विवाह गर्नुभन्दा पहिले ध्यान दिनुपर्ने कुराहरू

शास्त्रमा विवाहको कुरा

साँचो प्रेम भए, साक्षी चाहिँदैन । यस्तो प्रेम विवाहको शास्त्रमा कतै कुनै विरोध गरिएको प्रसंग पाइँदैन । तर आजकल खिचडी विवाह हुन्छ । प्रेम गरेको पनि भनिन्छ अनि मातापिता आदि सबैलाई साक्षी पनि राखिन्छ । श्रीकृष्ण, अर्जुन, नल आदिले गरेका प्रेम विवाहमा कतै कुनै विरोध भएको पाइँदैन । कुनै पनि प्रेम विवाहमा मातापिता संलग्न भएको पाइँदैन । कुनै प्रकृति वा आध्यात्मिक शक्तिलाई रोहबरमा राखी विवाह गरेर एकैचोटी आशीर्वाद लिन मातापिताकोमा पुगेको कथाप्रसंग मात्र धेरै पाइन्छ ।

यहाँहरूलाई विवाहको बारेमा शास्त्रमा वर्णन गरिएका कुरालाई जानकारी गराउने प्रयासको क्रममा यस लेखमा विवाह गर्नुभन्दा पहिले ध्यान दिनुपर्ने कुरा तथा विवाहका प्रकारहरूको बारेमा खोतल्ने प्रयास गरिएको छ । जसलाई विश्वास लाग्छ, शास्त्र मानौँजस्तो लाग्दछ त्यस्तालाई यस लेखले केही जानकारी अवश्य दिनेछ । अरूको भर पर्दा पूर्ण जानकारी नपाइने पनि हुन सक्छ त्यसका लागि पनि आफैँले केही कुरा जानी राख्न उपयुक्त हुन्छ । मनुस्मृतिमा विवाहबारे दाजुभन्दा पहिले विवाह, अग्निहोम आदि कर्म गर्ने भाइलाई ‘परिवेत्ता’ को संज्ञा दिइएको छ भने परिवेत्ताको दाजुलाई ‘परिवित्ति’ भनिएको छ ।

त्यसैगरी परिवेत्तासँग विवाह गर्ने केटी, परिवित्ति, उनलाई कन्यादान गर्ने पिता र यस्तो विवाह गराउने पुरोहित गरी पाँचै जनाले नरक भोग्नुपर्ने कुरा लेखिएको छ । यद्यपि दुवैले तोकिए अनुसारको प्रायश्चित गरे भने पनि चौथाई फल भोग्नु नै पर्ने हुन्छ । परिवित्तिले २ कृच्छ्र, कन्याले १ कृच्छ्र, कन्यादान गर्नेले कृच्छ्र र अतिकृच्छ्र तथा पुरोहितले चान्द्रायण व्रत गर्नू भनेर लेखिएको छ ।

तर, परदेशमा रहेको, नपुंसक, एउटा अण्डकोष मात्र भएको, सहोदर दाजु नभएको, वेश्यामा अति आसक्त, पतित, शूद्रसमान भई बाँचेको, अती रोगी, महा अज्ञानी, बोल्न नसक्ने, आँखा देख्न नसक्ने, कान सुन्न नसक्ने, कुब्जो, पुड्को, कुण्डक, धेरै बुढो, पहिले विवाह भएर पत्नी बितेकी, राजाको खेतीमा लागेको, धन कमाउनमा मस्त, स्वेच्छाचारी, दैलो चहार्ने, उन्मत्त र चोर यस्तो दाजुलाई छोडेर पहिले नै विवाह गर्ने भाइ दोषी हुँदैन ।

