काठमाडौं । स्वर्णलक्ष्मी सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने फेरि दुई दिन प्रहरी हिरासतमै बस्ने भएका छन् ।
सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि सभापति लामिछानेलाई फेरि हिरासतमै लगिएको छ । अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ ।
अब लामिछाने बुधबार अदालतमा उपस्थित हुनेछन् । उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।
सोमबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको छ । मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले सभापति लामिछाने पक्षका कानुन व्यवसायीले अब बुधबार बहस गर्नेछन् ।
उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ ।
खराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौं अदालतमा आफैँ उपस्थित हुन पुगेका थिए ।
सोमबारको थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूको तर्क थियो ।
जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रवि लामिछानेले विभिन्न समयमा चेक काटेर सहकारीबाट आएको ४९ करोड खर्च गरेको देखिएको जिकिर गरेका थिए ।
प्रतिक्रिया