पवन आलोकसँग पहाडमा चढ्दै लमतन्न समुन्द्रमा पौडँदाको अनुभूति

प्रदीप सापकोटा

पवन आलोक चिनेको नाम । देखेको र सशरीर भेटेको चाहिँ धेरै भएको छैन । सरलता र शालीनताका प्रतिमूर्ति पाएँ । मायाका पोकाले सदैव अनुजप्रति प्रेम पोख्ने र अग्रजहरूप्रति जहिले श्रद्धाभाव दर्शाउने समकक्षीहरूका सहयोगी स्नेही मित्र । केही समयको उनीप्रतिको लगावले यति भन्न मलाई करै लाग्यो । निष्ठामा प्रश्न गर्ने ठाउँ नै नभेटिने व्यक्तित्व । प्रज्ञाप्रतिष्ठानमा एक साहित्यिक कार्यक्रममा ‘पहाड र लमतन्न समुन्द्र’ पाएँ । पढ्ने हुटहुटी सदैव पाल्ने मेरो बानी । साहित्यिक खुराक पाएर पुलकित नहुने कुरै भएन ।

उसो त यात्रा मान्छेको जीवनको अभिन्न अंग बनिसक्यो । कोही नौलो संसार देख्ने अभिलाषाले यात्रा तय गर्छन् । कोही काम विशेषले घुम्छन् । अनि नयाँ ठाउँको आस्वादान गर्ने अभिप्रायले यात्रा गर्ने पनि भेटिन्छन् । तर यात्राको बारेमा सबैले लेख्न सक्दैनन् वा लेख्न चाहँदैनन् पनि ।
नियात्रा केलाई मान्ने ? पृथक विधा ? निबन्धको उपविधा, यात्रा साहित्यका बारेमा विभिन्न भ्रम छन् । सिद्धान्तकारहरूले सिद्धान्त पनि प्रतिपादन गरेका छन् । विभिन्न ठेलीहरू लेखिएका छन् । अन्तरक्रिया त कति हो कति भनिसाध्य छैन र पनि लेखक लेख्ने हुटहुटीमै छ । विरोधको अर्थ हुन्न् । आलोचनाको मतलव कसैले गर्दैन । यसैले त नियात्रा अहिलेको समयमा सबैभन्दा पढिने गैह्रआख्यान हो ।

पवन आलोक यात्रामा रमाउँछन् । कुतूहलमय बन्छन् । नयाँ ठाउँको जानकारी लिने अभिलाषा पालेर मौका मिल्नासाथ तन्किहाल्छन् । यसैक्रममा ‘पहाड र लमतन्न समुन्द्र’ जन्मिएको हो । निबन्ध र यात्रानुभूतिको बेजोडको समिश्रण र घुलनमा यो कृति उपस्थित भएको छ । यसमा निबन्ध छाएको छ । नियात्रा आएको छ । विभिन्न १५ शीर्षकमा स्वेदश तथा विदेशका विभिन्न स्थान र परिवेशहरूमा निजात्मकताको पालिस लाएर सुन्दर ढंगले खिपिएका छन् यात्रानुभवहरू ।

पवनका शालिनतामा छन् एक जोडी तेजिला आँखा । ती आँखाहरूले मज्जैले दृश्यापान गरेर, सोधिखोजी गरेर आफैँलाई त्यहाँ समाहित गराउन सक्ने बेजोडको खुबी राख्छन् । यसैयात्राको क्रममा विचरण गरेका विभिन्न पहाडका रमणीय उच्चाहटहरू भूभागहरू उक्लिन मन पराएका छन् । झप्री केरा र सरुवाको कुरा सुन्दै मुखबाट पानी आउने । आफू हिँडेडुलेका बाटाहरूले नोस्टाल्जिक बनाउँछ पवनलाई । योगमायाको तपस्यास्थल गौडेनी, मझुवाबेँसी पुग्दा मन गर्वले फुल्छ उनको झनै अलिक व्यवस्थित गरिएको मन्दिर, पाटीपौवा र सत्तलले उत्साहित बनाउँछ । पहाडमा प्रेमिल पाइलामै उनी केही थान विदेशीसँग भलाकुसारी गर्न पनि भ्याउँछन् । असाध्यै पट्यारलाग्दा नागीहरूको कुनै पर्वाह नगरी पुराना स्कुले जीवनका अविष्मरणीय पलहरूतिर मनलाई पठाउन सकेका छन् ।

