काठमाडौँ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको गर्भमा अनुत्तरित रहेको एउटा प्रसंग उठाए । तर, उनले उठाएको त्यो प्रसंग पनि अनुत्तरित नै रह्यो । ओलीले उठाएको त्यो प्रसंग मदन भण्डारीको हत्याको विषयमा थियो, तर त्यसलाई वामदेव र आफ्नो राजीनामा मागको विषयमा मात्र केन्द्रित गरियो । त्यसको पृष्ठभूमि र यथार्थ भने ओलीले कोट्याउन आवश्यक ठानेनन् ।
बिहीबारदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा प्रधानमन्त्री ओलीले एउटा टेलिभिजनमा दिएको पुरानो अन्तर्वार्ताको छोटो अंश काटेर राखिएको छ । त्यसमा ओलीले भनेका छन्, ‘मदन भण्डारी मार्न मलाई जिम्मा दिन खोजेका थिए कांग्रेसका नेताले, मैले मानिनँ । त्यतिबेला मैले कुरा गर्दा मलाई थ्रेट पनि आयो, तलाईं मार्छन् यो कुर नगर् पनि भने । मैले कुरा गर्न सकिनँ । अहिले बुढो पनि भएँ, मरेर बाँचेको मान्छे, अब चाहिँ म भन्छु ।’
झुक्किए वामदेव, बिर्सिए ओलीले
उक्त भिडियो अन्तर्वार्ताको अगाडि र पछाडिको प्रसंग काटेर बनाइएको थियो । तर, जताततै सामाजिक सञ्जालमा छरिएपछि यो विषयमा सबैको चासो पुग्यो । यो विषयलाई बढी नै चासो दिएका वामदेव गौतमले त ओलीलाई फोन नै गरेर प्रधानमन्त्री र पार्टी अध्यक्षको पदबाट राजीनामा दिन भने । यो विषय स्वयं प्रधानमन्त्री ओलीले नै भनेका हुन् ।
कार्यक्रममा बोल्दै उनले वामदेव गौतमसँग शुक्रबार नै भएको कुराकानीको प्रसंग निकाले र वामदेवले आफ्नो राजीनामा मागेको सुनाए । आफूलाई स्वकीय सचिव राजेश ब्रजाचार्य सम्झिएर एउटा फेक भिडिओ हेरेकै भरमा वामदेवले थर्काएको उनले सुनाए । ओलीले भने, ‘एआईको जमाना छ, के–के कुराहरू तोडमोड भएर आउँछन् पत्तो हुँदैन । एउटै चिज बोल्या छ, यता कटायो उता कटायो ल्याएर जोड्यो, कस्तो लाज नभएको होला ।’
ओलीको मोबाइलमा फोन गरेर वामदेवले उक्त ‘फेक’ भिडिओ हेरेका आधारमा प्रधानमन्त्री र एमाले अध्यक्ष पदबाट राजीनामा मागेका थिए । ‘अहिले भर्खर म गाडीमा आउँदै थिएँ, वामदेव गौतमजीले फोन गर्नुभयो । अनि के भन्नुभयो भने, मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो । तर म चुप लागेँ । अब म बुढो पनि भइसकेँ, जेसुकै भए पनि मलाई केही छैन, त्यसकारण म कुरा भन्दैछु भनेर मेरै (ओलीकै) स्वरमा छ, अब केपी ओलीले प्रधानमन्त्रीबाट र पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ ? भन्देऊ तिम्रो ठुलोबालाई भनेर । कुराचाहिँ मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश (स्वकीय सचिव) ठानेर कुरा गर्दै हुनुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने ।
मुख्य विषय ओलीको राजीनामा माग्नु थिएन । ओलीले उक्त भिडियोलाई एआई भन्नु र उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका वामदेवले ‘भेरिफाई’नै नगरी सामाजिक सञ्जालमा आएको कुरा पत्याएर अनायासमै प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत थियो । किनकि उक्त भिडियोमा सुनिएको आवाज एआईको नभई ओली स्वयंकै थियो । तर, वामदेवले त्यो भिडियो जति हेरे÷सुने, त्यसको अघि र पछिको प्रसंग अर्कै थियो ।
यस्तो थियो ओलीको भनाइ
