काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले शुक्रबार बस्ने स्थायी कमिटी बैठकबाट नेताहरूको कार्यविभाजन टुंग्याउने भने पनि कुनै निर्णय लिन सकेन । शुक्रबारको बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भए पनि कुनै निर्णय नभएको उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
वार्षिक कार्ययोजना बनाएर मात्रै कार्यविभाजन गर्ने पार्टीको तयारी छ । त्यसका लागि आज शनिबार बस्ने बैठकले कार्ययोजना बनाउने उनले बताए । ‘आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजनामाथि छलफल भए पनि निर्णय भएको छैन । भोलि ११ बजे बस्ने बैठकमा पुनः छलफल हुनेछ,’ उनले भने, ‘वार्षिक कार्ययोजना बनाएर मात्रै नेताहरूको कार्यविभाजनमाथि छलफल प्रवेश हुन्छ ।’
महासचिव घनश्याम भुसालले बुधबार पेस गरेको कार्ययोजनाका आधारमा शुक्रबार नेताहरू भानुभक्त जोशी, राजेन्द्र राई, श्रीनाथ बराल, रामकुमार भट्टराई, सोम पाण्डे, मेटमणि चौधरी र शेरबहादुर कुँवरले धारणा राखेका छन् । पदाधिकारीले बोल्ने क्रम सकिएपछि स्थायी कमिटी सदस्यले धारणा राखेर वार्षिक कार्ययोजनाबारे टुंगोमा पुग्ने पार्टीले जनाएको छ ।
नेताहरूको कार्यविभाजनका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन भएको थियो । उक्त कार्यदलको प्रस्तावका आधारमा नेताहरूको कार्य विभाजन गर्न प्रयास गरिए पनि धेरै नेताले एउटै विभागमा दाबी गर्दा सफल हुन नसकेको बताइएको छ । गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन ।
झाँक्रीसहित १६ जना थपिए स्थायी समितिमा
नेकपा एसले महाधिवेशनमा हारेका पुराना पदाधिकारी र अघिल्लो कार्यकालका स्थायी समिति सदस्य र यसपालि पोलिटब्युरो सदस्य बनेकाहरूलाई स्थायी समिति सदस्य बनाएको छ । जसअनुसार रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेल स्थायी समिति सदस्य बनेका हुन् ।
प्रतिक्रिया