‘दुई आयोग मिसाउने निर्णय’

काठमाडौं, ७ वैशाख । प्रमुख तीन दल एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्त छानविन सम्बन्धी आयोगका विचाराधिन बिधेयक संसदबाट फिर्ता ल्याउने सहमति कायम गरेका छन् ।

सिंहदरबारमा आज बसेको शीर्ष बैठकले दुई आयोगका बिधेयकलाई फिर्ता लिएर एउटै बिधेयक बनाई संसदमा पुनः पेश गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता तथा उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘अब सत्य निरुपण र वेपत्ता सम्बन्धी आयोगहरुलाई एउटै बनाईने छ ।’

एमाले अध्यक्ष झलनाथ खनालले पनि संसदमा बिचाराधिन दुई बिधेयकलाई फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाउने सहमति भएको बताए । दुई वटा बिधेयक फिर्ता लिई त्यसलाई एउटै बनाएर सदनमा पेश गरिने छ ।

यस अघि सरकारले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता खोजविन सम्बन्धी आयोगका सदनमा अलग अलग बिधेयक पेश गरिसकेको छ । ती दुई विधेयकमा बिधायन समितिमा छलफल समेत भईरहेका छन् ।

यसैबीच, बिधायन समितिका सदस्यहरुले भने दुई अलग अलग बिधेयकलाई फिर्ता लिएर एउटै आयोग बनाउने प्रमुख तीन दलका शीर्ष नेताहरुको निर्णयको बिरोध गरेका छन् । उनीहरुले अन्तरिम संविधानको प्रावधानलाई लत्याएर एउटा मात्रै आयोग बनाउने निर्णयप्रति आपत्ती जनाएका हुन् ।

अन्तरिम संविधानमा वेपत्ता र खोजविन दुई आयोग बनाउने प्रावधान उल्लेख छ । लामो समय हुँदा समेत ती आयोगहरु बन्न सकेका छैनन् ।

बिधायन समिति सदस्य सपना प्रधान मल्लले एउटा मात्रै आयोग बनाउने निर्णयप्रति आफूहरुको असहमति रहेको बताईन् । उनले भनिन्, ‘अन्तरिम संविधानमा रहेको प्रावधानलाई मिच्न पाईदैन ।’

प्रतिक्रिया