बाणिज्य बैंकहरुको नाफामा गिरावट, सबैभन्दा धेरै घट्नेमा एनआइसी एसिया

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ । पुस मसान्तसम्म नौ वाणिज्य बैंकको नाफा घटेको छ । ११ वाणिज्य बैंकको नाफा बढेको छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणानुसार गत वर्षको पुस मसान्तसम्मको तुलनामा यसपालि ४.६२ प्रतिशतले नाफामा कमी आएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

चालु आवमा प्रभु बैंकले नाफा गत वर्षको तुलनामा ८५ प्रतिशतले बढाएर १ अर्ब ३३ करोड रुपैयाँ पुर्याउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७.१८ प्रतिशतले बढाएर नाफा २ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । यो अवधिमा ग्लोबल आइएमई बैंकले पनि नाफामा ४९.५१ प्रतिशतले बढाएर ३ अर्ब ५ करोड पुर्याएको छ ।

यता नाफामा सधैँ अगाडि देखिने नबिल बैंकले भने गत वर्षको तुलनामा उल्लेख्य नाफा बृद्धि गर्न सकेको छैन । गत वर्षको तुलनामा यो बर्षको पुस मसान्तसम्ममा नविल बैंकले नाफामा १.२९ प्रतिशतकोमात्रै बृद्धि गर्न सफल बनेको हो ।

चालु आवको पुस मसान्तसम्म यो बैंकको नाफा ३ अर्ब २४ करोड रुपैयाँ छ। नाफामा सामान्यमात्रै बृद्धि गरेको बैंकले यो पटक पनि सर्वाधिक कमाउनेमा पहिलो नम्बरमा रहेको हो । दोस्रोमा रहेको ग्लोबल आइएमईले नाफामा उल्लेख्य सुधार गरेपनि नबीललाई जित्न भने सकेको छैन ।

यो बाहेक चालु आवमा नाफा बढाउनेमा ८ वटा बाणिज्य बैंकहरु छन् । नबिल बैंक र ग्लोबल आईएमई बैंक नाफामा ३ अर्ब माथि छन् भने एनएमबी, नेपालल इन्भेष्टमेन्ट र एभरेष्ट बैक नाफामा २ अर्ब माथि छन् ।

१ अर्ब माथि नाफा भएका प्राइम बैंक र स्टान्डर्ड चार्टड बैंकको भने पुस मसान्तमा आइपुग्दा गत वर्षको तुलनामा नाफा खुम्चिएको हो । गत वर्षको तुलनामा यो वर्ष यी दुई बैंकहरुको क्रमश १४.३४ प्रतिशत र ४.९७ प्रतिशतले नाफा घटेको हो ।

यो बाहेक एक अर्ब माथिको नाफा गर्नेमा भने हिमालयन, सानिमा , लक्ष्मी सनराईज र प्रभु बैंक छन् । जसमा प्रभु बैंकले एकैपटक नाफामा ८५ प्रतिशतको बृद्धि गर्दा सानिमाले ४.७२ प्रतिशत,लक्ष्मी सनराईजनको ९.७१ प्रतिशतले नाफा बढाएको हो ।

करोडमा मात्रै नाफा कमाउनेमा भने यो पटक ९ वटा बाणिज्य बैंकहरु देखिएका छन् । जसमा कृषि विकास बैंकले ९५ करोड नाफा कमाउँदा नेपाल एसबीआई बैंकले ९० करोड, माछापुच्छ्रे बैंकले ८० करोड , बाणिज्य बैंकले ७६ करोड, सिटिजन्स बैंकले ६६ करोड, सिद्धार्थ बैंकले ५३ करोड, नेपाल बैंकले ४६ करोड, कुमारी बैंकले २७ करोड र एनआइसी एसिया बैंकले १५ करोड रुपैयाँ मात्रै नाफा कमाएका हुन् ।

यी मध्ये एनआइसी एसिया बैंकको नाफामा ९२ प्रतिशतले गिरावट आउँदा नेपाल बैंकको नाफामा २१ प्रतिशतले, सिद्धार्थ बैंकको नाफा ५३ प्रतिशतले र बाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घटेको हो ।

अर्थतन्त्रमा सुधार नदेखिँदा बाणिज्य बैंकहरुमा गहिरिँदै गएको खराब कर्जाले नाफामा असर गर्न थालेको बताइएकाे छ । बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणमा खराब कर्जाको असर नाफामा देखिएको हो ।

प्रतिक्रिया