पोखरीहरूको सहरमा रामजानकी मन्दिर सहितको संग्रहालय, मोतिचुरको लड्डु, गंगासागरको आरती, ५२ पोखरीहरूको स्थान जनकपुरको नालीबेली छ । धनुषाधाम जहाँ भगवान् रामचन्द्रले धनुषमा ताँदो चढाउन लाग्दा भाँचिएर उछिट्टिएको भनि धार्मिक विश्वास गर्ने स्थानको समेत दृष्यापान गरेको बताएका छन् । त्यहाँ रहेको पिपलको बोट ५०० वर्ष पुरानो भएको जानकारी पनि छ । गुराँसको राजधानीतिरमा तिनजुरे, मिल्के र जलजले जहाँ विभिन्न जातिप्रजातिका गुराँसहरू फुल्छन् । सत्रसय वर्गकिमीमा फैलिएको छ । जानकारीमूलक यात्रा देखिन्छ । नेपालमा ३२ प्रकारका प्रजातिका गुराँसमध्ये त्यहाँ २८ प्रजातिका गुराँस पाइने पाठकले जानकारी लिन पाएको छ । बाटोमा चौरी र खच्चरको लावालस्करले पवनलाई आफू अर्कै दुनियाँमा छु जस्तो भान पर्छ । गुराँसको जुस र वाइन, लोकल कोदाको रक्सीको चर्चा पनि गरिएको छ । डरलाग्दा भिरपहराहरू, उकालीओरालीहरू, कञ्चनजंघा साहित्यिक प्रतिष्ठान र साहित्यिक चर्चा, इलामको यात्रा, पाथीभराको धार्मिक यात्रा आदि समेतका प्रसंगहरू यहाँ आएका छन् । छिचोल्दैछिचोल्दै घुम्तीहरूमा विभिन्न तराई क्षेत्रका जिल्लाहरूको भ्रमणलाई कोरिएको छ ।

‘टिट्लिसको हिउँमा चिप्लेटी’ मा नियात्राकारले युरोपका यात्राका केही मज्जेदार पलहरू कैद गरेका छन् । त्यहाँका गाडीलाई उनले विराटनगरदेखि काठमाडौँको बसयात्रासँग दाँज्दै बिल्कुल पृथक पाएको बताएका छन् । कहाँ युरोपको अत्याधुनिक सुविधायुक्त बस कहाँ नेपालका थोत्रा गाडी कुनै पनि मानेमा तुलना हुनै सकेन । ५ दिने यो यात्रामा फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र स्विट्जरल्यान्डको यात्रा वृतान्त छ । रोमान्टिक मुडमा त्यहाँका जोडी देख्छन् बेलायतको डोभरमा । फ्रान्स र बेलायतलाई जोड्ने समुन्द्रमुनिको टनेल देखेर आश्चर्यमा परेका नियात्राकार फ्रान्सहुँदै बेल्जियम प्रवेश गर्छन् । ब्रसेल्सका विभिन्न ऐतिहासिक स्थलहरूको अवलोकन गर्छन् । राइन नदी र वाटरफल्समा पुग्दा उनी नोस्टाल्जिक भएर भोजपुर र संखुवासभातिर फर्किन्छन् बाल्यकालतिर जतिबेला पौडी र दुवाली थुनेर माछा मारेको यादले उनी पुलकित हुन्छन् । स्विट्जरल्यान्डको केबुलकारबाट अग्लास्थानमा हिउँ देख्छन र नेपालको माउन्टेन ल्फाइट सम्झन्छन् र रोमाञ्चित बन्छन् । १० हजार फिटको माउन्ट टिट्लिसको आकर्षक पक्षले उनलाई छुन्छ ।