यदि दाजु ब्याजमा लगाएर धन बढाउनमा लागेको, राजाको नोकरी गर्ने, कृषक र परदेसिएको भए विवाहका लागि भाइले ३ वर्ष कुर्नु भनेर शास्त्रमा लेखिएको छ । दाजु विदेशमा छन् तर मरेबाँचेको खबर छैन भने १ वर्षपछि विवाह गर्न हुन्छ । विवाहपछि दाजु फर्केमा चौथाइ प्रायश्चित गरे पुग्छ । गौतमस्मृतिका अनुसार जेठो दाजु अध्ययनका लागि १२ वर्ष बाहिर रहँदा सानो भाइले यो अवधिपछि विवाह गर्न सक्दछ । कसैकसैको यो अवधि ६ वर्षको हो भन्ने पनि मत छ ।

नारदसंहितामा छोराको विवाह गरेको ६ महिना (३ ऋतु) सम्म कन्याको विवाह नगर्नू र छोराछोरीको बिहेपछि ६ महिनासम्म व्रत आदि (विशेष र ठूला) मंगल कार्य पनि नगर्नू भनिएको छ । यदि कसैले ६ महिनाका बीचमा दुई वटी एउटै गर्भबाट जन्मेका केटीको विवाह गरिए तीमध्ये एउटी ३ वर्षभित्र विधवा हुन्छे भनेरसमेत लेखिएको छ ।
शास्त्रमा त एउटा विवाह गरिएको घरमा साटो विवाह नगर्नू भनेरसमेत भनिएको छ । एउटै वरका लागि एकैपटक दुई वटी कन्या नदिनू । सहोदर (एउटै कोखबाट जन्मिएका) दाजुभाइको विवाह सहोदरा (एउटै कोखबाट जन्मिएका) दीदिबहिनीसँग नगर्नू, अमंगल हुन्छ ।

एकै पटक दुई विवाह तथा मुण्डन कर्म नगर्नू । (सामूहिक विवाह एवं व्रतबन्ध वा मिसाएर गरिने विवाह वा व्रतबन्ध शास्त्रका दृष्टिले सही छैन) । नारद महापुराण कन्याको जन्मसमयदेखि जोर वर्षमा तथा वरको जन्म समयदेखि बिजोर वर्षमा हुने विवाह ती दुईको प्रेम र प्रसन्नतालाई बढाउने गुणको हुन्छ । यसको विपरीत हुँदा ती दुवैलाई हानिकारक हुन्छ । आफ्नो छोरासँग जसकी छोरीको विवाह हुन्छ, पुनः उसकै छोरासँग आफ्नी छोरी बिहे गरेर दिनुलाई ‘प्रत्युद्वाह’ भनिन्छ । यस्तो विवाह कहिल्यै नगर्नू । कुनै एउटा वरलाई आफ्ना दुई छोरी बिहे गरेर नदिनू । दुई एउटै गर्भबाट जन्मेका दाजुभाइलाई दुई एउटै गर्भबाट जन्मेका कन्या विवाह गरेर नदिनू । दुई एकै कोखबाट जन्मेका छोरा वा छोरीको विवाह, मुण्डन एकै दिन नगर्नू ।

आफ्नो कुलमा ३ पुस्ताभित्र छोराको विवाह गरे ६ महिनासम्म छोरी वा सहोदर भाइको विवाह नगर्नू । २ सहोदर दाजुभाइको वा दिदीबहिनीको विवाह ६ महिनाभित्र नगर्नू । (जुम्ल्याहा भए दुवैको समान संस्कार एकै दिन वा एउटै मण्डपमा हुन सक्दछ) । बुहारी भित्र्याएको ६ महिनासम्म कन्या (छोरी)लाई पतिको घर पनि नपठाउनू । तर वर्ष फेरिएमा भने ६ महिनाभित्र उपरोक्त कार्य गर्दा पनि उत्तम हुन्छ । सहोदर दाजुभाइलाई सहोदरा दिदीबहिनी नदिनू ।

बारका कुरा

नारदसंहितामा विवाहको बारको विचार गर्दा आइत आदि बारमा जुन निन्दनीय मुहूर्त हुन्छन्, विवाह आदि शुभकार्यमा सर्वगुण सम्पन्न लग्न हुँदा पनि त्यो बार छाड्नू । यी दुष्ट मुहूर्त लग्न बलिया हुँदा पनि सर्वथा छाड्नु पर्दछ भनी व्याख्या गरिएको छ । त्यसैगरी मुहूर्तचिन्तामणिमा विवाहमा बिहीबार त्याग गर्नू भनेर किटान नै गरिएको छ ।

