सहमतिको बटमलाईन खोजिसक्यौः नेपाल

काठमाडौं, २५ चैत । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान निर्माणका मुख्य विवादित मुद्दामा अनौपचारिक छलफलका क्रममै सहमतिको बटमलाईन तय भइसकेको दाबी गरेका छन् ।

एमाले गोठाटार गाउ कमिटीद्वारा आज आयोजित कार्यक्रममा नेपालले लडाकु समायोजन टुंगिएलगत्तै संविधान निर्माणमा सहमति हुने दाबी गरेका हुन् ।

‘अनौपचारिक कुराकानीमा मिल्न सक्ने धेरै कुरा गरिसकेका छौं, संविधान निर्माणका मुख्य विवादित मुद्दा शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणाली र संघीयताका विषयमा लडाकु समायोजन टुंगिएलगत्तै सहमति जुट्ने दाबी गर्दै नेपालले भने, ‘त्यसक्रममा एक अर्काका बटमलाईन र भावना थाहा पाइसकेका छौं ।’

तर, संविधानमा सहमतिका निम्ती राज्यलाई हतियार बुझाएर सहमतिअनुसार ३० चैतभित्र शिविर खाली गरिसक्नुपर्ने नेपालको भनाई छ ।
नेपालले एक साता शीर्ष नेताले एकान्तमा तनावमुक्त भएर  छलफल गरे सबै विवादित विषयमा सहमति जुट्ने विश्वास पनि व्यक्त गरे ।

‘एकान्तमा टेन्सनमुक्त भएर बसे बढीमा एक हप्तामा सबै विषयमा सहमति गर्न सकिन्छ’ नेपालले भने । उनले लडाकू समायोजनमा माओवादीले दोहोरो मापदण्ड प्रस्ताव गरी बखेडा झिकेको आरोप पनि लगाए ।

‘सेवा प्रवेशको मिति तोक्दा बाउन्न साल, शैक्षिक योग्यता तोक्दा सत्सठ्ठी साल † यस्तो पनि हुन्छ ?’ नेपालले प्रश्न गरे ‘जे पनि आफ्नो हीतमा हुनेगरी दोहोरो मापदण्डका कुरा गर्ने यस्ता बखेडा फुकाउन सके संविधान निर्माणको तगारो हट्नेछ ।’

उनले सात बु“दे सहमतिमा अपनाइएको लचकताबाहेक समायोजन रोजेका लडाकूका निम्ति कुनै पनि हालतमा दोहोरो मापदण्ड तय गर्न नसकिने स्पष्ट पारे ।

नेपालले माओवादीमा चर्किएको अन्र्तर्कलह नक्कली हुनसक्ने आशंका गरे । ‘हामीलाई दबाब दिन गरेको हो कि, के हो बुझ्न सकिएको छैन’ नेपालले भने, ‘यसरी शान्ति कि बिद्रोहको बाटोमा अलमल गरिरहे अब माओवादीलाई जनताले विश्वास गर्न सक्दैनन् ।’

माओवादीले जथाभावी रुपमा जातीय राज्य घोषणा गरेर जनता उचाल्ने, जातीय रुपमै विभाजित गर्ने, जातजातीबीच द्वन्द्व चर्काएर फाईदा लुट्ने झेली राजनीति गरेको भन्दै नेपालले मुलुकको अर्थतन्त्रले धान्न सक्ने, साम्प्रादायिक र जातीय सद्भाव कायम रहने गरी बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानसहितको संघीय ईकाई निर्माण गरिने बताए ।

कुनै पनि प्रान्तमा जाती विशेषको बहुमत नरहेको भन्दै नेपालले त्यस आधारमा पुनर्संरचना खोजिए मुलुक विगतको २२ से २४ से राज्यतर्फ फर्किन सक्ने खतरा रहेको औंल्याए । जाती विशेषका नाममा राज्य बनाउन खोजिए सबैले थातथलो खोज्दै कहा“ जाने ? त्यसरी खोज्दै जाने हो भने त २२ से २४ से राज्य, रजौटाहरुकालीन मुलुकतर्फ जान्छौं’ नेपालको भनाई छ ।

प्रतिक्रिया