कार दुर्घटनामा पाटन उच्च अदालतका न्यायाधीश घाइते

काठमाडौँ । सुनसरीको बराहक्षेत्रमा न्यायाधीश सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीशसहित २ जना घाइते भएका छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाह जंगलमा मंगलबार साँझ ५ः१० बजेतिर सरकारी कार दुर्घटनामा परेको हो । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बिएबी ७१४६ नम्बरको कार दुर्घटना हुँदा विराटनगर महानगरपालिका–४ घर भएका न्यायाधीश ५४ वर्षीय नारायणप्रसाद रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका हुन् ।

खनाल न्यायाधीश रेग्मीका भिनाजु हुन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कार अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार सडकबाट करिब ३ मिटरजति तल झरेको थियो । चालकले ‘ब्रेक’ लगाउने क्रममा अनियन्त्रित भएर कार पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । न्यायाधीश रेग्मीको अवस्था सामान्य भए पनि खनालको अवस्था भने गम्भीर छ । न्यायाधीश रेग्मीको छाती र टाउकोमा चोट छ, र उनी बोल्न सक्ने अवस्थामा छन् । तर, खनाल भने बोल्न सक्ने अवस्थामा छैनन् ।

प्रतिक्रिया