मेलबर्न, ५ असार । ब्राजिलमा आगामी वर्ष हुने विश्वकप फुटबलमा एसियाबाट सहभागी हुने चार टोलीको टुंगो लागेको छ । जापान, अस्ट्रेलिया, दक्षिण कोरिया र इरानले आगामी विश्वकपमा छनोट पक्का गरेका हुन् । यीमध्ये तीन टोलीको टुंगो भने मंगलबार लागेको हो । पछिल्लोपटक छनोट हुने टोलीमा अस्ट्रेलियाया, दक्षिण कोरिया र इरान रहे । समूह ‘ए’को विजेता इरान र उपविजेता दक्षिण कोरिया भए भने जापान र अस्ट्रेलिया क्रमश: विजेता र उपविजेताका रूपमा समूह ‘बी’बाट छनोट भएका हुन् । हालसम्म आगामी विश्वकपका लागि यीबाहेक ब्राजिल(आयोजक)को मात्र सहभागिता निश्चित भइसकेको छ ।
समूहको अन्तिम खेलमा इराकलाई १–० ले हराउँदै अस्ट्रेलिया छनोट भएको हो । समूह ‘बी’मा जापान आठ खेलबाट १७ अंक जोड्दै पहिलो भयो भने अस्ट्रेलियाको १३ अंक भयो । एक खेल कम खेल्न बाँकी रहेको ओमानको नौ अंक भए पनि अस्ट्रेलियाको यस जितपछि ओमानको अन्तिम खेल औपचारिक मात्र रहने भयो । अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको अस्ट्रेलियालाई जोसुआ केनेडीले उद्धार गरे । उनले ८३आँै मिनेटमा खेलकै एक मात्र गोल गरेका हुन् । २००६ मा राष्ट्रिय टिममा डेब्यु गरेका ३० वर्षीय जोसुआले ३० अन्तर्राष्ट्रिय खेलमा १६ गोल गरेका छन् ।
अस्ट्रेलिया विश्वकपमा चौथोपटक छनोट भएको हो । सन् १९७४ मा पहिलोपटक विश्वकप खेलेको अस्ट्ेरलिया लगातार तेसं्रोपटक छनोट भएको हो । पछिल्लो विश्वकपमा उसले २१औँ स्थान हासिल गरेको थियो ।
दक्षिण कोरियालाई १–० ले हराउँदै इरानले चौथोपटकका रूपमा आठ वर्षपछि विश्वकपमा सहभागिता निश्चित गर्यो । यसअघि उसले सन् १९७८, १९९८ र २००६ को संस्करणमा प्रतिस्पर्धा गरेको थियो । इरानको जितमा रेजा घुचान्नेजादले ६०आँै मिनेटमा निर्णायक गोल गरे । यस जितपछि इरान १६ अंकसहित समूहको विजेता बन्यो । सन् २००६ सम्म नेदरल्यान्ड्सको यु–१९ टोलीबाट खेलेका २५ वर्षीय स्ट्राइकर रेजाले सन २०१२ मा मात्र इरानको राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यसयता उनले इरानका लागि सात खेल खेल्दै पाँच गोल गरेका छन् ।
हारका बाबजुत समान अंक भएको उज्वेकिस्तानलाई हराउँदै दक्षिण कोरियाले लगातार आठाँै तथा समग्रमा नवौँपटक विश्वकपमा स्थान सुनिश्चित गर्यो । दक्षिण कोरिया र उज्वेकिस्तानको समान १४ अंक भयो । अन्तिम समूह खेलमा उज्वेकिस्तानले कतारलाई ५–१ ले हरायो ।
प्रतिक्रिया