‘समायोजनको प्राविधिक बिषय छिटो टुङगाउ’

काठमाडौं, २ वैशाख । एकीकृत माओवादीका पूर्व सेनाका कमाण्डरहरुले समायोजनका लागि आवश्यक पर्ने बिभिन्न प्राविधिक बिषयलाई छिटो टुङगाउन माग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बावुराम भट्टराईसंग आज विहान भएको छलफलका क्रममा लडाकुका कमाण्डरहरुले सेना समायोजनमा ढिलाई नगर्न आग्रह गरेका हुन् ।

उनीहरुले समायोजनको काम उत्साहजनक रुपमा अघि बढेको भन्दै खुशी समेत जनाएको अध्यक्ष दाहालका प्रेस सल्लाहाकार सन्तोष पौडेलले जानकारी दिए ।

उनले भने, ‘बिशेष समितिमा छलफल भईरहेका सेना समायोजनका बिवादित बिषयमा निकास खोज्न कमाण्डरहरुले आग्रह गरेका हुन् ।’ छलफलमा शिविरहरुमा भएका प्रगतिका बारेमा समेत कमाण्डरहरुले जानकारी गराएका थिए ।

राजधानीमा उपलब्ध लडाकुका कमाण्डरहरुको सहभागिता रहेको छलफलमा अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईले समायोजन र स्वयच्छिक अवकाशमा लडाकुहरुले सहयोग गरेकामा धन्यावाद समेत दिएका छन् ।

नेपाली सेनाको जिम्मा रहेका लडाकुको समायोजनका लागि बिशेष समितिमा तालिम अवधि, शैक्षिक योग्यता, दर्जा निर्धाररण, प्रक्रिया छनौट, महानिर्देशनालयमा प्रतिनिधित्व लगायतमा छलफल हुँदै आएको छ । सहमतिको मस्यौदा बनाउन कार्यदल समेत बनेको थियो ।

प्रतिक्रिया