राहत र थेरापीमा कलाकार

Rahatकाठमाडौं । वैशाख १२ गते गएको भूकम्प र त्यसपछि आएका पराकम्पनबाट प्रताडित बनेका गोरखा जिल्लाको हर्मी गाविसको वडा नं. ९ का दलित बस्तीमा पुगेर गीतसंगीत क्षेत्रमा आबद्ध कलाकारहरूले सहयोग गरेका छन् । अमेरिकामा रहेर गीतसंगीतमा क्रियाशील रहेका कलाकारहरूको संस्था नेपाली अमेरिकन कलाकार संघ, गायिका सिर्जना विरही थापा, गायक राजन ठकुरी र गायक राजन भुजेलले सहयोग प्रदान गरेका हुन् ।

उक्त गाविसमा रहेका दलितलाई केन्द्रित गर्दै अमेरिकाबाट प्राप्त ५० हजार रुपैयाँ र गायिका थापाले दिएको २० हजार रुपैयाँ एकमुष्ठ सहयोग गरेका हुन् । उक्त राहत रकमबाट त्यहाँका दलितलाई गत सोमबार खाद्यान्न वितरण गरिएको थियो । वर्षायाम सुरु हुन लाग्दा दलित बस्तीमा खानेकुराको अभाव हुँदै जाने अवस्था देखिएपछि घरविहीन बनेका त्यहाँका ६० घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो ।
पत्रकार सुमन बैरागीको नेतृत्वमा गएको राहत टोलीलाई स्थानीयवासीले खुशी प्रकट गर्दै फूलमाला लगाइदिएका थिए । गायकद्वय राजन भुजेल र राजन ठकुरी, मोडल नारायण ढकालको टोलीले गाउँमा राहत बाँड्दा स्थानीय बासिन्दाले कच्ची सडकको विकास गाउँमा भए पनि राहतको कार्यक्रम कम हुने गरेको गुनासो पोखेका थिए । सुमनका अनुसार केही समयपहिला मात्र उक्त रकम गाविसका दलित, एकल महिला र विपन्न समुदायलाई लत्ताकपडा र घर निर्माणको कार्यमा खर्च भएको थियो ।
अमेरिकामा रहेका नेपाली कलाकारहरूको साझा संगठनका रूपमा रहेको अमेरिकन नेपाली कलाकार संघले गोर्खालगायत भूकम्पबाट पीडित बनेका सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका जिल्लामा पनि राहत पठाएको छ । विदेशमा रहेर नेपालीहरूकै सेवामा मन लगाउँदै आएको यस संस्थाले स्थापनाको छोटो समयमै कलाकार एवं पीडितहरूलाई ठूलो सहयोग उपलब्ध गराउँदै आएको छ ।
यस्तै शिक्षाबाट वञ्चित ग्रामीण भेगका बालबालिकाहरूलाई विविध सेवा दिँदै आएको चिल्ड्रेन फर चिल्ड्रेन नेपाल भूकम्पपीडित बालबालिकालाई हाँस्यव्यंग्य थेरापी अभियान सुरु गरेको छ । संस्थाले राजधानीको ढल्कोस्थित नेपाल राष्ट्रिय निमाविका विद्यार्थीलाई हाँस्यकलाकारहरूको सहयोगमा बुधबार हाँस्यव्यंग्य थेरापीबाट मनोरञ्जन दिएको हो ।
करिब दुई सय ५० जना विद्यार्थी, विद्यालयका शिक्षक शिक्षिका, अभिभावकहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा ‘जिरे खुर्सानी’ का कलाकारहरू किरण केसी (राता मकै), शिवहरि पौडेल (मुखाहान्नु जस्तो), सुरेन्द्र केसी (मुला साग), मनोज आचार्य (खुरापाती हाकिम), विनोद केसी तथा राजेन्द्र लुइँटेलले हांस्यव्यंग्यमार्फत विद्यार्थीलाई विभिन्न प्रकारका चुट्किला, हाँस्य कविताबाट मनोरञ्जन दिएका थिए ।
कलाकार किरण केसीले गीतको माध्यमबाट पनि विद्यार्थी तथा शिक्षक शिक्षिकालाई नचाए । आफ्नो गीतमा विद्यार्थीको हाँसोले आफूलाई निकै सन्तुष्टि मिलेको उनले बताए । कार्यक्रममा भूकम्पसम्बन्धी जानकारी र भूकम्प आएको अवस्थामा कसरी सुरक्षित रहने भन्ने विषयमा वरिष्ठ इन्जिनियर उद्धवराज चौलागाईंले जानकारी दिएका थिए ।
संस्थाका महासचिव सहर्ष केसीले संस्थाले भूकम्पबाट पीडित तथा त्रसित विद्यार्थीका लागि धादिङको मजुवा, जीवनपुर, नुवाकोट जिल्लाको समरी, तारुकालगायतका स्थान र भत्किएका विद्यालयमा गएर राहत वितरण, पुुनस्र्थापना, उद्धारलगायत मनोवैज्ञानिक परामर्श दिएको बताए ।

प्रतिक्रिया