संविधान संशोधन गर्नु हुँदैनः सचिव गजुरेल

काठमाडौ, २६ फागुन । एकीकृत माओवादीका सचिव सीपी गजुरेल संयूक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको चार बुँदे सहमति कुनै हालतमा कार्यान्वयन हुन नदिने चेतावनी  दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा सचिव गजुरेलले पार्टी भित्र पहिला देखिनै चार बुँदे सहमतिको विरोध भईरहेको बताए । उनले मधेसमा रहेको सामान्तवादका कारण मधेसी नेपालीले नागरिकता नपाएको दावी गरे । गजुरेलले भने, ‘मधेसमा जतिपटक नागरिकता बाडेपनि विदेशीले मात्रै पाउछन् ।’
उनले संविधान संसोधन गरेर नागरिकता वितरण गर्नु भन्दा नागरिकता नपाएका बास्तविक नेपाली पहिचान गरी नागरिकता दिन विशेष टोली खटाउनु पर्ने बताए ।
मधेसी जनतालाई झुक्याउन र आँखामा छारो हाल्न मधेसी दलहरुले नेपाली सेनामा तीन हजारको समूहगत प्रवेशको माग गरेको उनले आरोप लगाए ।
एमाले सचिव शंकर पोखरेलले मधेसी दलहरुले उठाएको नागरिकताको मुद्दा नेपाली नागरिकलाई नागरिकता दिनु भन्दापनि नेपालीलाई अल्पमतमा पार्ने षडयन्त्र भएको आरोप लगाए । उनले भारतले समेत दोहोरो नागरिकताको समस्या उठाईसकेको अवस्थामा नेपाली नागरिकतालाई लज्जित पार्न नहुने बताए ।
कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले शान्ति र संविधान निर्माण गर्न लाग्नु पर्ने अवस्थामा नागरिकता जस्तो संबेदनशिल विषयको विवाद झिकेर मुलुकलाई अन्यत्रै डाईभर्ट गर्ने षडयन्त्र भएको दावी गरिन । उनले शान्ति प्रक्रिया पुरा नभई कुनै पनि काम हुन नसक्ने भन्दै शान्ति प्रक्रिया निष्कर्षमा पुरायाउने तर्फ लाग्न सुझाव दिईन ।
फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले जन्मसिद्ध नागरिकता पाएका नागरिकका छोराछोरीहरु नागरिकता विहीन बनेकोले उनीहरुलाई नागरिकता दिन संविधान संसोधन गर्न लागिएको बताए ।
संघीय सदभावनाका अध्यक्ष अनिलकुमार झाले चार बुँदे सहमति कहिल्यै पनि कार्यान्वयन हुन नसक्ने बताए ।

प्रतिक्रिया