जेनेभाको यात्रा वृतान्त हो ‘स्वैरकाल्पनिक लाग्ने एउटा भूस्वर्गमा’ । उनी यहाँ नेपाललाई तुलना गर्छन् स्विट्जरल्यान्डसँग हामी पनि भूपरिवेष्ठितमुलुक तर विकासमा हामी कहाँ अनि त्यो देश कहाँ ? दःुखी हुन्छन् देश सम्झेर । नेताहरू सपना बाँड्छन् स्विट्जरल्यान्ड बनाउने भनेर तर मेलम्चीसम्म सहर ल्याउन सक्दैनन् । इतिहास सम्झन्छन् हाम्रो गौरवशाली छ तर भ्रष्टाचार र बेथितिले देशको हविगत सम्झेर दुःखी बन्छन् ।

‘सपनाका सहरहरूमा’ पेरिसको यात्रा वर्णन जुन जीवन्त सहर, मनोरञ्जनका पारखीहरूको निम्ति सपनाको सहर, जति रात छिप्पिदै जान्छ रोमान्टिक बन्दै जान्छ यो । विश्वभरका पर्यटकहरूको आकर्षक पर्यटकीय स्थल पनि हो यो । यहि छ, आइफेल टावर जुन विश्व प्रख्यात छ । गुस्ताफ आइफेलको नाममा नामकरण गरिएको जानकारी दिदै पवनले एक इन्जिनियरले कसरी बनायो होला यो भनेर आश्चर्य मानेका छन् । यात्राको क्रममा त्यहाँको संसद् भवन, म्युजियम, आर्क दा ट्रिम्फ, एलिसी प्यालेस आदिको पनि चर्चा गरेका छन् ।

बेलायतमा मौसमको भर नहुने भन्ने कुरालाई जानकारी दिँदै विश्वविख्यात कवि वर्डस्वर्थको गाउँमा पुगेका पवन आलोक उनले प्रयोग गर्ने गरेका लठ्ठी, टोपी, किताब आदि देखेर दंग पर्छन् । साथै कविका वासस्थानको अवलोकनमा पाएका कुराहरूको पाठकलाई जानकारी दिन्छन् । ब्रिटिसहरूले शेक्सपियर, वर्डस्वर्थ लगायतका लोकप्रिय कवि, लेखकहरूसँग सम्बन्धित कुराहरू सुरक्षित राखेर म्युजियम बनाएकोमा खुसी व्यक्त गर्छन् । फिनल्यान्डको हेलसिन्कीमा जोडी बनाएर नाच्नुपर्ने चलनको स्मरण गर्दै १ जना १८ वर्ष जतिको केटीले अफर गर्दा चिटचिट पसिना आएको कुरा बडो रोचक छ । समुन्द्रमा सयरमै पवनले भूपरिवेष्ठित मुलुकको नागरिकले लमतन्न परेको समुन्द्र देख्न पाउँदाको कुरा पनि रुचिकर ढंगले उल्लेख गरेका छन् ।

पाकिस्तानको इस्लामावादको सफा व्यवस्थित हरियाली मनोरम पार्कहरू देखेर अचम्ममा परेका आलोक महिला कम मात्र सडकमा देखेर चकित छन् । पुरुषले समेत पुरै शरीर ढाकिने लुगा लगाएको पनि उनले पहिलोपटक देखे । उनी जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएको स्थान रावलपिण्डी हेर्ने उत्सुकता पूरा गर्छन् । भुट्टोले लेखेको कृतिसहित उनलाई सम्झन्छन् । विश्वको सातौँ आश्चर्यजनक स्थान ग्रेटवाल पुग्न नसकेकोमा थकथकी मान्ने नियात्राकार बेइजिङका मुख्य मुख्य स्थानहरूको दृश्पापानमा रमाएका छन् । भाषागत समस्या झेलेका उनी प्रख्यात नेता सन यात्सेनको जन्मस्थान, फूलहरूको सहर गोँन्जाउ पनि पुग्छन् । फिलिपिन्स जसले धेरै देशको उपनिवेशको रूपमा आफूलाई भोग्नुपरेको छ, त्यहाँको राजधानी मनिला पुग्छन् अफिसियल कामका लागि । मनिलाको रात्री जीवनसँग साक्षात्कार गरेका पवनले नर्तकीसँग गरेका ठट्टेउला संवादहरू पनि पस्केका छन्, ‘मनिला, सुन्दरी र बैंस व्यापार’मा ।

बैंककका यौन व्यवसाय, सडकको ट्राफिक जाम, चियाङमाई सहर र त्यहाँ गरिएको अफिसियल सेमिनार, मेरिमको टाइगर माउन्टेन जहाँ टिकट काटेर हेर्न पाइने बाघबघिनी खोर र तिनीहरूसँगको प्रत्यक्ष साक्षात्कार मात्र नभएर हिंस्रक जनावर बाघ सुम्सुम्याउँदाको अनुभूति पोखेका छन् ‘बाघको खोरभित्र पस्दा’ मा । बेलायत हुँदै अमेरिका पुगेका नियात्राकार सेप्टेम्बर ११ मा ध्वस्त पारिएको ट्विन टावर पुनर्निर्माण हुँदै गरेको देख्दा उक्त आक्रमणमा परी मारिएकाहरू सम्झेर नतमस्तक हुन्छन् । जहाँ पुग्छन् त्यहाँ नेपाली भाषा साहित्यका गतिविधिमा सरिक हुन्छन् । अमेरिकामा पनि विभिन्न कार्यक्रममा भाग लिएका छन् । नायग्रा फल्स जाने क्रममा भेटिएको रेन्बो ब्रिज देखेर उनी भोजपुर र शंखुवासभाबीचबाट बग्ने शंखुवाखोला जस्तै नायग्रा नदी देखेर नोस्टाल्जिक हुन्छन् । संसारकै ठूलो मध्येको एक नायग्रा फल्सको बारेमा पाठकका धेरै कुतूहलता मेटाउन सफल देखिएका छन, ‘हराएँ इन्द्रणी रंगहरूमा’ ।

सुरुचीपूर्ण, सरल, मीठासपूर्ण भाषा, यात्राको सादृष्य वर्णन, अनुभवहरू, यात्राका विभिन्न विशेष प्रसंगहरू नियात्रात्मक निबन्धहरूमा प्रशस्तै पढ्न पाइन्छ । भोगाइका रोचक अनुभूतिको पस्काइ बडो मज्जेदार लाग्छन् । भन्न सकिन्छ सुरुचिपूर्ण लाग्छन् सबै नियात्राहरू । बान्की परेका छन् । के छैन् र यिनमा ऐतिहासिक जानकारी, विभिन्न यात्राका रोचक विविध प्रसंगसहितका पलहरू आत्मपरक निबन्धात्मक शैलीमा प्रस्तुत भएका छन् । विषयवस्तुहरू छरपष्ट छरिएका छैनन् जहाँ जान्छन् सिलसिलेवार प्रस्तुत गर्न सकेका छन् । देश, देशका विभिन्न स्थानको यादलाई मनमा लिएर उनले यात्रा गरेजस्तो लाग्छ । नियात्राहरू निबन्धात्मक शैलीमा पनि आएका छन् यसैले प्राडा लक्ष्मणप्रसाद गौतमले यस कृतिलाई निबन्ध र यात्रासाहित्य दुबैको अन्तरमिश्रण मानेका होलान् । नियात्रामा पवनका यात्रानुभव, विभिन्न प्रसंग र सन्दर्भ, यात्राका विषयहरूको सुक्ष्म अध्ययन, आत्मानुभूतिको विशिष्ट प्रयोग भरपूर भएका नियात्राहरूले पाठक तानिन्छ । नियात्रा देशीय तथा वैदेशीय दुबै यात्राका अनुभव, अनुभूति र यात्रावृत्तान्तले भरिएको छ । निजात्मक कल्पनामा मज्जैले उनिएर बनेको यथार्थ र तथ्यको सत्यापन गरिएको, जानकारीमूलक, आत्मानुभूति रहेको सुन्दर नियात्रासंग्रहको निम्ति पवन आलोकज्यूलाई हार्दिक बधाई ।

प्रतिक्रिया