लियाजोविनै बेसक्याम्पमा

काठमाडौं, ७ वैशाख । सगरमाथा आरोहण अभियानमा रहेको एकीकृत नेकपा  (माओवादी) अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशसम्मिलित टोली मन्त्रिपरिषद्बाट रोयल्टी छुटको निर्णय नै नगराई सगरमाथा चढ्न गएको खुलासा भएको छ । टोलीले न रोयल्टी तिरेको छ न त छुटको निर्णय नै गराएको छ । सरकारले रोयल्टी नतिर्ने वा मिनाहा नपाउनेहरूका साथ सम्पर्क अधिकृत पठाउदैन । सम्पर्क अधिकृत नभएको टोलीले सगरमाथा चढ्न पाउदैन ।
सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर अर्थात् करिब दुई लाख ५० हजार रुपिया रोयल्टी तिर्नुपर्ने प्रावधान छ । टोलीमा १० आरोही छन् ।
विदेशी आरोहीले अनिवार्य रोयल्टी तिर्नुपर्छ भने नेपालीको हकमा मन्त्रिपरिषद्को निर्णयबाट छुट हुन सक्ने प्रावधान छ । रोयल्टी छुटको निर्णय नभएका कारण पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आरोहण दलका लागि कसैलाई सम्पर्क अधिकृत खटाएको छैन । ६ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पर्वतारोही दलले सरकारले तोकेको एकजना सम्पर्क अधिकृत अनिवार्य लैजानुपर्ने कानुनी व्यवस्था छ तर टोलीले विनासम्पर्क अधिकृत ६ हजार १ सय ८९ मिटर अग्लो आइल्यान्ड पिक आरोहण गरिसकेको छ ।
हिमाल आरोहणको अनुमति दिने पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाका सहसचिव मोहनकृष्ण सापकोटाले मन्त्रिपरिषद्को निर्णयविना सम्पर्क अधिकृत खटाउन नमिल्ने भएकाले कसैलाई नखटाइएको बताए । ‘क्याबिनेटले रोयल्टीबारे निर्णय नगरेका कारण टोलीमा सरकारी प्रतिनिधि गएको छैन,’ सापकोटाले भने । प्रक्रिया पूरा नभई सम्पर्क अधिकृत खटाउन नसकिने उनले स्पष्ट पारे ।
आरोहणको व्यवस्थापन गरिरहेको कम्पनी एसियन टे«किङले प्रकाशको टोली आइल्यान्ड पिक आरोहण गरेर बेसक्याम्पमा ‘आराम’ गरिरहेको जनाएको छ । यसलाई ‘बडी एक्लोमेटाइज’ गर्ने भनिन्छ । एसियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पाले रोयल्टी छुट तथा सम्पर्क अधिकृतबारे अनभिज्ञता प्रकट गर्दै सगरमाथा आरोहणका लागि लामो समय लाग्ने भएकाले सरकारले सम्पर्क अधिकृत खटाउने बताए । ‘सम्पर्क अधिकृत गएका छैनन् तर चा“डै जाने अपेक्षा छ,’ उनले भने । नेपालीले रोयल्टी तिर्नु नपर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय आवश्यक नहुने दाबी उनले गरे ।
हिमाल आरोहणको आधिकारिकताका लागि सम्पर्क अधिकृत अनिवार्य हुन्छ । पर्यटन मन्त्रालयका अनुसार आरोहण पुष्टिका लागि सम्पर्क अधिकृतले आरोहणको समय खुल्ने तस्बिर, त्यसको भिडियो फुटेज तथा आधिकारिकता प्रदान गर्नका लागि प्रयोग गरेको सञ्चार उपकरणको रेन्ज तथा त्यसको कल डिटेल पेस गर्नुपर्छ । ‘सम्पर्क अधिकृतविना आरोहणको पुष्टि नै हुदैन,’ मन्त्रालयका एक अधिकारीले भने । पर्यटन ऐन २०३५ को दफा २० र पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ८ मा सरकारले पर्वतारोहणमा जाने आरोहण दलका लागि सम्पर्क अधिकृत खटाउने उल्लेख छ । यसअनुसार सगरमाथासहित नेपालका तीन सय २६ वटा हिमाल आरोहण गर्न सम्पर्क अधिकृत जरुरी हुन्छ ।

प्रतिक्रिया