ठूलो घर सानो चित्त

काठमाडौ, ११ चैत । ०४६ को जनआन्दोलनपछि मूलधारको राजनीतिमा आएका अधिकांश नेताले काठमाडौमा घर जोड्न भ्याइसकेका छन् । तर, आफ्नो आलिसान घरमा बस्ने सभासद्–नेताहरू संसद् सचिवालयबाट घरभाडाबापत मासिक साढे ६ हजार रुपिया बुझ्न कत्ति सङ्कोच मान्दैनन् ।
संसद् सचिवालयले घरभाडाबापत दिने रकम भनेको काठमाडौमा डेरा गरी बस्ने सभासद्लाई हो । तथापि, आफ्नै घरमा बस्नेलाई त्यस्तो भत्ता दिने नदिने विषयमा कानुन मौन छ । त्यसको फाइदा उठाएर काठमाडौमै घर भएका सभासद् पनि निःसङ्कोच घरभाडाबापत मासिक रकम बुझ्छन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा दम्पती बूढानीलकण्ठस्थित आलिसान महलमा बस्छ । उनीहरू दुवै सभासद् हुन् । संसद् सचिवालयबाट देउवा दम्पतीले घरभाडाबापत जनही मासिक ६ हजार पाच सय रुपिया लिन्छन् । देउवाजस्तै लोभी नेताको सूची लामै छ । पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि दलका प्रमुख नेतासम्मले यसरी रकम बुझिरहेका छन् ।
संसद् सचिवालय लेखा शाखाका अनुसार यस्तो सुविधा लिने पूर्वप्रधानमन्त्रीमा देउवासहित झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल छन् । संसद्को सभामुख, उपप्रधानमन्त्री र पटक–पटक मन्त्री भइसकेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि घर हुदाहुदै आवास सुविधाबापत नगद बुझिरहेका छन् ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता खनालको डल्लुमा तीनतले घर छ भने पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता चन्दको लोकन्थलीमा । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता नेपालको कोटेश्वरमा अढाईतले घर छ । उनीहरू तीनैजना आवास सुविधाबापत संसद्बाट मासिक ६ हजार पाच सय रुपिया बुझ्छन् ।