आजकल शास्त्रीय ज्यौतिषभन्दा पनि कलियुगीन पण्य–ज्यौतिष बढी शक्तिशाली हुने जमाना छ । पण्य–ज्यौतिषलाई विवाहपछिका कुरा मतलब हुने कुरा पनि भएन । हिजो जस्तो मायाप्रीति बसेर आजजस्तो बिहे भई भोलिजस्तो नै सम्बन्ध विच्छेद भइरहे उसलाई बढी फाइदा हुन्छ । तिनलाई यी कुरा पच्दैनन् । मनैदेखि शास्त्रका कुरा के रहेछन् त भनी जान्न चाहनेहरूका लागि यी कुरा मननयोग्य हुन सक्छन् ।

विवाह गर्न योग्य महिना

विवाह गर्नका उपयुक्त महिनाको बारेमा नारदसंहितामा यसप्रकार व्याख्या गरिएको छ । विवाहमा माघ, फागुन, वैशाख र जेठ महिना शुभप्रद कात्तिक र मंसिर मध्यम तथा बाँकी महिना अधम हुन्छ भनिएको छ भने पहिलो गर्भबाट जन्मने केटाकेटीको विवाह तिनको जन्म महिना, जन्मनक्षत्र र जन्मदिनमा पनि नगर्नु भनिएको छ । त्यसैगरी जेठा सन्तानका बीचमा र जेठमा जन्मने सन्तानको विवाह जेठमा नगर्नू भनिएको छ ।

मिथुन, कुम्भ, मकर, वृश्चिक, वृष र मेष राशिको सूर्यमा विवाह उत्तम हुन्छ । मिथुन राशिको सूर्यमा असारको पहिलो तृतीयांश अर्थात् आषाढशुक्ल परेवादेखि दशमीसम्म विवाह हुन्छ । हरिशयनीभन्दा पछि मिथुनको सूर्य हुँदाहुँदै पनि विवाह गर्न हुँदैन । वृश्चिकमा सूर्य भए कार्तिकमा, मकरका सूर्य भए पुसमा र मेषमा सूर्य भए चैतमा विवाह उत्तम हुन्छ । अर्थात् विवाहमा सौरमासको प्रमुखता हुन्छ चन्द्रमासको होइन ।

वर वा कन्या दुवै यदि पहिलो गर्भबाट जन्मेका भए जन्म महिना, जन्म नक्षत्र र जन्म तिथिमा विवाह गर्नु उचित हुँदैन । यदि दुवै दोस्रो गर्भबाट जन्मेका भए दुवैको जन्ममास आदिमा गरिने विवाह पुत्र जन्माउने हुन्छ । यस्तो पण्डितहरूको राय छ । विवाहमा जेठ महिना र जेठो वर वा जेठी कन्यामध्ये कुनै २ मध्यम हुन्छ । तीनै ज्येष्ठ कहिल्यै ठीक हुँदैन । कुनै कुनै आचार्यले कृत्तिकाका सूर्यलाई छोडी विवाह गर्नु र वरवधु दुवै जेठो हुँदा कुनै हालतमा विवाह नगर्नु भनेका छन् ।

राजमार्तण्डका अनुसार मंगलकार्य गर्न, विवाह गर्न र कन्याको वरण गर्न चैत र पुसबाहेक अन्य महिना उपयुक्त हुन्छन् । असारमा विवाह गरे नारी धनधान्य भोगबाट वञ्चित हुन्छे । साउनमा गरे सन्तान टिक्दैनन् । भदौमा गरे परपुरुषसँग लाग्ने हुन्छे । असौजमा गरे कन्याको चाँडै मृत्यु हुन्छ । कात्तिकमा गरे दुःख (रोग) ले पीडित हुन्छे । पुसमा गरे मृत्यु वा अनेक थरी वियोग हुन्छ । चैतमा गरे नसामा रमाउने हुन्छे । यी बाहेक अन्य महिनामा विवाह गर्ने नारी सन्तानसुख (पतिप्रिया) र समृद्धा हुन्छे ।

