काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन गएका छन् ।
सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै शुक्रबार लामिछानेले दिएको निवेदन दर्ता भइसकेको उच्च अदालत पाटनको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
निवेदनमा पहिलो सुनुवाइ गर्नका लागि सोमबारलाई पेशी तोकिएको उनले बताइन् । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए ।
शुक्रबार उच्च अदालत पाटन पुगेर सभापति लामिछानेले ६० लाख धरौटी माग्ने निर्णय बदरको माग गर्दै निवेदन दिएका हुन् । लामिछानेले आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्तासमेत गराइसकेका हुन् ।
प्रतिक्रिया