गाउँमा जब लाहुरेहरू आउँथे, उनी गीत गाउन अघि सरिहाल्थिन् । एकातिर मादलको धून बज्थ्यो, अर्कोतिर सुमनको सुरिलो आवाज । हेर्ने, सुन्नेहरू लठ्ठ हुन्थे । उनी दाउरा घाँस, मेलापात जाँदा होस्, वा विद्यालयमा गीत गाउन भनेपछि उनी हुरुक्कै हुन्थिन् । कुनै पनि प्रतिष्पर्धामा भाग लिनबाट पछि पर्दिनथिन् ।
काठमाडौँ । लोकदोहोरी गायिका सुमन थापा मगरले आफ्नो सांगीतिक करिअरलाई थप व्यस्त बढाउँदै लगेकी छन् । लामो समयदेखि गायन क्षेत्रमा सक्रिय सुमनले पछिल्लो समय ‘झ्यालमा पर्दा छ’ बोलको गीतबाट पाएको सफलता पछि आफ्नो थप सक्रियता बढेको बताउँछिन् ।
अहिले पनि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा अत्यधिक घन्किने गीत हो, ‘झ्यालमा पर्दा छ’ । अहिले दोहोरी साँझमा पनि यो गीत रोजाइकोे शीर्ष स्थानमा पर्ने गरेको छ । कुनै पार्टी, वनभोजका कार्यक्रम होस् या सार्वजनिक यातायातमा होेस् यो गीत बज्न छाडेकै छैन । यही गीतबाट थप चर्चामा आएकी र सफलता प्राप्त गरेकी गायिका हुन् सुमन थापा मगर ।
२०७७ को असोजमा सार्वजनिक भएको यो गीतले गायिका सुमनको जीवनमा परिवर्तन ल्याइदिएको छ । त्यसअघि पनि थुप्रै गीत गाएकी सुमनले जब ‘झ्यालमा पर्दा छ’ गाइन् र उनलाई सांगीतिक जीवनको सुरुआत बल्ल भएजस्तो महसुस सुमनले सुनाइन् । त्यसपछि भने चौतर्फी उनको खोजी हुन थालेको र देशविदेशबाट उनको डिमान्ड हुन थालेको उनले बताइन् ।
आजभोलि मेला महोत्सवमा उनलाई भ्याई नभ्याई हुन थालेको छ । ‘झ्यालमा पर्दा छ’ गीत गायिका सुमनले पछिल्लो समय सर्वाधिक रुचाइएका गायक एवं सर्जक खेम सेन्चुरीसँग गाएकी हुन् । त्यस गीतलाई युट्युबमा मात्रै हालसम्म २ करोड ८९ लाखभन्दा धेरैपटक हेरिएको छ । नेत्र अर्यालले लेखेको यो गीतको म्युजिक भिडियोेलाई प्रकाश भट्टटले निर्देशन गरेका हुन् । त्यसैगरी विनोद बाजुराली यस गीतका म्युजिक एरेन्जर हुन् । विष्णु शर्माको सम्पादन र नवराज उप्रेती, रविन्द्र न्यौपाने र विवेक थापाको छायांकन रहेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकामा जन्मिएकी गायिका सुमनले आफू गाउँमा छँदा गीत संगीतमा रुची राख्ने गरेको सुनाइन् । गाउँमा जब लाहुरेहरू आउँथे, उनी गीत गाउन अघि सरिहाल्थिन् । एकातिर मादलको धुन बज्थ्यो, अर्कोतिर सुमनको सुरिलो आवाज । हेर्ने, सुन्नेहरू लठ्ठ हुन्थे । उनी दाउरा घाँस, मेलापात जाँदा होस्, वा विद्यालयमा गीत गाउन भनेपछि उनी हुरुक्कै हुन्थिन् । कुनै पनि प्रतिष्पर्धामा भाग लिनबाट पछि पर्दिनथिन् ।
