संघर्षसँगै लोकसंगीतमा जीवन खोजेकी झुमा

काठमाडौँ । लोकगीत कुनै साधारण धुन होइन । यो पुस्तौँदेखि प्रवाहित कथा, भावना, संस्कार, संस्कृतिको भावनाले बुझ्न सकिन्छ । त्यसैगरी जीवनको रङ र अझ भन्ने हो भने जन्मदेखि मृत्युसम्मको कथा पनि लोक संगीतमा जोडिन्छ । हाम्रा गाउँघरको पाखा, खोला, पहाड र माटो मात्र होइन सहरको चम्किलो प्रकाश र आँखै लोभ्याउने दृष्य सबैको आत्मा यसैमा समाहित छ । यही आत्माको गहिराईमा पुग्दै, नेपाली लोकसंगीतलाई जोगाउँदै, परिमार्जन गर्दै र गहिरो खोज अनुसन्धानद्वारा यसको मौलिकतालाई उजागर गर्दै गीतसंगीतको क्षेत्रमा विशिष्ठ स्थान बनाउन सफल छिन् गायिका झुमा लिम्बू ।

झुमा एक गायिका मात्र नभई नेपाली लोकसंगीतको पारखीका साथै धरोहर भएकोसमेत उनलाई नजिकबाट नियाल्नेहरू बताउँछन् । उनी स्वरकी धनी मात्र होइनन्, एउटा सर्जक, एक शोधकर्ता र लोक संगीतको संरक्षक पनि हुन् । उनले लोकगीतलाई जीवित राख्ने मात्र नभई यसलाई नयाँ रङ र स्वर दिएर मौलिकता र संस्कृतिको स्रोतको रूपमा स्थापितसमेत गरेकी छन् ।

विकट जिल्ला ताप्लेजुङमा जन्मिएकी गायिका झुमा सानैदेखि आफ्नो रुची गायनमै भएको सुनाउँछिन् । बाल्य अवस्था भनौँ या कक्षा ६ मा अध्ययन गर्दा नै आफूले काठमाडौँमा कति वटा रेकर्डिङ स्टुडियो छन् र कसरी गीत निकाल्न सकिन्छ भन्नेबारे ख्याल झुमाले राखिसकेकी थिइन् । २०५७ सालमा एसएलसी परीक्षा दिएपछि उच्च शिक्षाका लागि काठमाडौँ आउने र यतै गीतसंगीतमा पनि लाग्ने उनको सोच थियो । तर, परिवारले काठमाडौँ आउन दिएनन् । काठमाडौँ आउन नपाए पनि जन्मस्थान ताप्लेजुङबाट धरान गएर संगीत सिक्न थालेको गायिका झुमा बताउँछिन् । संगीत सिक्दै गर्दा झुमाले आफ्नो पहिलो गीति एल्बम ‘तिन्जुरे डाँडा’ सार्वजनिक गरिन् ।

तर, उनको मन धरानमा अडिन सकेन । काठमाडौँ आएर झुमाले चन्दनकुमार श्रेष्ठसँग शास्त्रीय संगीत सिक्न थालिन् । उनले २०६० सालमा दोस्रो गीति एल्बम ‘ए साइला’ सार्वजनिक गरिन् । यो एल्बम विमोचन कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ संगीतकार अम्बर गुरुङको हातबाट गरिएको झुमाले सुनाइन् । त्यसपछि उनले अम्बरलाई नै आफ्नो संगीतको गुरु बनाउने निधो गरिन् । संगीतको संसार असीमित छ, जहाँ भावना, समाज, संस्कृति र अस्तित्वका थुप्रै रङ समेटिन्छन् । यिनै विविध रङहरूसँग रंगिँदै नेपाली संगीतलाई नयाँ उचाइ दिने अठोटका साथ झुमा निरन्तर संगीत साधनामा झुमिरहिन् । उनले चन्दनकुमार श्रेष्ठ र अम्बर गुरुङसँग संगीतका सुरहरू सिक्दै गइन् ।

