लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने भएको छ ।
यहि भदौ ९ गते शनिबार ‘वाटरफल फेस्टिबल’ आयोजना गरिएको आयोजक हामखोला व्यवस्थापन समितिले जनाएको छ । हामखोला झरनाको प्रचारप्रसार गर्न आयोजना गरिएको सो महोत्सवमा प्रतिष्ठित डिजेको प्रस्तुति रहने छ ।
‘गर्मी मौसम छ, छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी लिँदै, डिजेको साथमा नाँच्न पाईनेछ’, स्थानीय सहदेव गुरूङले भने ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वर्ष भदौ १७ र १८ गते महोत्सव आयोजना गरिएको थियो । यसअघि २०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो ।
कोरोना संक्रमणका कारण ३ वर्ष बिथोलिएको महोत्सव गत वर्षदेखि पुनः निरन्तरता दिन लागिएको हामखोला झरना महोत्सवका संयोजक प्रमोद घलेले बताए । निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।
यसअघि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत निर्माण गरिएको थियो । यस्तै, झरनाबाट बगेको पानीमा पौडिन चाहनेका लागि पोखरीसमेत बनाइएको छ ।
लमजुङ
प्रतिक्रिया