‘एमाओवादी–कांग्रेस बार्ता निष्कर्ष बिहिन’

काठमाडौं, ८ वैशाख । संविधानका बिवादित बिषयमा सहमति खोज्न आज वसेको एकीकृत माओवादी र नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकपनि ठोस सहमित बिनै सक्किएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा बसेको दुई दलको बैठकमा शासकीय स्वरुप र राज्य पुनर्संरचनाका बिषयमा गम्भीर छलफल भएपनि सहमति हुन सकेन ।

दुवै दलले राज्य पुनर्संरचना र शासकीय स्वरुपमा आ–आफ्नै अडान राखेपछि बैठक ठोस निर्णयमा पुग्न नसकेको हो ।

कांग्रेसले राज्य पुनर्संरचनामा जातीय राज्यको अडान छाड्न आग्रह गर्दै संसदीय पद्धतिमा आउन एमाओवादीलाई आग्रह गरेको स्रोतको भनाई छ ।

यद्यपि एमाओवादीले भने कांग्रेसलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको थियो ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादीका सचिव पोष्टबहादुर बोगटीले सहमतिबाटै संविधानका बिवादित बिषय टुङगाउने पक्षमा दुबै दल रहेको बताए ।

उनले भने, ‘बिवादित बिषयलाई मतदानमा लैजानु हुँदैन, सहमतिबाटै टुङगाउनु पर्छ ।’

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला राज्य पुनर्संरचना र शासकीय स्वरुपका बिषयमा छलफल भएपनि कुनै ठोस सहमति हुन नसकेको बताए ।

उनले पुनः प्रमुख दलका शीर्ष नेताको बैठक बसेर सहमतिको प्रयास खोज्ने निष्कर्षमा पुगेको उल्लेख गरे ।

एमाओवादी र कांग्रेसका नेताहरु प्रमुख तीन दलका साथै मधेसी मोर्चा र संविधानसभाका अन्य सबै दलहरुसँग समेत बैठक बसी सहमतिको प्रयास खोज्ने बिषयमा भने एकमत भएका छन् ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र दोस्रो तहका झण्डै दजर्न नेताहरुको सहभागिता रहेको थियो ।

प्रमुख दलहरुले वैशाख–११ गते सम्म सहमति बनाउन नसके बिवादित बिषयमा मतदान प्रक्रियाबाट निकास खोजिने छ ।

प्रतिक्रिया