यसै क्रममा २०६३ सालबाट झुमाले बिट्रिस स्कुलमा वेस्टन म्युजिक सिक्न थालेको विगतलाई स्मरण गरिन् । उनी वेस्टन म्युजिक सिकेर आफूलाई परिष्कृत बनाउन चाहन्थिन् । तर, यही सिकाइले उनलाई संगीतको मूल जरो खोज्न प्रेरित गर्यो । ज्याज म्युजिक सिक्ने क्रममा उनको टिचर पियानोवादक तथा गायिका भिक्टोरिया अनुफ्रियबा र संगीत निर्देशक ब्रायनले एकदिन झुमालाई भने, ‘नेपालमा अहिले चल्तीमा रहेको संगीत त विदेशी संगीत हो, मात्र यसको भाषा नेपाली हो ।’ भिक्टोरियाले त उनलाई आफ्नो समाज र संस्कृति जोडिएको संगीतको गहिराइमा पुग्न प्रेरित गरिन् । अब भने झुमालाई रैथाने संगीतलाई जगेर्ना गर्नुपर्छ भन्ने लाग्यो । त्यही दिनदेखि आफू यसको गहिरो अध्ययनमा लागेको गायिका झुमा बताउँछिन् । लोकसंगीतमा लुकेको इतिहास खोज्दै झुमाले पहाडका थुम्को–थुम्को चहारेकी छन् जहाँ चिसो बताससँग साक्षात्कार गर्दै भिरपाखा चढेकी छन । तराईको गर्मीमा पसिना बगाउँदै, नांगा सिमसार पार गरेकी छन् भने हिमालको हिँउसँग खेलेकी छन् । खासगरी लिम्बू जातिको लोकसंस्कृति ‘मुन्धुम’को खोजीमा उनले वर्षौं बिताइन । ‘लिम्बू जातिमा गर्भदेखि मृत्यु पर्यन्तसम्म ‘मुन्धुम’ले निर्देशन गरेबमोजिम नै प्रत्येक संस्कार गरिन्छ, र ती संस्कारसँग जोडिएको छ संगीत’, झुमा भन्छिन् ।

उनले मौलिक परम्परामा समाहित भएका अज्ञात कथाहरू र विचारहरूको खोजी गरिन् । गीतमा लुकेको सत्य र त्यसको गहिराइलाई नजिकबाट अनुभव गरिन् । उनले गीतको उत्पत्ति र त्यसको मौलिकतामा गहिरो ध्यान दिइन् । वर्षौंको खोजमा झुमाले लोकगीतमा जीवनको दर्शन र अनुभूतिका प्रतिबिम्बहरू भेटेकी छन् । उनले नेपाली संगीतलाई नयाँ आयाम दिनकै लागि परम्परागत गीतहरूको गहिराई र संवेदनशीलतालाई उजागर गर्न निरन्तर खोज गरिन् ।

अनुसन्धानकै क्रममा उनले २०६८ साल (सन् २०११) देखि भने ‘मुन्धुम’लाई रेकर्ड गर्न थालिन् । लिम्बु संस्कृतिमा धामी झाँक्री, येबा साम्बा फेदाङ्गमाहरूले जुन बाजा बजाएर जसरी मुन्धुम फलाक्ने गर्छन् त्यसलाई जस्ताको त्यस्तै रेकर्ड गरी ‘खासाम’ एल्बममा समावेश गरिन् । झुमाले २०७० साल (सन् २०१३) मा सार्वजनिक भएको ‘खासाम’मा पालाम, ख्याली, र हाक्पारे गरि ७ वटा मुन्धुमहरू समावेश गरिन् । एल्बमसँगै मुन्धुमहरूको विशेषतालाई व्याख्या गरेर बुकलेट पनि समावेश गरिन् ।