सुमनले आफू गायनकै लागि एक दशकअघि काठमाडौँ प्रवेश गरेको बताइन् । सन् २०१२ देखि लोकदोहोरीमा प्रवेश गरेकी उनले पहिलोपटक ‘मनको बह’ गीत रेकर्ड गरिन् । आफ्नै लय र शब्दमा रेकर्ड गरिएको यो उनको पहिलो गीत थियो । सुरुमा त उनलाई स्टुडियोमा पस्दा मनमा डर थियो । त्यसपछि उनका अन्य गीतहरू रेकर्ड भए । ‘झरे झर्छ मादलको खरी’, ‘जान्न म त रमाइलो नगरी’ जस्ता गीतले उनको पहिचान स्थापित गरिदिए ।
सुमनको ‘झ्यालमा पर्दा छ’ गीत हिट भए पनि उनले अन्य थुप्रै गीत पनि गाएकी छन् । ‘संगिनी, थर दिन्छौ र ?,’ ‘फूलमाया,’ ‘म एक्लो पिपलु,’ ‘पोखरा जामकी बटौली,’ ‘किन ढाँटम्ला,’ ‘तिम्लाई टाढा मलाई नि टाढा’ लगायत थुपै्र गीतहरू चर्चित छन् । हालसम्म उनले ४ दर्जन वटा गीत रेकर्ड गरिसकेकको सुनाइन् । कौडा, मारुनी, दोहोरी गीत गाउन खप्पिस उनले मगर भाषामा पनि गीत रेकर्ड गराएकी छन् ।
परिवारको साथ
गायिका सुमनले गीतसंगीतको क्षेत्रमा परिवारको पूर्ण साथ भएकाले आफूलाई धेरै सहज भएको बताउँछिन् । उनकी दिदी संगीता थापा मगर पनि लोकदोहोरी क्षेत्रकी चर्चित गायिका हुन् । आफू यो क्षेत्रमा आउनुमा दिदी संगीताको पनि ठूलो हात रहेको सुमन बताउँछिन् । गायिका सुमन भन्छिन्, ‘कहीँ न कहीँ परिवार भित्रका सदस्य यो क्षेत्रमा हुँदा लगाव हुने रहेछ, दिदी संगीतासँग आफ्नो जिल्ला, गाउँठाउँमा अन्य गायक, गायिकालाई देख्दा आफू पनि यही क्षेत्रमा हुन पाएँ भन्न हुने रहेछ ।’
सुमनले हालसम्म थुप्रै अवार्डहरू पाएकी छन् । सगरमाथा म्युजिक अवार्ड २०७६, म्युजिक खबर म्युजिक अवार्ड २०८०, एक्टिभ इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०२२, नेसनल साधना म्युजिक अवार्ड २०७६, नेसनल ब्रान्ड म्युजिक अवार्ड २०७७, सातौँ राष्ट्रिय लोकदोहोरी तथा अवार्ड २०७८, एएमएस राष्ट्रिय सम्मान तथा अवार्ड २०७९ बाट सम्मानित भइसकेकी छन् । आफू यो स्थानमा आइपुग्नुमा घर, परिवारका साथै विशेषरूपमा दिदी संगीता थापा मगरलाई उनी सम्झिन्छिन् ।
गायिका सुमन थापा मगरले सांगीतिक कार्यक्रमको सिलसिलामा हालसम्म दक्षिण कोरिया, जापान, थाइल्यान्ड, हङकङ, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) को यात्रा गरिसकेकी छन् । स्वदेश पनि पूर्व–पश्चिम गरेर धेरै वटा जिल्लाहरूमा उनी सांगीतिक प्रस्तुतिकै लागि पुगेकी छन् ।
निरन्तर कर्म
गायिका सुमनले कुनै पनि क्षेत्रमा निरन्तर कर्म गर्दा सफलता हात पर्ने बताउँछिन् । उनले आफूले पनि गीतसंगीतमा निरन्तर कर्म गर्दा फल मिलेको सुनाइन् । ‘हुन त मैले अझै धेरै गर्न बाँकी छ । तैपनि यहाँसम्म आउँदा आफ्नो निरन्तर कर्मको फल भन्छु, यो क्षेत्रमा काम गदै जाँदा १–२ काममा असफल भइयो भने हरेश खानु हुँदैन’, सुमन भन्छिन्, ‘दुःखमा नआत्तिने र सुखमा नमात्तिने गरियो भने लामो यात्रा गर्न सकिन्छ ।’
प्रतिक्रिया