विवाहमा राशि जुराउने कार्य

नारदसंहिताका अनुसार स्त्रीपुरुष दुवैको राशि यदि ६–८ भए मृत्यु, ९–५ भए सन्तानरहित, २–१२ भए अशुभ तथा यसभन्दा बेग्लै भए दुवैका बीचमा उत्तम स्नेह रहन्छ । एकाधिपत्य हुँदा तथा एकआपसमा मित्र राशि हुँदा विवाह गर्न शुभ हुन्छ । त्यस्तै २–१२, त्रिकोण र ६–८ को दोष हुँदा विवाह गर्न हुँदैन । परस्पर शत्रु, ६–१२ र ९–५ राशिमा विवाह सम्बन्ध गर्नु उत्तम हुँदैन । जस्तैः कुम्भ–कन्या, कुम्भ–मीन, कन्या–वृष, मिथुन–वृश्चिक, कुम्भ–कर्कट, सिंह–मकर आदि राशिमा विवाह सम्बन्ध अती निन्दनीय भनिएको छ ।

वर वा वधूको दोष लुकाएर विवाह नगर्नू

याज्ञवल्क्यस्मृतिका अनुसार दोष लुकाई बिहे गराउने र नभएको दोष देखाई परित्याग गर्ने दुवैलाई १०८० पण (प्राचीन कालमा प्रचलित तामाको पैसा) तथा कुमारीमा मिथ्या दोष देखाउनेलाई १०० पण जरिवाना गर्नू भनी व्याख्या गरिएको छ । त्यसैगरी नारदस्मृतिमा दोष नभएका कन्या या वरलाई दोष छ भनी नभन्नू । दोष हुँदा परस्परको त्यागमा कुनै अपराध हुँदैन । दोष भएकी कन्यालाई दोष छैन भनेर कन्यादान दिन्छ भने त्यस्तो कन्याका पितालाई राजाले पूर्वसाहसको दण्ड दिनू ।

जो द्वेष राखी कन्यालाई असल कन्या होइन भन्छ तर कन्याको दोष प्रमाणित गर्न सक्दैन भने उसले १०० पण जरिवाना तिर्नुपर्दछ । दोष नभएकी कन्यालाई ग्रहण गरी जो परित्याग गर्दछ उसले इच्छा नहुँदानहुँदै पनि ती कन्यालाई नै विवाह गर्नुपर्ने हुन्छ । दीर्घरोगी, कुष्ठ आदिजस्ता कुत्सित रोगी, राजग्रह आदि दारिद्र आदिले युक्त, विकलांगी, पूर्वभोक्ता, निर्लज्जा र अर्को पुरुषप्रति आशक्ता यी कन्याका दोष हुन् । उन्मत्त, पतित, नपुंसक, कुठाउँमा सम्भोग गर्ने, आफन्तले छाडेको र माथिका कन्याका दोष यी वरका दोष हुन् । (तात्पर्य यो हो कि निर्दोष कन्या वा वरलाई दोषयुक्त कन्या वा वर झुक्याएर वा ढाँटेर नभिडाउनू । दुवै कूललाई हानि गर्दछ, ती कहिल्यै सुखी हुन सक्दैनन् ।)

विवाहका विधिहरू :

नारदस्मृतिमा व्याख्या गरिए अनुसार संस्कारका लागि वर्णका ८ प्रकारका विवाह विधि हुन्छन् । तिनमा ब्राह्म पहिलो हो । त्यसपछि प्राजापत्य हो । आर्ष, दैव, गान्धर्व, आसुर, राक्षस र पैशाच गरी यी आठलाई विवाहका विधि हुन् भनी बताइएको छ ।