३० कात्तिक, २०७९ मा ‘प्राइम टाइम एचडी’ टेलिभिजनको आधिकारिक युट्युब च्यानलमा प्रसारण भएको ऋषि धमला र ओलीको संवादको सानो टुक्रा काटेर भाइरल बनाइएको थियो । १ घन्टा २८ मिनेट लामो उक्त अन्तर्वार्ताको ५६ मिनेट १३ सेकेन्डदेखि ५७ मिनेट ६ सेकेन्डसम्म उक्त प्रसंग छ । अन्तर्वार्ताका क्रममा ओलीले सुनाएको उक्त प्रसंगमा भनेका छन्, ‘नेपाली कांग्रेसका नेता उमेश गिरीले मदन भण्डारी मार्न मलाई जिम्मा दिन खोजेका थिए कांग्रेसका नेताले, मैले मानिनँ । त्यतिबेला मैले कुरा गर्दा मलाई थ्रेट पनि आयो, तलाईं मार्छन् यो कुरा नगर् पनि भने । मैले कुरा गर्न सकिनँ । अहिले बुढो पनि भएँ, मरेर बाँचेको मान्छे, अब चाहिँ म भन्छु । यो रहस्य त मैले भन्नुपर्छ । मदन भण्डारीको हत्याका पछाडि कांग्रेसको हात छ । कांग्रेसको सरकारले बनाएको हो भनेर कांग्रेसका नेता उमेश गिरीले सार्वजनिक टेलिभिजनमा बोल्नुभएको मैले हेरेँ । मैले शेरबहादुरजीलाई सोध्न पाएको छैन । त्यतिबेला उहाँ गृहमन्त्री हुनुहुन्थ्यो । के भएको हो ?’
यहाँ वामदेवले यो पूरै भिडियो नहेरी ओलीको राजनीमा मागे भने ओलीले पनि आफैँले भनेको कुरा बिर्सिएर ‘एआई’को आवाज भनेर झुटो अभिव्यक्ति दिए । ओलीले उक्त अन्तर्वार्तामा ‘मैले शेरबहादुरजीलाई सोध्न पाएको छैन, त्यतिबेला उहाँ गृहमन्त्री हुनुहुन्थ्यो’ भनेका थिए । अहिले सरकारमा सँगै छन् । यो विषयमा सोधे कि सोधेनन् भन्ने प्रश्नचाहिँ ओलीतिरै तेर्सिएको छ । ओलीले त्यतिबेला भनेको विषय नै मनगढन्ते थियो कि ? भन्ने आशंका पनि छ ।
माओवादीमाथि ओलीको छुद्र आरोप
२ वर्षअघि आफैँले बोलेको कुरा पनि बिर्सिएर ओलीले त्यसमा ‘एआई’तिर औँला तेस्र्याउँदै वास्तविकता नै उठाएनन् । भिडियोको वास्तविकताबारे जानकारी गराउनुपर्नेमा उनले उल्टै राजनीतिक रङ पोतिदिए । कांग्रेस र मेरोबीचमा लडाईं लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनायो होला भन्दै आफैँले बोलेको विषय पनि राजनीतितिर लगेर जोडे । ओलीले भने, ‘त्यो भिडिओ मेरै आवाजमा कसैले बनायो होला, एआईको जमाना छ । कांग्रेस र हाम्रोबीचमा लडाइँ लगाउने हिसाबले ।’
अझ उनले त यसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को काम भएको बेतुक आरोप नै लगाइदिए । ओलीले यस्तो गलत कामको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिरहेको आरोप लगाउँदै उक्त गिरोह नेकपा एमाले र आफूविरुद्ध सक्रिय भएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्ड महोदयले नराम्रो कामको नेतृत्व गरिरहनु भएको छ, र उहाँहरूको गिरोह त्यो सक्रिय छ । अरू होइन, नेकपा एमालेविरुद्ध सक्रिय छ, र त्यसमा पनि मेराविरुद्ध सक्रिय छ ।’
ओली त्यतिमै रोकिएनन् । प्रसंग नै फेरेर माओवादीलाई आरोप लगाउन थाले । उनले देशमा जुन दिन माओवादी आयो, त्यही दिनदेखि जाली, फटाहा, झुट र बेइमान तथा कुप्रचारको काम भएको आरोप लगाए । ‘देशमा माओवादी जुन दिन पलायो, त्यहीँबाट जाली, फटाहा, झुट, बेइमानी सुरु भयो । अहिले हामीविरुद्ध कुप्रचार गर्ने सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ,’ ओलीले भने ।
प्रतिक्रिया