स्वर्णलक्ष्मी सहकारी मुद्दामा रवि लामिछाने प्रहरीको हिरासतमा

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वागृह मन्त्री रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाइएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको बताइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ । उक्त मुद्दाको बयान दिन लामिछाने आइतबार बिहान आफै अदालतमा उपस्थित भएका थिए ।

उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा उनको बयान भएको थियो । गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैँ अदालत हाजिर भएका थिए । अब सोमबार बिहान थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ । लामिछानेको तर्फबाट बहस गर्न पुगेका अधिवक्ता यज्ञमणि न्यौपानेले रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको जानकारी दिए ।

प्रतिक्रिया