त्यसैगरी २०७१ साल (सन् २०१४) मा उनले ‘अम्बर संगीत’ नामको एल्बम सार्वजनिक गरिन् । दुवै एल्बमको सफलताले उनलाई विभिन्न स्थानबाट कार्यक्रमको अफर आउन थाल्यो । आफूले ती सबै कार्यक्रमलाई रैथाने संगीतको प्रवद्र्धनका लागि सदुपयोग गरेको सुनाइन् । नेपाल र भारतका विभिन्न जिल्लाहरूसहित हङकङमा उनले प्रस्तुति दिइन् । सन् २०१५ देखि झुमाले सुदूरपश्चिम, तराई, हुम्ला, जुम्ला, डडेल्धुरा जस्ता धेरै भूभागमा पुगेर त्यहाँ प्रचलित लोकसंगीतको खोजी गरिन् ।

झुमाले ‘खासाम’ एल्बममार्फत आफ्नो लोकसंगीतलाई सुरक्षित गरिन् । भावी पुस्ताका लागि आफ्नो पुर्खाको संस्कार र संस्कृतिलाई सुरक्षित हस्तान्तरणमा अहं भूमिका खेलिन् । मुन्धुमहरूको अन्तर्राष्ट्रियकरणका लागि उनले ‘खासाम’मा समावेश सम्पूर्ण मुन्धुमहरूलाई व्यावसायिक रूपमा रि–रेकर्डिङ गर्ने निर्णय गरिन् । आफूले बेलायतको सोअस युनिभर्सिटिमा आदिवासी जनजातिहरूको संगीत अध्ययन हुने गरेको पत्ता लगाएको झुमा बताउँछिन् । उनलाई थाहा भयो नेपालका विश्व शाही र गंगा थापालगायतले त्यही युनिभर्सिटीमा संगीत अध्ययन गरिरहेका थिए । झुमा यिनीहरूलाई भेट्न सन् २०१६ मा बेलायत पुगिन् । बेलायत पुगेपछि युनिभर्सिटिमै झुमाले रैथाने नेपाली संगीतबारे अन्तक्र्रिया गरेको बताइन् । उनको एल्बम ‘खासाम’ त्यहाँको लाइब्रेरीमा अध्ययनका लागि रहने भयो । झुमाले विश्व शाहीको टिमलाई मुन्धुम र यसमा प्रयोग हुने बाजाबारे विस्तृतमा बुझाइन् । लन्डनमा विश्वले मुन्धुमहरूको एरेञ्ज गर्न थाले । नेपाल फर्केर झुमाले गुरुङ जातिको ‘घाटु नाच’को अध्ययन गर्न थालिन् । गुरुङहरूको रैथाने वस्ती लम्जुङको नालमा गाउँमा पुगेर उनले सन् २०१८ सम्म घाटुको अनुसन्धान गरिन् र सोही वर्ष ‘घाटु नाच’को म्युजिकल डकुमेन्ट्री पनि सार्वजनिक गरिन् ।

‘खासाम’मा समावेश सबै गीतलाई रि–रेकर्डिङ गरी ‘साउन्स अफ मुन्धुम’ नाम दिएर २०१८ मा लन्डनमै एल्बम सार्वजनिक गरियो । यसपछि झुमाले लन्डनमा आयोजित साउन्स अफ द वल्र्ड फेस्टिबलमा प्रस्तुति दिइन् । जहाँ नेपाली संगीतले धेरैको ध्यान खिच्यो । त्यसपछि अस्ट्रि«या, पाकिस्तान र लन्डनमा भएका अन्तर्राष्ट्रिय फेस्टिबलमा उनले सहभागिता जनाइन् । जर्मनी, बेल्जियमलगायत युरोपका थुप्रै देशहरूमा उनले ‘घाटु नाच’ म्युजिकल डकुमेन्ट्री सो गरिन् ।

