कालीगण्डकी करिडोरको तरङ्गखोलामा पुल निर्माण सुरु

त्रिवेणी । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लामो समय अधुरै अवस्थामा रहेको तरङ्गखोलामा पुल निर्माण कार्य थालिएको छ । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैँडाकोट नगरपालिका–३ र बुलिङटार गाउँपालिका–१ जोड्ने तरङ्गखोलामा निर्माणाधीन उक्त पुल २०७५ सालमा ठेक्का लगाएर काम सुरु गरिएको थियो ।

विसं २०७६ माघ मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी लोहनी एण्ड ब्रोदर्श प्रालिले निर्माणको जिम्मा पाएको थियो । सो समयमा काम सम्पन्न नभएपछि २०८१ चैत मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । म्याद सकिने समयमा समेत पुल काम बाँकी रहेकोमा अहिले उक्त काम सम्पन्न गर्ने सुरसारमा निर्माण कम्पनी लागेको छ ।

बुलिङटारका खड्कबहादुर कुमालका अनुसार पुल निर्माणमा ठेकेदारले विभिन्न बहना बनाउँदै अलपत्र पार्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । पुल निर्माण नहुँदा पानी पर्ने बित्तिकै यस खोलामा यातायात पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । पुल निर्माण नहुँदा बाटो बने पनि पानी पर्ने बित्तिकै रोकिनुपर्ने अवस्था छ ।

पुल निर्माण भए आफूहरूलाई बर्खामा समेत यात्रा गर्न सहज हुने कुमालले बताए । पुलसहित करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम रहेकाले ती स्थानमा पहिरो नियन्त्रणका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

कालिगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्डमा पर्ने ३० वटा पुलमध्ये तरङखोलाको पुल मात्र निर्माणको काम बाँकी रहेको गैँडाकोट–राम्दी–मालढुंगा सडक योजनाका सबइन्जिनियर दिवस सिलवालले बताए । पुल निर्माणको काम रोकिएकामा योजनाको ताकेताले ठेकेदार काममा फर्किएको र अब चाँडै पुल सञ्चालन गर्नेगरी आफूहरूले समन्वय गरिरहेको उनले बताए ।

‘यस खण्डमा पर्ने अन्य सबैजसो पुल निर्माणको काम सकिएको छ, तरङखोलाको पुल पनि अब चाँडै सक्ने गरी हामीले ताकेता गरिरहेका छौँ, यसपालिको बर्खामा यातायात सञ्चालनमा समस्या नहोला’, उनले भने ।

गण्डकी प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको कालीगण्डकी करिडोरमा पर्ने तरङखोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको रु चार करोड ३५ लाख ६७ हजारमा ठेक्का लागेको थियो ।

कालीगण्डकी करिडोर गैँडाकोट–राम्दी–मालढुंगा सडक योजनाका सबइन्जिनियर सिलवालका अनुसार करिडोरका गर्नुपर्ने बाँकी काम अब सडक डिभिजन कार्यालयमार्फत हुने छ । योजनाको अवधि सकिएकाले बाँकी काम सडक डिभिजन कार्यालयलाई हस्तान्तरणपछि उक्त कार्यालयबाटै हुने उनले बताए ।– रासस

प्रतिक्रिया