त्यसैगरी मनुस्मृति, बुधस्मृित, विष्णुपुराण, शंखस्मृति आदिमा पनि चारैवर्णका राम्रा नराम्रा गरी ८ प्रकारका विवाहका विधि हुन्छन् भनी बताइएको छ । ब्राह्म, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र आठौँ अती निन्दनीय पैशाच गरी ८ प्रकारका विवाहका विधि हुन्छन् । वशिष्ठ धर्मशास्त्रमा भने ब्राह्म, दैव, आर्ष, गान्धर्व, क्षात्त्र र मानुष गरी विवाहका ६ प्रकारका विधि बताइएका छन् ।

ब्राह्म विधिको विवाह :

गौतमस्मृति, नारदस्मृति, मनुस्मृतिका अनुसार यदि पिता वस्त्र र गहनाले सजाएर कन्यालाई विद्या–आचरण–चरित्र–नातागोता र असल स्वभावले सम्पन्न वरलाई निमन्त्रणा गरी मन्त्रको प्रयोग गरी विवाह गरी दिन्छन् भने त्यो ‘ब्राह्म विवाह’ हुन्छ । त्यसैगरी याज्ञवल्क्यस्मृति, वशिष्ठ धर्मशास्त्र, विष्णुस्मृति, शंखस्मृतिमा पनि आमन्त्रित वरलाई शक्ति अनुसार अलंकृृत–कन्या दिनु, राजीखुसीले जल समाई (संकल्प पढी) कन्यादान गर्नु, गुणवानलाई ससम्मान बोलाएर कन्यादान दिनु, प्रार्थना गरी वरलाई बोलाई कन्या दिई गरिने विवाहलाई ‘ब्राह्म’ विवाह भनी बताइएको छ ।

दैव विधिको विवाह

गौतमस्मृति, नारदस्मृति, मनुस्मृतिका अनुसार यज्ञ गर्दा उपस्थित भएमध्येका असल ऋत्विजलाई वस्त्र–आभूषणले सिँगारेर आफ्नी कन्या दिने विधिलाई दैव विवाह भनिन्छ ।

आर्ष विधिको विवाह

आपस्तम्बगृह्यसूत्र, गौतमस्मृति नारदस्मृतिका अनुसार वस्त्र, गाई र साँढेको दान गरी सम्पादन गरिने विवाहलाई आर्ष विवाह भनिन्छ । त्यसैगरी वरपक्षसँग एउटा वा दुई वटा गाई वा गोरु लिएर विधिअनुसार आफ्नी कन्या प्रदान गर्नुलाई आर्ष विवाह भनिन्छ भनेर मनुस्मृतिमा व्याख्या गरिएको छ । वशिष्ठ धर्मशास्त्र भने वरपक्षसँग एक जोडी गाई (वा साँढे वा यी बराबरको मूल्य वा केही कमवेशी मूल्य) लिएर कन्या दिनुलाई आर्ष विवाह भनिन्छ भनी लेखिएको छ ।

प्राजापत्य विधिको विवाह

गौतमस्मृति, नारदस्मृति, मनुस्मृति, याज्ञवल्क्यस्मृति, शंखस्मृतिमा व्याख्या गरेअनुसार ‘तिमीहरू दुवैले सँगै रहेर मिलेर धर्मअनुसार आचरण गर्नू’ भनी सत्कारपूर्वक कन्यादान गर्ने विधिलाई प्राजापत्य विवाह भनिन्छ ।

गान्धर्व विधिको विवाह

गौतमस्मृति, शंखस्मृति, मनुस्मृति आदिमा आपसमा प्रेमबसी गरिने विवाह गान्धर्व विवाह हो । केटाकेटीले एक–आपसमा स्वेच्छाले कामाशक्ति र वासनाप्रधान प्रेम सम्बन्ध गाँसी गर्ने विवाह गान्धर्व विवाह हो । अर्थात परस्पर वासना पूरा गर्न चाहने समान जातका (वा स्तरका वा उमेरका) केटाकेटीको स्वेच्छाले प्रेमवश हुने विवाह गान्धर्व विवाह हो । मातापिताको अनुपस्थितिमा गरिने प्रेम–विवाह गान्धर्व विवाह हो ।

