चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित

इलाम । बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एकदशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष बढेपछि किसान उत्साहित भएका हुन् । गत वर्ष मुस्किलले प्रतिमन अर्थात् ४० केजी २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार राईले बताए ।

‘विगतका वर्षहरूमा हामीले चिराइतो प्रतिमन आठ हजारदेखि २५ हजारसम्ममा बिक्री गर्ने गर्दथ्यौँ । अहिले ५४ हजमारमा बिक्री भइरहेको छ । यो एक दशकयताकै उच्च मूल्य हो’, उनले भने, ‘यसले व्यावसायिक चिराइतो खेती गदै आएका हामी किसानलाई उत्साहित बनाएको छ ।’
राईले कुनै समय एकैसिजनमा ५० मनसम्म चिराइतो बिक्री गर्दथे । आम्दानीसमेत राम्रै हुन्थ्यो । तर, केही वर्षयता मूल्य घटेपछि धेरै राईसँगै धेरैले व्यावसायिक चिराइतो खेती छाड्दै गएका थिए ।

अहिले अप्रत्याशित भाउ बढेपछि किसानहरू पुनः उत्साहित भएका छन् । मूल्य बढेसँगै व्यवसायीहरू चिराइतो संकलन गर्न गाउँगाउँ पुग्न थालेका छन् । चिराइतो खोजी गर्दै गाउँगाउँमा व्यापारी आएसँगै व्यावसायिक चिराइतो खेती गर्दै आएका सन्दकपुरका किसाले मनग्य आम्दानी गरिरहेको जडीबुटी व्यवसायी फुर्वा तामाङले बताए ।

‘गतवर्ष मूल्य नआएका कारण धेरैको चिराइतो बिक्रीसमेत भएको थिएन । तर, अहिले व्यापारीहरू किसानको घरघरमा पुगेर राम्रो मूल्यमा चिराइतो खरिद गरिरहेका छन्’ उनले भने, ‘यो मूल्य स्थिर रहिरहने हो भने यहाँका किसानले अरू काम नै गर्नुपर्दैन ।’
चिराइतो पाखा बारीमा बिउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुने तामाङले बताए । अन्यबाली लगाउनुभन्दा यसको आम्दानी तुलनात्मक रूपमा राम्रो हुने उनको भनाइ छ ।

पहिले पहिले जंगल र खेतबारीमा स्वतः उम्रने चिराइतो पछिल्लो समय किसानले व्यावसायिक रूपमा खेती पनि गर्दै आएका छन् । समुन्द्री सतहबाट १ हजार ५ सय मिटरदेखि २ हजार ५ सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले जिल्लाका माथिल्लो भेगका अधिकांश किसानले चिराइतो खेती गरिरहेका छन् ।

इलामको सन्दकपुर गाउँपालिकाको माइपोखरी, सुलुबुङ, माबु, माइमझुवा, जमुना, इङ्ला, माईजोगमाई गाउँपालिकाको प्याङ, नयाँबजार र इलाम नगरपालिकाको पुवामझुवाको माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादित चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायी तामाङको भनाइ छ ।

साउनदेखि कात्तिकसम्म फल्ने र असोजदेखि मंसिरमा पाक्ने यसको संकलन भने मंसिरपछि गरिन्छ । जरासँगै उखेलेपछि एक किलो जतिका ससाना मुठा बनाइने यसलाई हावा आवतजावत गर्न सकिने ठाउँमा भण्डारण गरिन्छ । भूगोल हेरी मंसिरदेखि चैतसम्म चिराइतोको संकलन हुन्छ ।

चिराइतो उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो एक मुख्य जडीबुटी हो । औषधिजन्य वनस्पतिका रूपमा रहेको चिराइतो आयुर्वेदिक, होमियोप्याथी, आम्ची तथा एलोप्याथी औषधीय पद्धतिका साथै अन्य उद्योगमा पनि प्रयोग गर्ने गरिएको छ । चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ ।

प्रतिक्रिया