एमाले–माले सहकार्य गर्न सहमत

काठमाडौँ, २९ फागुन । संविधानसभाको तेस्रो ठूलो दल नेकपा (एमाले) र अर्को वाम दल नेकपा (माले) औपचारिक सहकार्यका लागि वार्तालाई निरन्तरता दिन सहमत भएका छन् । दुई दलबीचको एकताका विषयमा सोमबार भएको वार्तामा ‘आधारभूत विषय’मा कुरा नमिलेपछि सहकार्यका लागि समान धारणा निर्माणको प्रयास गर्न दुवै दल सहमत भएका हुन् ।
पार्टी एकताका लागि फागुनको दोस्रो साता एमालेले पत्राचार र अनौपचारिक कुरा गरे पनि औपचारिक वार्ता भने हुन सकेको थिएन । सोमबार भएको वार्तामा मालेले पार्टीको मार्गदर्शक सिद्धान्त, सङ्क्रमणकालीन जनतन्त्रका सिद्धान्त र कार्यक्रम, नेपाली क्रान्तिका विशेषता, नेपाली कम्युनिस्ट आन्दोलनका मोडको मूल्याङ्कन र पार्टीभित्रको राजनीतिक संस्कृतिलगायत विषयमा समान धारणा नबनेसम्म एकता सम्भव नहुने बताएको थियो । एमालेले एकैखाले राजनीतिक कार्यदिशा भएका दलबीच एकता सम्भव नभए पनि सहकार्य गर्नुपर्ने प्रस्ताव राखेको थियो ।
‘पार्टीको मार्गदर्शक सिद्धान्त, सङ्क्रमणकालीन जनतन्त्रका सिद्धान्त र कार्यक्रम, नेपाली क्रान्तिका विशेषता, नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न मोडको मूल्याङ्कन, पार्टीभित्रको राजनीतिक संस्कृतिजस्ता आधारभूत विषयमा साझा विचार नबनी पार्टी एकीकरणजस्तो महत्वपूर्ण काम सम्भव हुन नसक्ने भएकाले उपर्युक्त विषयमा समान धारणा निर्माणतर्फ लाग्नुपर्ने विचार राखियो,’ वार्तापछि माले कार्यालय सचिव कपिल पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीका तर्फबाट तात्कालिक कार्यदिशा र समाजको अग्रगामी परिवर्तनका महत्वपूर्ण मुद्दामा सहमति खोज्दै वाम दलबीच सहकार्यलाई तत्काल अघि बढाउन सकिने प्रस्ताव पनि प्रस्तुत भयो ।’
तत्काल पार्टी एकताको कुरा सम्भव नभए पनि ‘घनिष्ट वाम सहकार्य’का लागि भने दुवै दल सहमत छन् । ‘कार्यदिशा एकैखाले भएका वाम दलबीच सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ,’ वार्तामा सहभागी एमाले केन्द्रीय सदस्य घनश्याम भुसालले सौर्यसँग भने, ‘कसरी अघि बढ्ने भन्नेबारे अर्काे बैठक बसेर छलफल गर्ने कुरा भएको छ ।’
परिवर्तनका लागि शान्तिपूर्ण बाटो अपनाउने, कम्युनिस्ट आन्दोलनलाई उग्रवामपन्थी र दक्षिणपन्थी खतराबाट बचाउनुपर्ने विषयमा भने दुई दलबीच समान धारणा रहेको स्रोतको भनाइ छ । ‘शान्तिपूर्ण बाटोबाटै परिवर्तन सम्भव छ भन्नेमा दुई दलबीच कतै विमति छैन,’ स्रोतले भन्यो, ‘निरन्तर छलफल गर्दै जाँदा एकताको बिन्दु भेटिन सक्छ ।’
एमाले र माले मात्र होइन, तात्कालिक विषयमा साझा धारणा निर्माण गर्दै सहकार्यका लागि अन्य वाम समूहसँग वार्ता जारी राख्ने सहमति भएको दुवै दलले जनाएका छन् ।
वार्तामा एमालेबाट वार्ताटोली संयोजक तथा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र केन्द्रीय सदस्य भुसाल सहभागी थिए भने मालेबाट महासचिव सिपी मैनाली, पोलिटब्युरो सदस्य एनपी आचार्य र डम्बर श्रेष्ठ सहभागी थिए । वार्ता एमालेनिकट मजदुर सङ्गठन नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को पुतलीसडकस्थित कार्यालयमा भएको थियो ।
यसअघि एमालेले जगत्बहादुर बोगटी नेतृत्वको नेकपा (माले समाजवादी), चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त)लगायत दललाई एकताका लागि पत्र पठाएको थियो । मालेसँग भएको वार्तालाई पनि निरन्तरता दिने र वाम सहकार्यका लागि अन्य वाम दलसँग पनि औपचारिक वार्ता गर्ने नेता भुसालले बताए ।
एमालेले पार्टीको आन्तरिक एकता सुदृढ गर्ने प्रस्ताव पारित गरेपछि अन्य वाम दलसँग एकताको प्रयास अघि बढाउने निर्णय गरेको थियो । पुस अन्तिम साता बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा नेताहरू केपी शर्मा ओली, वामदेव गौतम र ईश्वर पोखरेल सम्मिलित वार्ताटोली गठन गरेको थियो ।

प्रतिक्रिया