दुई सय मिटरमा विमलको कीर्तिमान

काठमाडौं : पश्चिमाञ्चलका विमल बस्नेतले अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको एथलेटिक्सतर्फ छात्र २ सय मिटर दौडको हिट चरणमा बिहीबार विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । फाइनल शुक्रबार हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त दौड २२.९ सेकेन्डमा पूरा गर्दै विमलले नयाँ कीर्तिमान रचे । यसअघि २३.६ सेकेन्ड समयको कीर्तिमान पश्चिमाञ्चलकै जगदीश चौधरीको नाममा थियो । उनले त्यो कीर्तिमान २०५८ सालमा भएको विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगितामा बनाएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगिताको ५ हजार मिटर दौडको छात्रामा मध्यपश्चिमाञ्चलकी सुनमाया बुढा पहिलो भइन् । निर्धारित पूरा गर्न सुनमायाले २० मिनेट १९.९ सेकेन्ड समय खर्चिन् । सोही स्पर्धाको छात्रमा निर्धारित दूरी १६ मिनेट ५०.० सेकेन्डमा पूरा गर्दै पश्चिमाञ्चलका अनुप खनाल शीर्ष स्थानमा रहे । छात्रको ४ सय मिटर दौडमा पश्चिमाञ्चलका विनोद गुरुङले स्वर्ण चुमे । उनको ‘फिनिसिङ टाइमिङ’ ५३.० सेकेन्ड रह्यो । ४ गुणा १०० मिटर रिलेको छात्रमा मध्यमाञ्चल तथा छात्रामा मध्यपश्चिमाञ्चल पहिलो स्थानमा रहे । छात्राको २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी सन्जु चौधरी अगाडि रहिन् । उनले २७.६ सेकेन्डको समय निकाल्दै सबै प्रतिद्वन्द्वीलाई पछि पारिन् । ज्याभ्लिन थ्रोको छात्रमा मध्यमाञ्चलका राजकुमार चौधरीले शीर्षस्थान हात पारे । उनले ४०.९५ मिटर टाढा फाले । २१.०८ मिटर टाढा फाल्दै मध्यपश्चिमाञ्चलकी निरुता शाहीले बाजी मारिन् ।
भलिबल : दुवैमा मध्यमाञ्चल र पश्चिमाञ्चल भिड्ने प्रतियोगिताअन्तर्गत भलिबलको छात्र र छात्रा दुवैमा मध्यमाञ्चल र पश्चिमाञ्चल
उपाधिका लागि भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न छात्रको सेमिफाइनलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१५, २५–१९ र २५–२१ तथा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–११, २५–१९ र २५–१९ को सोझो सेटमा पराजित
गरे । छात्राको सेमिफाइनलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चलाई २५–७, २५–८ र २५–१० तथा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–६, २५–१३ र २५–१७ को सीधा सेटमा पाखा लगाए । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ । विजेतालाई महाराजगन्जस्थित शितल निवासमा राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । (सौस)

प्रतिक्रिया