काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनमा करिब दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ । गृह मन्त्रालयले सोमबार निर्वाचन व्यवस्थापनमा करिव दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन परिचालन गरिएको जनाएको हो ।
यसैगरी निर्वाचनका लागि करिब तीन लाख कर्मचारी परिचालन गरिएको मन्त्रालयले जनाएको छ । निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न ठूलो सँख्यामा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको हो ।
‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफुमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रुपले हुनु आवश्यक छ,’ गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, सशस्त्र प्रहरीका महानिरीक्षक (आइजिपी) राजु अर्यालले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन देशभर खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले निर्वाचन सुरक्षामा खटिएका प्रहरीको बन्दोबस्ती तथा राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालनलगायतका जिम्मेवारीका क्षेत्रमा अनुगमन गरिएको बताए ।
महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनका लागि उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गर्न पनि आग्रह गरे । उनले नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै विभिन्न निकायसँग समन्वय र सहकार्य गर्न आग्रह पनि गरे ।
प्रतिक्रिया