कोभिड–१९ का कारण नेपालमा लकडाउन भयो । सांगीतिक कार्यक्रमहरू ठप्प भए । झुमाले लकडाउनको सदुपयोग गर्दै मौलिक लोक बाजा आफैँले तयार गर्ने निधो गरिन् । ‘मुन्धुम’को अध्ययन गर्दा उनले जे भेटिन् सोही अनुरूप बाजा बनाउन लागिन् । काठमाडौँबाट धरान हुँदै बाजा बनाउन ‘खमारी’ प्रजातिको रुख खोज्दै उनी इलाम पुगिन । ‘खमारी’को काठ हलुका हुने, नफुट्ने, किरा नलाग्ने र बजाउँदा पनि साउन्ड राम्रो आउने कुरा ‘मुन्धुम’मा उल्लेख छ । यो रुखबाट बनाएको बाजा ‘ढेला’ बजाउँदा बाघ गर्जिएजस्तो आवाज आउने र त्यहाँ नाँच्दा छुट्टै जोश आउने उनमा अनुभव ताजै छ । उनले थुलुङहरूको ‘ढेला’ मात्र होइन लिम्बुहरूको च्याब्रुङ, धिमालको ढोल, तामाङको डम्फु, गुरुङ, मगरहरूको खैजडी, नौमति बाजाको टेम्को, दमाहा, तराईमा प्रचलितल ढोल बाजालगायतका २३ बटा बाजाहरू बनाइन् । अहिले झुमाले आफ्नो प्रस्तुतिमा तिनै बाजाको प्रयोग गर्छिन् र मौलिक भाकामा स्वर हाल्छिन् ।

रैथाने संगीत समूहको अध्यक्षसमेत रहेकी झुमाले ४०० जति गीत रेकर्ड गरिसकेको जनाइन् । नेपाली मौलिक संगीतको अन्तर्राष्ट्रियकरणका लागि उनले ज्याजको फ्युजन गरेर नेपाली संगीतलाई विदेशी संगीत प्रेमीमाझ लोकप्रिय बनाइरहेकी छन् । यो बीचमा उनले देशविदेशमा सयौँको संख्यामा सोहरू गरेकी छन् । अधिकांश सोहरू उनले च्यारिटी प्रपोजका लागि गरेकी छन् । रैथाने ब्यान्डकी भोकलिस्ट तथा कम्पोजर झुमाले विभिन्न देशका वाद्यवादकहरू आफ्नो ब्यान्डमा समावेश गरेकी छन् । उनले आफ्ना गीतमा विश्वका विभिन्न संगीतसँग मौलिक संगीतको फ्युजन गर्दै आएकी छन् । आफू यतिबेला देशका विभिन्न भूभागको प्रतिनिधित्व हुने गरी गीतका माध्यमबाट नेपाल चिनाउने नयाँ एल्बमको तयारीमा रहेको झुमाको भनाइ छ ।

विभिन्न एल्बम र फुटकर गीतका साथै झुमाले विभिन्न चलचित्रमासमेत संगीत निर्देशन गरेकी छन् । झुमाले जारी, मनसरा, डिग्री माइलालगायत आधा दर्जनभन्दा बढी चलचित्रमा काम गरेकी छन् । नेपालको राष्ट्रिय गानमासमेत स्वर दिएकी झुमाले नेपाल सरकारबाट विभिन्न सम्मानहरू प्राप्त गरेकी छन् । झुमालाई नेपाल सरकारले जनसेवाश्री पञ्चम, राष्ट्रिय तथा प्रादेशिक पुरस्कार लगायतका पुरस्कारहरूबाट समेत पुरस्कृत गरेको छ ।


झुमाको गीतहरूमा सुस्केरा मात्रै छैन, शान्तिको आवाज पनि छ, आँसु मात्रै छैन, हाँसो र आशाको उज्यालो पनि छ । बास्तवमा झुमाको गीतमा एउटा विचित्र मिठास छ । त्यो मिठास केवल सुन्ने कानले महसुस गर्दैन, त्यो त हृदयले अनुभूति गर्नुपर्छ । उनका गीतमा पहाडको शान छ, तराईको सरलता छ, र हिमालको स्वच्छता छ । शताब्दीहरू बिते पनि उनको स्वर अनि उनले सिर्जना गरेका धुनहरू बाँचिरहने उनलाई नजिकबाट नियाल्नेहरू बताउँछन् ।

प्रतिक्रिया