नवलपुरमा आगलागीका घटना बढ्दै : ३८ घटनामा तीन जनाको मृत्यु, दुई भैँसी र तीन बाख्रा पनि मरे

नवलपुर । यहाँ आगलागीका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन् । शुक्रबार मात्रै दिउँसो करिब २ः३० बजे यहाँको विनयी त्रिवेणी गाउँपालिका–२ मा आगलागी भयो । तामाङटोलस्थित नवीन पुनको दुई तले टिनको घरमा लागेको आगलागीबाट दुईवटा भैँसी र तीनवटा बाख्रा मरे । आगलागीबाट भएको क्षतिको थप विवतरण प्रहरीले संकलन गरिरहेको छ ।

सोही दिन दिउँसो करिब तीन बजे जिल्लाकै हुप्सेकोट–४ शंखदेव गाउँका रनबहादुर राईको परालको टौवामा आगलागी भयो । बच्चाले सलाई खेलाउँदा भएको आगलागीबाट परालको टौवामा क्षति पुग्यो भने तत्काल आगो नियन्त्रणमा आउँदा थप क्षति हुन पाएन ।

यस्तै, बिहीबार दिउँसो तीन बजेतिर गैँडाकोट–१ को इँट्टा भट्टाचोकमा श्रीप्रसाद न्यौपानेको परालको टौवामा आगो सल्कियो । आगलागीबाट १२ कठ्ठाको परालमा क्षति पुग्यो भने गोठ जलेर खरानी भयो । पशुचौपाया एवम् मानवीय क्षति भने हुन पाएन ।

जिल्लामा व्यक्तिगत सम्पत्तिमा हुने आगलागीका घटना प्रायः दिउँसोकै समयमा हुने गरेका छन् । जिल्लामा भएका सबै घटनाका कारण नखुले पनि मानवीय त्रुटीले आगलागी धेरै घटना हुने गरेका प्रहरीले जनाएको छ । ।

जिल्लामा यस वर्ष मात्रै आगलागीमा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवमा ३८ वटा आगलागीका घटनामध्ये तीनवटा घटनामा परी तीन जनाको मृत्यु भएको हो । चैतमा मात्रै यहाँ १३ वटा घटना भएका छन्, जसमध्ये पाँचवटा व्यक्तिगत सम्पत्ति एवम् आठ वटा वनमा आगलागीका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले फागुन, माघ र साउनमा भएको आगलागीबाट तीन जनाको मृत्यु भएको जानकारी दिए । ‘आगलागीबाट जिल्लामा नौ महिनाको अवधिमा तीनजनाको मृत्यु हुँदा आठ जना घाइते भएका छन्’, उनले भने, ‘आगलागीबाट रु ६१ लाख २१ हजार बजारको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ । एक हजार ६०० कुखुरा, दुई भैँसी, तीन वटा बाख्रा मरेका छन् ।’

नेपालका अनुसार यहाँ आगलागीले पाँचवटा घरमा आंशिक क्षति भएको छ । सात गोठ र नौ परालको टौवामा पूर्ण क्षति पुगेको छ । यस्तै, एउटा विद्यालय र एउटा गोठमा आंशिक क्षति हुन पुगेको छ । गत पुस महिनामा भएको आगलागीमा एउटा कारमा समेत क्षति पुगेको सूचना अधिकारी नेपालले बताए ।

जिल्लामा भएका साउन र असोजमा तीन–तीन, कात्तिक र मङ्सिरमा पाँच÷पाँच, पुसमा सात, माघमा छ, फागुनमा चार, चैतमा पाँचवटा आगलागीका घटना भएका छन् । सुख्खा मौसममा आगलागीका घटना बढ्ने गरे पनि नियन्त्रणका लागि वारुण यन्त्र (दमकल) नहुँदा समस्या हुने गरेको छ । यहाँका आठ पालिकामध्ये कावासोती र देवचुली गरी दुई नगरपालिकासँग मात्रै एक–एक वटा दमकल रहेका छन् ।

प्रतिक्रिया