कांग्रेस संसदीय दलका नेता पौडेलको पनि बोहराटारमा घर छ । पौडेल घर हुदाहुदै घरभाडाबापत सबैभन्दा धेरै रकम बुझ्ने नेतामा पर्छन् । विपक्षी दलको नेताका हैसियतमा उनले घरभाडाबापत मासिक २३ हजार पाच सय रुपिया बुझ्ने गरेका छन् । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार विपक्षी दलका नेताले घरभाडाबापत मासिक २३ हजार पाच सय, सत्ता पक्षका मुख्य सचेतकले आठ हजार दुई सय ५०, विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र समितिका सभापतिले सात हजार सात सय र सभासद्हरूले ६ हजार पाच सय रुपिया पाउने गर्छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र उपाध्यक्ष पूर्णकुमारी सुवेदी सरकारी निवासमै बस्ने भएकाले नगद रकम बुझ्दैनन् ।
काठमाडौमै घर भएर पनि संसद्बाट घरभाडाबापत रकम बुझ्नेमा १० वर्ष जनयुद्ध लडेको माओवादीका नेता पनि थुप्रै छन् । माओवादी नेता अमिक शेरचन, पम्फा भुसाल, एकराज भण्डारी, खिमलाल देवकोटा, नन्दकुमार प्रसार्इं, सूर्यबहादुर सेनओलीलगायत नेता संसद्बाट घरभाडाबापत रकम बुझ्छन् । भुसाल र शेरचनको सानेपामा, भण्डारी र देवकोटाको बालाजु, पुरानो गुहेश्वरीमा, प्रसाईंको सीतापाइलामा र ओलीको बानेश्वर हाइटमा आफ्नै घर छ ।
त्यस्तै, कांग्रेस नेता गोपालमान श्रेष्ठ, लक्ष्मणप्रसाद घिमिरे, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, डा. मीनेन्द्र रिजाल, नरहरि आचार्य, कमला पन्त, नवीन्द्रराज जोशी, रामकृष्ण चित्रकार, सुप्रभा घिमिरेलगायतको काठमाडौमा घर छ । उनीहरू पनि घरभाडाबापत रकम बुझ्छन् । श्रेष्ठको सोल्टीमोडमा, घिमिरेको चाबहिल मैजुबहालमा, महतको बासबारीमा, शशाङ्कको महाराजगन्जमा, शेखरको वसुन्धरामा, रिजालको मध्यबानेश्वरमा, आचार्यको चुनदेवीमा, चित्रकारको ललितपुरमा, जोशीको वसन्तपुरमा, सुप्रभाको कुलेश्वर हाइटमा र पन्तको भक्तपुरमा घर छ । विपक्षी दलको प्रमुख सचेतकका हैसियतले लक्ष्मण घिमिरे घरभाडाबापत मासिक सात हजार सात सय रुपिया“ बुझ्ने गर्छन् ।
त्यस्तै, एमालेका शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, अग्नि खरेल, सपना मल्ल पनि संसद्बाट घरभाडाबापत रकम बुझ्छन् । पोखरेलको कोटेश्वर, ज्ञवालीको शङ्खमूल, रावलको घट्टेकुलो, पाण्डेको स्वयम्भू, महासेठको भै“सेपाटी, रिमालको मीनभवननजिक, अधिकारीको हात्तीगौंडा, खरेलको तीनकुने र मल्लको थापाथलीमा घर छ । महासेठपत्नी जुली महतो एमालेको समानुपातिकतर्फकी सभासद् हुन् । उनी पनि घरभाडाबापत रकम बुझ्ने गर्छिन् ।
मधेसवादी तथा साना दलका नेता पनि घर हुदाहुदै घरभाडाबापत रकम बुझ्नेको सूचीमा रहेका छन् । तमलोपाका हृदयेश त्रिपाठी, सद्भावनाका राजेन्द्र महतो, माले महासचिव सिपी मैनाली, राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, सद्भावना (आनन्दीदेवी)की अध्यक्ष सरिता गिरी, सङ्घीय सद्भावनाका अध्यक्ष अनिल झा, फोरम लोकतान्त्रिकका नेता शरत्सिंह भण्डारी, राप्रपा नेत्री प्रतिभा राणा र राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पनि काठमाडौमा घर हुदाहुदै संसद्बाट आवास सुविधाबापत रकम बुझ्छन् ।
त्रिपाठीका विशालनगर र भैसेपाटीमा दुईवटा घर छन् । विशालनगरको घर भाडामा लगाएर भैसैपाटीको घरमा उनकी श्रीमती बस्छिन् । त्रिपाठी आफू भने पुल्चोकस्थित मन्त्रीनिवासमा बस्छन् । महतोको सिनामङ्गलमा, गिरीको विशालनगरमा, झाको लाजिम्पाटमा, भण्डारीको भैसेपाटीमा, मैनालीको चाबहिलमा, गुरुङको जाउलाखेलमा, लोहनीको सुकेधारामा र बिजुक्छेको भक्तपुरमा घर छ । माले महासचिव मैनालीपत्नी निलम केसी सभासद् हुन् । उनी पनि सचिवालयबाट आवास सुविधाबापत रकम बुझ्छिन् ।
मन्त्री भएका सभासद्हरूले भने संसद् सचिवालयबाट मासिक पारिश्रमिक तथा अन्य सुविधा पाउदैनन् । हाल मन्त्री रहेका गच्छदार, त्रिपाठी, महतो र झाले मन्त्री भएपछि संसद् सचिवालयबाट रकम पाएका छैनन् । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पारिश्रमिक र सुविधा
बुझ्ने गर्छन् ।
संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनले सभासद्हरूलाई आवासका लागि सरकारी घरको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तो घरको व्यवस्था गर्न नसके आवासबापत नगद उपलब्ध गराउने व्यवस्था ऐनमा छ । ‘पदाधिकारी र सदस्यलाई आवासको निमित्त सरकारको तर्फबाट सरकारी घरको बन्दोबस्त गरिनेछ । त्यस्तो घरको बन्दोबस्त नभए पदाधिकारी र सदस्यलाई अनुसूची–१ मा उल्लेख भएबमोजिमको मासिक रकम आवास सुविधाबापत दिइनेछ,’ ऐनको नियम ९ मा भनिएको छ ।
घर भएकाहरूले त्यस्तो सुविधा लिनु गैरकानुनी नभए पनि ‘अनैतिक’ भएको बताउछन्, संसद्को राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकाल । ‘ऐनले आवास सुविधाबापत नगद उपलब्ध गराउनु भनेको काठमाडौमा घर नभएकाहरूलाई हो, घर भएकाहरूलाई होइन,’ सभापति ढकालले भने । ऐनका विषयमा धेरै छलफलपछि आफूले घरभाडाबापतको रकम नबुझ्ने निर्णय गरेको उनले बताए । सरकारले घरकै व्यवस्था गरेको खण्डमा भने सरकारी निवासमा बस्नु जायज हुने ढकालको भनाइ छ ।
कांग्रेस संसदीय दलका नेता पौडेलले घर बनाउदा लिएको ऋण तिर्न र मर्मत–सम्भारका लागि संसद्बाट घरभाडाबापत रकम लिने गरेको बताए । ‘मैले ऋण लिएर घर बनाएको हु, त्यसको किस्ता तिर्नुपर्छ । अनि, घर मर्मत–सम्भार पनि गर्नुपर्ने हुन्छ । त्यसैले घरभाडा लिने गरेको हु,’ पौडेलले सौर्यसग भने ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका प्रमुख स्वकीय सचिव निर्मल भट्टराईले सरकारले नै दिने व्यवस्था गरेकाले घरभाडा लिनु स्वाभाविक भएको बताए । आफ्नै घरमा बसे पनि त्यसको मर्मत–सम्भारमा खर्च लाग्ने उनको तर्क छ । ‘सरकारले नै दिने व्यवस्था गरेको छ भने लिन्न भनेर नाटक गर्नुको कुनै अर्थ हुदैन । बरु, घर भएकाहरूलाई सुविधा नदिने भनेर ऐन संशोधन गर्नु राम्रो हुन्छ,’ उनले भने ।
मालेका महासचिव मैनालीले सचिवालयबाट घरभाडाबापत बुझेको रकम पार्टीलाई दिने गरेको बताए । ‘घरमै बसे पनि त्यो रकम घरमा खर्च गरेको छैन, पार्टीलाई दिने गरेको छु । हामीले मासिक २५ हजार पार्टीलाई बुझाउने गरेका छौ,’ उनले भने ।
ऐन कानुनका ज्ञाता भने काठमाडौमा घर हुदाहुदै संसद् सचिवालयबाट घरभाडाबापत रकम बुझ्नु गैरकानुनी नभए पनि अनैतिक भएको बताउछन् । सभासद्हरूको यस्तो कार्यले समाजलाई समेत भ्रष्ट बनाउने उनीहरूको दाबी छ । ‘सभासद् भनेका समाजलाई नैतिकताको पाठ सिकाउने नीति निर्माता हुन् । उनीहरूले नै अनैतिक काम गरेपछि समाजसमेत भ्रष्ट हुन्छ,’ अधिवक्ता टीकाराम भट्टराईले सौर्यसगभने ।

 

नलिने पनि छन्

काठमाडौः लोभी नेताहरूको भिडमा असल सभासद्हरू पनि छन्, जसले संसद्बाट आवास खर्च लिदैनन् । घर हुदाहुदै घरभाडाबापत पैसा लिन ‘नैतिकताले नदिने’ भन्दै उनीहरूले आवास खर्च नलिएका हुन् ।
आवास खर्च नलिनेमा कांग्रेस महामन्त्री प्रकाशमान सिंह, कांग्रेस सभासद्हरू डा. रामशरण महत, गगन थापा, राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकाल, एमाले सभासद् विनोद चौधरी, मालेका राजेन्द्र खेतान, संयुक्तका सुनिलबाबु पन्त, माओवादीका ईश्वरी दाहाल र पद्मज्योति तथा गणतान्त्रिक फोरमका मधुसूदन अग्रवाल छन् ।
कांग्रेस महामन्त्री सिंह र एमालेका ढकालले सुरुदेखि नै घरभाडा लिएका छैनन् । ‘मेरो काठमाडौमा घर छ, आफ्नै घरमा बस्छु । अनि घरभाडाबापत रकम बुझ्न नैतिकताले कसरी दिन्छ र ?’ ढकालले सौर्यसग भने ।
स्रोतका अनुसार थापा, चौधरी, पद्मज्योति र पन्तले केही समय आवास सुविधा लिए पनि पछि बुझ्न छाडेका हुन् । थापा र पद्मज्योतिले ०६७ जेठमा संविधानसभाको म्याद थपिएपछि आवास सुविधा लिन छाडेका हुन् । त्यस्तै, पन्तले पछिल्लो समय संविधानसभाको म्याद थपिएपछि सुविधा लिन छाडे । एमालेका चौधरीले पनि केही समय लिएर पछि नलिने जानकारी सचिवालयलाई गराएका थिए ।

माथिदेखि तल तर्फ क्रमश
सबै भन्दा माथि पहिलो घरको तस्बिर एमाले अध्यक्ष झलनाथ खनाल, दोस्रोमा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा, तेस्रोमा कांग्रेस नेता नरहरि आर्चाय, चौथोमा एकीकृत माओवादीका नेता तथा सभासद खिमलाल देबकोटा, पाँचौमा तमलोपा नेता हृदयश त्रिपाठी, छैटौंमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, सातौंमा राप्रपा नेता लोकेन्द्र बहादुर चन्द, आठौंमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र संगै रहेको नवौं घर एकीकृत माओवादी सभासद तथा नेता एकराज भण्डारी, दसौंमा एमाले सचिव शंकर पोखरेल, एघारौंमा फोरम नेपालका नेता शरतसिंह भण्डारी र बाह्रौंमा सबै भन्दा तल एमाले नेता प्रदीप ज्ञवालीको घर ।   

 

प्रतिक्रिया