काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनामा १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा (सेयर धितो कर्जा) प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म यस्तो कर्जा २६ दशमलव २९ प्रतिशतले वृद्धि भएको हो । गत असार मसान्तसम्म यस्तो कर्जा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ प्रवाह भएको थियो ।
ठूला लगानीकर्ता धितोपत्र दोस्रो बजारमा प्रवेश गर्दा सेयर धितो कर्जा बढेको जानकारहरू बताउँछन् । यो अवधिमा १ करोडभन्दा माथिको सेयर धितो कर्जा १९ अर्ब ५१ करोड २१ लाख रुपैयाँले बढेको छ ।
पुस मसान्तसम्म १ करोडभन्दा माथि लिनेहरूमा यस्तो कर्जा ७५ अर्ब ४४ करोड २३ लाख रुपैयाँ प्रवाह भएको छ । गत असार मसान्तसम्म यस्तो कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ प्रवाह भएको थियो । त्यस्तै, ५० लाखदेखि १ अर्बसम्म लिनेमा १४ अर्ब २८ करोड १८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । गत असार मसान्तसम्म यस्तो कर्जा १२ अर्ब ४२ करोड रुपैयाँ प्रवाह भएको थियो । ६ महिनामा यस्तो कर्जा १४ दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, ६ महिनामा १६ अर्ब १४ करोड रुपैयाँ २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जा प्रवाह भएको छ । गत असारसम्म यस्तो कर्जा १४ अर्ब ४२ करोड रुपैयाँ प्रवाह भएको थियो । त्यसैगरी, २५ लाखसम्मका सेयर धितो कर्जा सात अर्ब ९० करोड रुपैयाँ प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांक छ । गत असार मसान्तसम्म ७ अर्ब ३१ करोड रुपैयाँ २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा प्रवाह भएको थियो ।
नेप्सेमा सुधार, ११ अर्ब ८७ करोडको कारोबार
यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार भने झिनो अंकको मात्रै वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २ हजार ७३० को विन्दुमा कायम भएको हो । सोमबार ३१७ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर १ लाख ११ हजार ९१८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा बैंकिङ शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव ६७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २७, लघुवित्त शून्य दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ७८, निर्जीवन बिमा शून्य दशमलव ८२ र व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ३९, वित्त १ दशमलव शून्य ७, होटल तथा पर्यटन शून्य दशमलव शूून्य १, जलविद्युत् शून्य दशमलव ४८ र लगानी समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको हो ।
प्रतिक्रिया