महोत्तरी । औरही नगरपालिका–२ को वडा कार्यालयमा सोही वडाका निर्वाचित ४ जना वडा सदस्यले तालाबन्दी गरेका छन् ।
सोमबार वडा अध्यक्ष दरेश यादवलाई कार्य सम्पन्न गरेको फाइलमा सही गर्न भनेपछि वडा अध्यक्ष यादवले २० प्रतिशत नगद दिएपछि मात्र सहि गर्छु भनेपछि वडा सदस्य संजय यादवको नेतृत्वमा वडा सदस्य सोनाबती देवी यादव, राजकुमरी देवी, दुलारी देवीसहित ४ ओटै वडा सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
३ वटा काम छुट्टाछुट्टै उपभोक्ता समितिद्वारा भएको थियो । वडा कार्यालयको बजेट उपभोक्ता समितिद्वारा माटोको काम महेश यादव, ग्राभेलको काम बिनेश यादव र ढलानको काम नवीन राउतले गरेका थिए । ३ ओटै काम करिब २८ लाख बराबरमा सम्पन्न गरिएको छ ।
यस मध्ये १ जना उपभोक्ता समितिका अध्यक्ष बिनेश यादवले भने आफूहरूले ऋण लिएर जनताको काम गरेको र वडा अध्यक्षलाई हामी किन कमिसन दिने भनेर वडा सदस्यहरूलाई सुनाएपछि वडा सदस्यहरूले आक्रोशमा तालाबन्दी गरेका हुन् । यति मात्र होइन केही दिनअगाडि सोही वडामा पर्ने चेपकट गाउँमा बस्ने गने दहालले नाता प्रमाणित नागरिकता गर्न जाँदा वडा अध्यक्ष यादवले ७ हजार लिएर सिफारिस दिएको गुनासो गरेका थिए ।
वडा अध्यक्ष यादवले वडा कार्यालयबाट हुने काम सिफारिस, नाता सिफारिस, तमसुक दर्तालगायत अन्य काम काजमा पनि वडा अध्यक्षले कमिसन माग्ने र लिने गरेको आरोप वडा सदस्य संजय यादवले लगाए । तालाबन्दी भएको विषयमा वडा अध्यक्ष यादवसँग फोन सम्पर्क गर्दा फोन उठाएनन् ।
प्रतिक्रिया