सहरमा फस्टाउँदै छन् बाँदर

काठमाडौँ, २६ फागुन । राजधानीमा मानिस असुरक्षाको भयमा बाँचिरहे पनि राता बाँदरलाई हाइसन्चो छ । बाँदर नै छन् सबभन्दा सुरक्षित । न जङ्गलमा आहारा खोज्न जाँदा ज्यानै जाने जोखिम न त कुकुरको आक्रमणमा परिने डर । अझ मानव समुदायमै बोझ बनिरहेको बालबच्चाको जन्मका मामलामा बाँदर पुस्तामा कस्तो स्वतन्त्रता ! जति बच्चा जन्माए पनि हुर्काउन गाह्रो छैन ।
तीन साताअघि त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका एसोसिएट प्रोफेसर एवं वन्यजन्तुविद् डा. मुकेशकुमार चालिसेले गरेको बाँदरको एक अध्ययनले उपत्यकाका बाँदर सुरक्षित भएको देखाएको छ । त्यसैकारण ३६ वर्षदेखि नबढेको यहाँका बाँदरको सङ्ख्या एक वर्षमै पहिलोपटक तीन सय २९ बढेको छ । दुई वर्षअघि सन् २०१० मा काठमाडौँ उपत्यकाका बाँदरको कुल सङ्ख्या एक हजार ८२ मा बढेर एक हजार चार सय ११ पुगेको छ ।
‘अघिल्ला वर्षमा जन्मे पनि फोहोर पानी र कृत्रिम खाद्यान्नबाट रोगिएर बाँदर धेरै मर्थे, गणनामा जत्तिका तत्ति हुन्थे’ अध्ययनकर्ता डा. चालिसेले सौर्यसँग भने, ‘अचेल फोहोर पानी र कृत्रिम खाद्यान्न पचाउन सक्ने भएछन् क्यारे ! दुई वर्षमा तीन सयभन्दा धेरै थपिए ।’
उच्च प्रजनन दर भए पनि लुतो, दाद, पेटको जुका, क्षयरोग, मोतीबिन्दु, हर्निया, गर्भ तुहिने रोगबाट वयस्क र बूढा बाँदर मर्ने क्रम उच्च थियो । यो वर्षको अध्ययनमा उपत्यकाका बाँदरको वासस्थान स्वयम्भू, पशुपति, त्रिपुरेश्वर, निलबाराही, साँखु, गोकर्ण, गोदावरी र शिवपुरी रहेको छ । पहिलोपटक सन् १९७५ मा अमेरिकी प्रोफेसर चाल्र्स साउथ विकले उपत्यकाका बाँदरको गणना गरेका थिए । ३६ वर्षमा पहिलोपटक बाँदरको सङ्ख्या बढेको डा. चालिसेले बताए । उनले अमेरिकी प्रोफेसरपछि क्रमशः सन् १९९५, २००३, २००५, २००९, २०१० र २०१२ मा बाँदरको अध्ययन गरेका थिए ।
जङ्गलका फलफूल, कलिला मुना र रूखका पात बाँदरका आहारा हुन् । जङ्गलमा अक्सर बथानमा रहने बाँदर भनेअनुसारको आहारा खाएर भोक टार्न निकै प्रतिस्पर्धामा उत्रिन्छन्् । कहिले आहारा पाइन्छ, कति त भोकै परिन्छ, बाँदरको खानपानको ठेगान हुँदैन । जङ्गलमा एकै ठाउँमा बस्न असुरक्षित हुन थालेपछि अर्को जङ्गलमा बथानमा सर्दा खेत, बस्ती, फाँट पार गर्दा मानिस, वस्तुभाउ र कुकुरको सामना पनि गर्नुपर्छ । मान्छेदेखि कुकुरसम्म आक्रमणमा उत्रिन्छन्, ज्यानै जान्छ बाँदरको ।
‘तर सहरमा यस्तो समस्या छैन, दिनहुँ मानिसले खानेकुरा दिएका छन्, नदिए मानिससँग खोसेर खान पनि बन्देज कहाँ छ र बाँदरलाई । फुत्त खोस्यो, च्याप्प समात्यो, पर भाग्यो, सहरमा पनि बाँदरको स्वभाव त पुरानै छ । ‘कृत्रिम खाद्यान्नले बाँदरलाई जिउन सहज भएको छ,’ डा. चालिसेले भने, ‘अझ पोलबीचका तार, सँगै जोडिएका भवनले चाहेको ठाउँमा पुग्न बाँदरलाई सजिलो र सुरक्षित भएको छ ।’ उनले कालगतिको मरणबाहेक सहरका बाँदर अब सुरक्षित रहेको बताए ।
अध्ययनले देखाएको छ कि काठमाडौँका बाँदर प्रकृतिसँग विमुख हुँदै गए पनि अब खानका लागि दुःख गर्नुपर्ने अवस्थाबाट मुक्त छन् । आहारविहारको व्यवस्थापनले यौनक्रीडामा पनि सहजता ल्याएको छ । प्रजनन क्रिया सक्रिय रूपमा संलग्न हुन थालेपछि प्रजनन दर पनि उच्च छ बाँदरको । जङ्गलमा चार वर्षमा वयस्क हुने बाँदर सहरको बसाइ र यहाँका कृत्रिम खाद्यान्नले अपत्यारिलोसँग दुई वर्षमै वयस्क भएको पाइएको अध्ययनले देखाएको छ ।
सहरको सुविधा भोगसँगै बाँदर अल्छी पनि बन्दै गएका छन् । आहारविहारको सुविधाले सहरका बाँदर सन्तानोत्पादनमा समय खर्र्चन थालेका छन् । बाँदरले एकपटकमा चारवटासम्म बच्चा जन्माउने गरेका छन् । उपत्यकाका बाँदरमा आएको परिवर्तन र वृद्धि भएको सङ्ख्याले अहिलेसम्म मानिसलाई असर परेको छैन । ‘तर मानिससँगको हेलमेलमा बाँदरको रोग मानिसमा सर्ने खतरा भने छ,’ अध्ययनकर्ता डा. चालिसेले भने ।

प्रतिक्रिया