‘मनोरञ्जन क्षेत्रलाई छुट्टै कानुन चाहियो’

काठमाडौं, ५ वैशाख । महिलाको हकहितका लागि काम गरिरहेको महिलाका निम्ति महिला मञ्च नेपालले मनोरञ्जन क्षेत्रका लागि छुट्टै कानुन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

महिलाको निम्ति महिला मञ्च नेपालले अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको वर्तमान अवस्था र कानुनी प्रावधान विषयक अन्तक्र्रियामा बोल्दै अधिवक्ता टीकाराम पोखरेलले सरकारले ल्याएको कानुनले सम्पूर्ण कुरालाई नसमेटेको गुनासो गरे ।
उनले सरकारले उपेक्षा गरेको क्षेत्र मनोरञ्जन भएको भन्दै बलियो कानुनका लागि लड्न आवश्यक रहेको बताए । स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनअन्तर्गत होटल रेस्टुरेन्ट महासंघका महासचिव दीपक सापकोटाले मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाका अधिकारका लागि श्रमसम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिए । मञ्चका अध्यक्ष सिर्जना पुनले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई संगठित गर्दै उनीहरूको श्रम अधिकार र मानवअधिकार सुनिश्चित गर्न आफ्नो संस्थाले काम गरेको बताइन् ।
महिलाको स्थानागमन अधिकारका लागि सञ्जालकी संयोजक अस्मिता सापकोटाले वैदेशिक रोजगार होस् या मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको स्थानागमन अधिकार सुनिश्चित हुनुपर्ने बताइन् । कार्यक्रममा विश्वास नेपालकी बालकुमारी आले, समावेशी मञ्चका बद्री पुन, सभ्य मिलन समाजका अशोक पाण्डे, महिलाका निम्ति महिला मञ्चकी सदस्य सोनिया लामा, गण्डकी दोहरी साँझकी सुनिला गुरुङलगायतले मनोरञ्जन क्षेत्रलाई सम्मानका साथ राज्यले हेर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया