विपक्षी दलले मागे सेनाको समायोजन प्रस्तावको जानकारी

काठमाडौं, ९ फागुन । प्रमुख दुई विपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) नेपाली सेनाले समायोजनका बिषयमा सार्वजनिक गरेको प्रस्तावका बिषयमा प्रधानमन्त्री तथा बिशेष समिति संयोजक बाबुराम भट्टराईसँग जानकारी लिने निर्णय गरेका छन् ।
कांग्रेस र एमालेका प्रमुख नेताहरुको आज बिहान सिंहदरबारमा बसेको बैठकले समायोजनका बिषयमा नेपाली सेनाले सार्वजनिक गरेको भनिएको समायोजन सम्बन्धी प्रस्तावका बिषयमा प्रधानमन्त्रीसँग जानकारी लिने निर्णय गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले बताएका छन् । बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै नेता पौडेलले नेपाली सेनाको प्रस्तावका बारेमा बिशेष समितिमा प्रधानमन्त्रीसँग सोधपुछ गर्ने जनाएका छन् ।
नेपाली सेनाले समायोजनको प्रस्ताव उपलब्ध गराएको भन्दै समाचार आउन थालेपछि दुई विपक्षी दलले त्यस बिषयमा चासो देखाएका हुन् । उनीहरुले सात बुँदे सहमति अनुसार नै समायोजन हुने भन्दै त्यस बाहिर जान नसक्ने जनाएका छन् ।
कांग्रेस र एमालेले लडाकु स्वयच्छिक अवकासमा गईसके पछि शिविरको संख्या घटाउने बिषयमा सरकारले गरेको तयारी र गृहकार्यमा समेत जानकारी मागेका छन् । लडाकु बसेका २८ शिविरलाई घटाएर १४ वटामा झार्ने यस अघि नै सहमति भईसकेको नेता पौडेलले उल्लेख गरेका छन् । उनले शिविर घटाउने, समायोजन गर्ने लगायतका शान्ति प्रक्रियाका काम अघि बढाउने बिषयमा माओवादी र सरकारले अत्यन्तै ढिलो गरेको आरोप लगाएका छन् ।
कांग्रेस र एमालेले नेपाली सेनामा माओवादी लडाकुलाई सामूहिक प्रवेश गराउने माओवादी भनाईको बिरोध गरेका छन् । उनीहरुले माओवादीले सेनालाई राजनीतिक प्रभावमा पारेर सामूहिक प्रवेशको नीति अपनाएको भन्दै चर्को बिरोध जनाएका हुन् । नेता पौडेलले भने, ‘सेना समायोजनमा सामूहिक प्रवेश हामीले कुनैपनि हालतमा मान्दैनौ ।’

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि माओवादी लडाकुलाई सेनामो महानिर्देशनालयमा राख्दै लडाकुको कुनै पहिचान नहुने बताएका छन् ।
नेता पौडेलले सेना समायोजन नेपाली सेनाको मापदण्ड र पछिल्लो सात बुँदे सहमति अनुसार हुने बताएका छन् ।
बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया