इलाम । इलाममा पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा मात्र ११ वटा बलात्कारका घटना भएका छन् ।
चालु आव साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा नौ जना जबरजस्ती करणीको सिकार भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सुब्बाले जानकारी दिए । त्यस्तै, दुई जनामा हाडनातामा जबरजस्ती करणी भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामको तथ्यांकअनुसार तीन वर्षमा ८० जना बलात्कारको सिकार भएका छन् । जसमध्ये ७१ जना जबरजस्ती करणी, आठ जना हाडनातामा जबरजस्ती करणी र एक जना अप्राकृतिक मैथुनको सिकार भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । अपराधको तथ्यांक हेर्दा बालिकादेखि वृद्धासम्म बलात्कारको सिकार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आव २०७९÷०८० मा २९ वटा बलात्कारका घटना भएका छन् । जसमा २७ वटा जबरजस्ती करणी र दुई वटा हाडनातामा जबरजस्ती करणीको घटना भएको थियो । आव २०७८÷०७९ मा २६ वटा बलात्कारका घटना भएका थिए । जसमा २५ वटा जबरजस्ती करणी र एउटा हाडनातामा जबरजस्ती करणीको घटना भएको छ ।
तस्तै, आव २०७७÷०७८ मा २५ वटा बलात्कारका घटना भएका थिए । जसमा १९ वटा जबरजस्ती करणी, पाँच वटा हाडनातामा जबरजस्ती करणी र एउटा अप्राकृति मैथुनको घटना भएको प्रहरीको तथ्यांक छ । तीन वर्षको बलात्कारको तथ्यांक हेर्दा विगत आवको तुलनामा पछिल्लो आवमा क्रमशः वृद्धि भइरहेको देखिएको छ ।
बलात्कार विरुद्धको बहसमा आमसरोकारवालाहरू सक्रिय छन् । बलात्कारीलाई फाँसीसम्मको सजाय दिनुपर्ने बहस पनि नभएका होइनन् । तर, इलामको तथ्यांकले बलात्कार र बलात्कारजन्य घटना न्यूनीकरण हुन सकेको छैन ।
बलात्कारका घटना बढ्नुमा प्रविधिको गलत प्रयोगलाई दोष दिने गरिन्छ । समाजमा आपराधिक मानसिकता अझ बढेको सामाजिक अभियन्ताहरू बताउँछन् । बलात्कारपछि हत्या गरेको अवस्थामा आजीवन कैदको व्यवस्था कानुनले गरेको छ ।
मुलुकी फौजदारी संहिताको दफा २१९ को उपदफा ३ मा १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्म, १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म, १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था उल्लेख छ । त्यस्तै, १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म र १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था उल्लेख छ ।
इलाम
प्रतिक्रिया