मृगस्थलीका मृग बाँदरका खेलौना

काठमाडौँ, ३ चैत । मृगस्थलीका मृगले धीत मरुन्जेल दानापानी खान पाएको दिन सायदै होला । पशुपतिका बाँदरको ‘दादागिरी’का कारण उनीहरू भोकभोकै पर्ने गरेका छन् । पशुपति क्षेत्र विकास कोषले दिनहुँ मृगलाई दानापानी छुट्याइदिए पनि उनीहरूलाई उछिनेर बाँदरले खाइदिन्छन् । कुनै मृग अघि पुगेर खान थालेछ भने ऊ बाँदरको ‘झापड’ भेटेर लखेटिनुपर्छ । यो सास्तीबाहेक बाँदरको मनोरञ्जनको साधन पनि बन्नुपर्छ मृगले । बाँदर मृगलाई जिस्क्याउने, पुच्छर तानिदिने, कोट्याइदिने र बुइ चढ्ने गरेर रमाइलो मानिरहेका हुन्छन् ।
वन्यजन्तुविद्का अनुसार मृग बिरुवाका मुना र दुबोजस्ता झारपात खान रुचाउँछन् भने झाडीमा बस्छन् । मृगस्थलीको वातावरण भने उल्टो छ । बाँदरलाई चाहिने अग्ला रूख मात्रै छन् । तारबारले घेरिएको परिधिभित्रको भुइँ उजाड छ । ‘दाना खाँदा होस् वा अरू बेला, बाँदरले मृगलाई सताइरहेको छ,’ त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका एसोसिएट प्रोफेसर एवं वन्यजन्तुविद् डा. मुकेशकुमार चालिसेले सौर्यसँग भने, ‘सोझा मृग चतुर बाँदरका खेलौनाजस्तै भएका छन् ।’ आक्रमण गर्न नजान्ने प्रकृतिका मृग बाँदरका कारण भोकभोकै रहने गरेको उनले बताए । भने, ‘दाना बाँदरले खाइदिन्छ । बिरुवाका मुना खाऊन् भने कतै पाउँदैनन् । सुकेका छेस्का टोकेर भोक मेटाउन बाध्य छन् ।’
सदर चिडियाखाना जावलाखेलबाट ०५७ सालमा ३२ वटा मृग मृगस्थलीमा सारिएका हुन् । कोषका अनुसार वातावरण नबनाई धार्मिक आस्थाका आधारमा मृग सार्दा यस्तो अवस्था आएको हो । ‘मृगलाई आवश्यक वातावरणमा राख्न सकिएको छैन, बाँदरले सताउने त छँदै छ,’ कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले भने, ‘धार्मिक भावनामा बहकिएर वातावरणको ख्यालै नगरी मृग सारिएकाले यस्तो अवस्था आयो ।’
कोषका अनुसार हाल कृष्णसार, रतुवा र चित्तल गरी तीन प्रकारका मृग छन् । १० वर्षको अवधिमा उनीहरूको सङ्ख्या ३२ बाट दुई सयभन्दा बढी पुगिसकेको छ । डा. चालिसेले भने, ‘मृगस्थलीमा मृग राख्ने हो भने उपयुक्त वातावरण बनाई थोरै राख्नुपर्छ नत्र अन्यत्रै सार्नुपर्छ ।’ एकै ठाउँमा पानी खाने हुँदा बाँदरबाट मृगमा रोग सरेको हुन सक्ने आशङ्का उनले गरे ।
भगवान् शिवजीले मृगको रूप धारण गरेर पशुपति मन्दिरपारिको श्लेषमान्तक वनमा मृगसँग खेलेको किंवदन्तीका आधारमा त्यहाँको नाम मृगस्थली राखिएको विश्वास छ । मृगस्थलीमा त्यही मान्यताअनुरूपकै वातावरण देखाउन मृग ल्याएर छाडिएका हुन् । कोषले मृगस्थलीका लागि वार्षिक १७ लाख रुपियाँ बजेट छुट्याउँदै आएको छ ।

प्रतिक्रिया