मेरो भनाइ

व्यवहारमा साक्षीको आवश्यकता विश्वास नभएपछि मात्र हुन्छ । साँचो प्रेम भए, साक्षी चाहिँदैन । यस्तो प्रेम विवाहको शास्त्रमा कतै कुनै विरोध गरिएको प्रसंग पाइँदैन । तर आजकल खिचडी विवाह हुन्छ । प्रेम गरेको पनि भनिन्छ अनि मातापिता आदि सबैलाई साक्षी पनि राखिन्छ । श्रीकृष्ण, अर्जुन, नल आदिले गरेका प्रेम विवाहमा कतै कुनै विरोध भएको पाइँदैन । कुनै पनि प्रेम विवाहमा मातापिता संलग्न भएको पाइँदैन ।

कुनै प्रकृति वा आध्यात्मिक शक्तिलाई रोहबरमा राखी विवाह गरेर एकैचोटी आशीर्वाद लिन मातापिताकोमा पुगेको कथाप्रसंग मात्र धेरै पाइन्छ । प्रेम विवाहको नतिजा के हुन्छ, त्यो धार्मिक हुन्छ हुँदैन, यसको पाटो पछि हेरौँला । प्रेम भनेको आकर्षण नै हो । तर यस्तो आकर्षण बाहिरी इन्द्रियहरूका बीचमा मात्र छ वा स्वतन्त्र मनसम्म पुगेको छ त्यसैका आधारमा दाम्पत्य जीवन सुखी वा दुःखी हुने गर्दछ । किनकी इन्द्रियले गर्ने चाहनाको कहिल्यै अन्त हुँदैन । त्यसलाई मनले रोक्न सक्नु पर्दछ ।

आसुर विधिको विवाह

पत्नीहीन पुरुषलाई धन दिएर जो विवाह हुन्छ त्यो आसुर विवाह हुन्छ । कन्याले वा कन्यापक्षले वरसँग तिनको गच्छेअनुसार धन लिई कन्याप्रदान गरी गरिने विवाह आसुर विवाह हो ।यसरी किनिएकी कन्याले विवाहपश्चात् लोग्नेसँग सम्बन्ध राख्नुअघि अरूसँग सम्बन्ध राखे त्यो स्त्री पापिनी हुन्छे भनी चतुर्मास्य यज्ञ प्रकरणमा बताइएको छ ।

राक्षस विधिको विवाह

यदि बलपूर्वक कन्याको हरण गरी विवाह गरिन्छ भने त्यो त्यसलाई राक्षस विवाह भनिन्छ । युद्ध जितेर (युद्धका समयमा) कन्या हरण गरी गरिने विवाह पनि राक्षस विवाह हो । संरक्षकलाई मारेर, हातगोडामा चोट पु¥याएर, वासस्थान आदि नष्ट गरेर रुँदै गाली गर्दै गरिरहेकी कन्यालाई हरण गरी आफ्नो अधिकारमा लिनु पनि राक्षस विधिको विवाह हो ।

पैशाच विधिको विवाह

यदि पुरुष अचेत कन्यालाई गमन गरी विवाह गर्दछ भने त्यो पैशाच विधिको विवाह हुन्छ । सुतेकी र होस नभएकी कन्यालाई सम्भोग गरी गरिने विवाह पैशाच विवाह हो । निदाइरहेकी, अर्धमूर्छित वा अर्धनिद्रामा परेकी कन्यालाई जवर्जस्ती गरी वाध्यताले विवाह गर्नु अत्यन्त अधम पैशाच विधिको विवाह हो ।

आजकल यी विधिमध्ये कुनै पनि विधिले विवाह हुन प्रायः छाडेको छ । त्यसैले वैदिक विवाह गरेँ भन्नु बेकार छ । आजकल हुने विवाह म्यारिज मात्र हो । यसैले म्यारिजमा पश्चिमतिर सकारात्मक वा नकारात्मक जेजस्ता गुण देखिन्छन्, तिनै गुण यहाँ पनि देखिन थालेका छन् ।

प्रतिक्रिया