काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरूमा निक्षेप संकलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताएका हुन् ।
‘पछिल्लो दिनहरूमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ’, अर्थमन्त्री पौडेलले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताए । यद्यपि, बैंकहरूले कर्जा असुलीमा केही समस्या भोगिरहेको उनले स्वीकार गरे ।
‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरू हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ । बाह्य क्षेत्रमा सन्तुलन छ । बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ । बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ’, गभर्नर अधिकारीले भने, ‘गतवर्षको तुलनामा भन्दा सरकारी राजस्व बढेको छ । आयात–निर्यात बढ्न थालेको छ । पछिल्लो समय पुँजी निर्माणसँग सम्बन्धित सामानहरूको आयात बढेको छ । यसकारण हामी निरुत्साहित हुनुहुँदैन । हाम्रा सकारात्मक पक्ष धेरै छन् ।’
प्रतिक्रिया