काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तैयप इर्डोगनसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी सो आग्रह गरेका हुन् ।
जबाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे । प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए । विपिनको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणाले पनि विशेष कूटनीतिक पहल गर्दै आएकी छिन् ।
आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराए । संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।
प्रतिक्रिया