनेर नदीकिनारका बस्ती र नदीमा काम गरिरहेका मानिसलाई हटाउन खटिए ।
बिहान सवा नौ बजे भलाउँदी गाउँका स्थानीयले थाहा पाएर प्रशासनसम्म सूचना पुग्दा पौने १० भइसकेको थियो । पौने १० मै भराभरी जोड्ने करिब एक किलोमिटर मोटरबाटो, खारापानी बजार र तातोपानी बजार बाढीले बगाएको थियो । खारापानीभन्दा भलाउँदी दुई किलोमिटर माथि छ । खारापानीबाट पोखरा २० किलोमिटर तल पर्छ ।
स्थानीय बासिन्दाले बेलैमा फोन गरेका कारण खारापानीभन्दा तलको भेगमा मानवीय क्षति हुनबाट जोगिएको कास्कीका प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले बताए । ‘माथिल्लो भेगका स्थानीयले बेलैमा खबर गरेकाले तल्लो भेगको नदीकिनार बाढी आइपुग्नुअघि खाली गराउन सकियो,’ प्रजिअ भट्टराईले भने, ‘नत्र त्यो बेला नदीकिनारमा बसेका, गिट्टी बालुवाको काम गर्दै गरेका, माछा मारिरहेका सयौँ मानिस बगाउँथ्यो ।’ उनले स्थानीयको सूचना आएलगत्तै सेना, प्रहरी र सशस्त्र सबैलाई माइकिङ गराउँदै किनार खाली गराउने र क्षति भइसकेको ठाउँमा उद्दारका लागि खटाएको बताए ।
०१७ सालमा पर्वतबाट बसाइँ सरेर भलाउँदीमा बस्दै आएका गुमानसिंह पुनका तीन छोरा, तीन छोरी, दुई बुहारी र श्रीमती गरी १० जनाको परिवार छ । ६१ वर्षीय पुनले आफूले अहिलेसम्म सेती नदीको यस्तो उत्पात नदेखेको बताए । ‘वर्षामा सानोतिनो बाढी आउनु स्वाभाविक हो, तर सुख्खायाममा यस्तो बाढीको उत्पात कहिल्यै देखेको थिइनँ,’ उनले भने, ‘अन्नपूर्ण र माछापुछ्रे बीचको तीनचुलीमा सेती थुनिएको भन्थे, त्यही फुटेर भीषण बाढी आएको हुन सक्छ ।’
माछापुछ्रे हिमालको आठ हजार मिटरको उचाइबाट हिमपहिरो खसेको देखेका एभिया क्लबका प्रमुख चालक अलेक्जेन्डर म्याक्सिमोभले सबैभन्दा पहिले बाढीको सूचना दिएको दाबी गरे पनि स्थानीय बासिन्दाले पहिलो खबर गरेको प्रजिअ चेतनाथ भट्टराईले बताए । ‘सेतीमा एक्कासि बाढी आयो भनेर माथिल्लो भेगका स्थानीय बासिन्दाले सूचना दिएका हुन्, अरू कसैले दिएको होइन,’ उनले भने ।
पूर्वसूचनाका कारण तल्लो भेगमा मानवीय क्षति नभए पनि माथिल्लो भेगमा बाढीले बगाएका ४२ जना अहिलेसम्म बेपत्ता छन् । बिहीबार पोखरामा सार्वजनिक गरिएको बाढीबाट भएको क्षति र प्रभावितबारे अध्ययन प्रतिवेदनका अनुसार हालसम्म २८ जनाको शव भेटिएको छ । बाढीबाट सार्दीखोला गाविसमा एक घर र ६ पसल, माछापुछ्रे गाविसमा ६ घर नष्ट भएको, आठ वटा पाटी–पौवा बगाएको, एक किलोमिटर पक्की बाटो र एक किलोमिटर कच्ची बाटो (तातोपानी र भराभरी खण्ड), तीनवटा झोलुंगे पुल र तारसहितको २५ बिजुलीको पोल बगाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया