इलामको लिङसुवामा ८८ लाखको सिँचाइ योजना सुरु

इलाम । इलाम नगरपालिका–१२ लिङसुवामा ८८ लाख ३४ हजार ३ सय ३१ रुपैयाँको लागतमा लिङसुवा राते खोला सिँचाइ योजना सुरु भएको छ । इलाममा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत लिङसुवा टोलमा सिँचाइ योजना सुरु भएको हो ।

स्थानीय राते खोलाबाट पानी ल्याउने गरी सुरु भएको योजनाअन्तर्गत ३ हजार ८ सय ६१ मिटर लम्बाइको कुलो निर्माण हुनेछ । योजनाअन्तर्गत इन्टेक एक, पैदल पुल तीन, सुपर प्यासेज आठ, आएटलेट पाँच, पाइप कनेक्सन चेम्बर दुई र भिलेज रोड ब्रिज दुई वटा निर्माण हुने लिङसुवा राते सिँचाइ जल उपभोक्ता संस्थाका सचिव रमेशकुमार लिङदमले जानकारी दिए ।

त्यस्तै, दुईतर्फी पक्की पुल १ हजार ९ सय ३० मिटर, कुलो ताछ्ने १ हजार ७ सय ८४ मिटर, पाइप कुलो २५ मिटर निर्माण गर्नुपर्ने र गेबियन पर्खाल २६ बक्स लगाउनुपर्ने सम्झौता रहेको उनले बताए ।

योजना सम्पन्न भएपछि लिङसुवा र आसपासका ४७ घुरधुरी किसानहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । त्यस्तै, त्यस क्षेत्रका ३ सय ४० रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने उपभोक्ता संस्थाका सचिव राम लिङदमले बताए ।

‘वर्षौंदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका लिङसुवामा सिँचाइ आयोजना सुरु भएपछि किसानहरू उत्साहित भएका छन्’, सचिव लिङमले भने, ‘योजना सम्पन्न भएपछि वर्षको एकपटक मात्र बालीनाली पाक्ने लिङसुवाका करिब साढे तीन सय रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ ।’

योजनाका लागि स्विस सरकारको ३० प्रतिशत अर्थात् २६ लाख ५० हजार २ सय ९९, संघीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको २०–२० प्रतिशत अर्थात प्रत्येकको १७ लाख ६६ हजार ८ सय ८८ र स्थानीय उपभोक्ताहरूको १० प्रतिशत अर्थात् ८ लाख ८३ हजार ४ सय ३३ रुपैयाँ लागत साझेदारी रहेको छ । योजना आर्थिक वर्ष २०८०–०८१ असार २० सम्म सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायीकरणबाट आयआर्जन बढाउने उद्देश्यले इलाममा स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया