– उनी ‘ज्ञानगुनका कुरा’मात्रै होइन ‘न्याय’ र ‘विज्ञानका कुरा’ नामका प्रकाशन पनि निकाल्छन् । ज्ञानगुनका कुरा २४० भाग प्रकाशित भैसकेको छ भने न्यायको ५५ भाग प्रकाशित छ । विज्ञानका कुरा पनि नौ अंक निकालिसकेका छन् । यी प्रकाशनहरुमा उनले आफ्नै पेन्सनको पैसा खर्च गर्ने गर्छन् ।
०३५ सालमा आइएलमा नेपाल टप गरेका शेषराज शिवाकोटी २०३९ सालमा लोक सेवा पास गरेर अधिकृततहबाट सेवा प्रवेश गरे । ४१ वर्ष न्यायसेवामा विताए । जागिरकै क्रममा ७१ जिल्ला घुमे । उच्च अदालतका मुख्यन्याधिस हुदै सेवा निवृत्त भए । तर उनी आफुलाई न्याधिस भनेर चिनाउन संकोच मान्छन् । ‘न्याय क्षेत्रमा यतिधेरै विचलन देखियो कि आफुलाई पूर्वन्यायधिस भनेर चिनाउन पनि संकोच लाग्छ,’ उनले भने । पेशागत जीवन न्याय क्षेत्रमा विताए पनि उनलाई आत्मसन्तुष्टि, अमन चैन भने कला, साहित्यको क्षेत्रमा काम गर्दा मिलेका छ ।
‘विज्ञ छदैथिएँ लोक सेवा र कानुनका पुस्तकहरु लेखेको भए, प्रशस्तै कमाउने थिएँ । तर पैसाको पछाडी कुद्न मनले मानेन ।’ शेषराज भन्छन ‘मनले अर्कै कुरा रोज्यो । त्यसैले मैले ज्ञानगुनका कुरा प्रकाशन गर्न थालेको हुँ,’। ‘ज्ञानगुनका कुरा’ प्रकाशन थाल्नुको कारण उनले पहिलो अंकको प्रकाशकीयमै खुलाएका छन् । ‘दिनभरी अड्डामा जागिर खाएर आएपछि घरमा भात खाएर मात्रै नबस्ने निधो गरँे’ उनले ज्ञानगुनका कुरा पहिलो अंकमा लेखेका छन् ।
ज्ञानगुन प्रकाशन त सुरु गरे तर यो नाफाको व्यापार थिएन । प्रकाशन गरेका पुस्तकका आधाउधी प्रतिमात्रै बिक्रि हुन्थे । कति त सित्तैमा बाढ्थे तर पनि उनले यसलाई निरन्तरता दिन छाडेनन् । ‘अहिले त अझ बिक्रि नै हुदैन भन्दा हुन्छ,’ उनि भन्छन्, ‘मलाई समाज र देशलाई योगदान गरिरहेका व्यक्तित्वहरुबारे विशेषांक निकाल्दा आनन्द मिल्छ, यसैले सके जति निकाल्ने गर्छु ।’ उनी ‘ज्ञानगुनका कुरा’मात्रै होइन ‘न्याय’ र ‘विज्ञानका कुरा’ नामका प्रकाशन पनि निकाल्छन् । ज्ञानगुनका कुरा २४० भाग प्रकाशित भैसकेको छ भने न्यायको ५५ भाग प्रकाशित छ । विज्ञानका कुरा पनि नौ अंक निकालिसकेका छन् । यी प्रकाशनहरुमा उनले आफ्नै पेन्सनको पैसा खर्च गर्ने गर्छन् ।
ज्ञान र विज्ञान विनाको जगत अध्यारो हुन्छ । मानिसको मन, जीवनमा ज्ञान र विज्ञानको प्रवेशले मात्रै उसलाई सुःख समृद्धि दिन सक्छ । त्यसैले पाठकहरुले नयाँ कुरा जानुन भनेर ‘ज्ञानगुनका कुरा’ निकाल्न थालेका थिए शिवाकोटीले । केही अंक यस्तै विषयले ठाउँ लिए । ०४७ साल मंसिर १९ मा नारायण गोपालको देहवासन पछि अरुणा लामा, मुम्बईका रञ्जीत गजमेर लगायत एकसय जना विभिन्न विधाका हस्तीका आलेख समाविष्ट गरी नारायण गोपाल स्मृति विशेषांक ०४८ सालमा प्रकाशन गरे । त्यो ज्ञानगुनका कुराको तेह्रौ भाग थियो । उनलाई पत्रिकालाई प्रतिभाहरुको योगदानको पहिचान र कदरमा उपयोग गर्नु बढि अर्थपूर्ण काम हुन्छ जस्तो लाग्यो । चौधौ अंक भूपि शेरचनप्रति समर्पित गरे । भारतका सुप्रसिद्ध फिल्म निर्देशक सत्यजित रेका नाममा ज्ञानगुनको १६आँै अंक निकाले । २२औ अंक पारिजातका नाममा समर्पित गरे ।
उनले २२औँ अंकसम्म दिवंगत व्यक्तित्वहरुको मात्रै विशेषांक निकाले । त्यसपछि भने उनलाई सम्मान त जिवित हुदै पो गर्नु पर्छ त भन्ने लाग्यो । त्यसैले २३औ अंकपछि भने जिवित र स्वर्गीय दुवै खाले व्यक्तित्वहरुलाई समेट्न थालेका छन् ।
अहिले सम्म उनले एक सय पचास भन्दा धेरै व्यक्तित्वका नाममा विशेषांक निकालिसकेका छन् । नयराज पन्त विशेषांक त ३१ भाग प्रकाशन गरे । उनले २०५५ सालमा ‘नयराज पन्त नेपालका सुकरात’ शीर्षकमा विशेषांक निकालेका थिए । अर्का वागी विद्धान मदनमणि दिक्षितलाई ६ भाग समर्पित गरे । विशेषांकका स्वयंसेवी लेखकहरुको कदर गर्न उनी ढिला आइपुगेका र नयाँ आएका लेखहरु समावेश गर्दै नयाँ भाग निकाल्ने गर्छन् ।
नयराज पन्तले कोत पर्व गराउने रानी लक्ष्मी देवीलाई ‘कलुषित चरिता’ लेखे बापत सत्ताको तावेदारी गर्नेहरु रिसाए । माधव धिमिरेको नेतृत्वमा प्रज्ञा प्रतिष्ठानबाट नयराजलाई बर्खास्त गर्न सिफारिस नै गरियो, जसलाई राजा वीरेन्द्रले अस्विकृत गरिदिएका थिए । ‘वहाँ सत्ताको होइन सत्यका पुजारी हुनुहुन्थ्यो । विद्धान पनि असाध्यै’ शेषराजले नयराजलाई सम्झदै भने ।
नयराज पन्तले आफ्ना चेला इतिहासविद् ज्ञानमणी नेपालसँग ‘शेषराजले मसँग पढेको पनि होइन, मेरो चेला पनि होइन, मबाट कुनै लाभ लिएको व्यक्ति पनि होइन तर किन यत्रो श्रद्धा राख्छ’ भनेको कुरा शेषराजको कानमा पुग्यो । ‘वहाँको त्यो टिप्पणीले मलाई मेरो विशेषांक निकालेर सम्मानित गर्ने तरिका ठिकै रहेछ भन्ने लाग्यो ।’ शेषराजले भने ‘प्रतिभाको सम्मान त उसको क्षमताका आधारमा हुने चिज हो नि । जब मलाई यो मानिसले मुलुकका लागि योगदान गरेको छ भन्ने लाग्छ म आफ्ना सम्मान भाव विशेषांक निकालेर अभिव्यक्ति गर्छु ।’
प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत बनेका ईश्वर बराल नेपाली काग्रेसका संस्थापक मध्येका एक थिए । तर ब्रेन ट्युमरका कारण विरामी भएर ओछ्यान परेका बखत कांग्रेसकै सरकारले पनि उनलाई कुनै सहयोग गरेन । शेषराजलाई लाग्यो डा. ईश्वर बरालप्रति एक अंक त समर्पित गर्नै पर्छ । उनले ‘डा. ईश्वर बराल, अभिवादनका अक्षरहरु’ शीर्षकमा विशेषांक प्रकाशित गरे ।
अरुको प्रशांसा, सम्मान गर्न सानो मुटुले पुग्दैन । अझ अरुको योगदानलाई कदर गर्दै उक्त व्यक्तिप्रति समर्पित विशेषांक नै निकाल्ने हिम्मत जुटाउन त ठूलो मुटुले मात्रै पनि पुग्दैन, लेखनदेखि प्रकाशनसम्मका लागि समयका साथै आर्थिक व्ययभार बहन समेतको हिम्मत जुटाउनु पर्ने हुन्छ ।
अहिले उनी यो काम आफ्ना पिताको नाममा रुक्मिणीराज शिवाकोटी स्मृति कोष स्थापना गरेर त्यसै मार्फत प्रकाशनको काम गरिररहेका छन । ‘पिताजीको नाममा ०७९ मा रुक्मिणीराज शिवाकोटी स्मृति कोष स्थापना गरेँ ।’ शेषराज भन्छन् ‘मेरा पिताजी अरुलाई सहयोग गर्न पाउदाँ असाध्यै खुसी हुने स्वभावको हुनुहुन्थ्यो । अड्डा, अदालतमा कुनै काम परे बुबासंग नै सहयोग माग्न आउथे मानिसहरु ।’ उनि आफ्ना पितालाई सम्झन्छन्, ‘त्यसबेला सदरमुकाम चरिकोट आउन कस्सिएर चार घण्टा हिड्नु पथ्र्याे । एक घण्टा ठाडै ओरालो झरेर डेढ दुई घण्टाको ठाडो उकालो उक्लिनु पर्ने दोलखा बजार आउन । त्यहाँबाट पनि एक घण्टा हिडेपछि मात्रै चरिकोट पुगिन्थ्यो । तर वहाँले यसलाई दुःख मान्नु हुन्थेन । अरुलाई सहयोग गर्दाको सुखानुभुतिले वहाँका सबै दुःख हरण गथ्र्याे ।’
रुक्मिणीराज शिवाकोटीको तेस्रोस्मृति दिवसका अवसर पारेर शेषराजले केही अघि विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका नौ जना व्यक्तित्वलाई एकै पटक सम्मान गरे । रुक्मिणीराज शिवाकोटी स्मृति स्रष्टा सम्मान–२०८१ वरिष्ठ साहित्यकार पुष्कर लोहनीलाई प्रदान गरियो । यो सम्मानबाट यसअघि गोविन्द गिरी ‘प्रेरणा’ र बसन्त श्रेष्ठलाई सम्मानित भैसकेका छन । यसैगरी रुक्मिणीराज शिवाकोटी स्मृति पत्रकारिता सम्मान वरिष्ठ पत्रकार गोपाल थपलियालाई प्रदान गरियो भने पत्रकारितामा लामो योगदान गरेका अनि अनुसन्धानात्मक पुस्तकहरु लेख्ने शिव ढकाललाई ‘भक्तगाथा’ पुस्तकका लागि रुक्मिणीराज शिवाकोटी स्मृति सर्वाेत्कृष्ट आध्यात्मिक ग्रन्थ सम्मानबाट सम्मानित गरियो । ढकालको हालै प्रकाशित ९ सय १० पृष्ठको पुस्तक भक्त गाथामा २ सय ९७ जना श्रष्टा÷साधकको जीवनी÷गाथा समेटिएको छ ।
रुक्मिणीराज शिवाकोटी स्मृति गौरवशाली बन्धु सम्मान राजनीतिशास्त्री प्रा. डा. गोपाल शिवाकोटी (मरणोप्रान्त)लाई प्रदान गरियो । स्वर्गीय गोपाल शिवाकोटी १५ सय पेज भन्दा मोटा ‘वृहद संस्कृति–सम्पदा कोष’, राजनीतिशास्त्र शब्दकोष लगायत ४५ भन्दा धेरै पुस्तक लेखेका बौदिक व्यक्तित्व हुन् । कमजोर श्रवण तथा दृष्टि क्षमता र अनेकौ दीर्घ रोग हुँदाहुँदै पनिस्वास्थ्य प्रतिकुलताकै समयमै शिवाकोटीले महत्वपूर्ण र सबै भन्दा धेरै पुस्तक लेखेका थिए । राज्यको स्थायी प्रतिपक्ष स्वर्गिय शिवाकोटी जस्ता व्यक्तिलाई जिवित हुदै सम्मान गर्न नसकेपनि मरणोप्रान्त नै भएपनि सम्मान गर्न पाँउदा आनन्द लागेको शेषराज बताउछन् । रुक्मिणीराज शिवाकोटी स्मृति गौरवशाली चेली सम्मान शिक्षासेवी डा गीता खरेल (शिवाकोटी)लाई प्रदान गरियो भने रोचक घिमिरे साहित्यिक पत्रकारिता सम्मान–२०८१ श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गरियो ।
न्याय स्रष्टा सम्मानबाट डिल्लीराज आचार्यलाई सम्मानित गरियो । यो सम्मान ‘न्याय’मा वर्षभरी प्रकाशित लेखमध्ये उत्कृष्ट लेखका लागि प्रदान गरिएको हो । प्राणिशास्त्रको अतुलनीय योगदानका लागि ‘विज्ञानका कुरा स्रष्टा सम्मान’ डा मुकेश कुमार चालिसे (प्राणीशास्त्री)लाई प्रदान गरियो ।
सम्मानित हरेक व्यक्तित्वमाथि एक–एक वटा विशेषांक पनि प्रकाशित गरिएको छ । विशेषांकहरुमा सम्मानित व्यक्तित्वबारे विभिन्न व्यक्तिले लेखेका आलेख समावेश गरिएको छ । यसबाहेक, भर्खरै दिवंगत भएका पूर्व सभामुख दमननाथ ढुंगानाको स्मृतिमा पनि स्मृति अंक निकालिएको छ । यसैगरी, दिपक जंगम अंक, रुक्मिणीराज शिवाकोटी स्मृति ग्रन्थ– विस्तृत पुस्तक र रुक्मिणीराज स्मृति पुष्प–५, शान्तदास मानन्धर स्मृति अंक, महेशराज पन्त अंक सहित १५ वटा विशेषांक सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया