आन्द्रेस गौसकाे कीर्तिमानी शतकमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखरा एभेन्जर्सको पहिलो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखरा एभेन्जर्सले आफ्नो तेस्रो पहिलो जित हात पारेको छ ।

ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा आफ्नो तेस्रो खेलमा पोखराले पहिलो सानदार जित हात पारेको हो । पहिलो जित हात पार्ने क्रममा पोखराले लुम्बिनीले दिएको १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १०४ रन बनाए । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । लिगको इतिहासमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका थिए ।

पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरेका थिए । यो एनपिएलमा भएको सर्वाधिक रनको साझेदारी हो । यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट १ सय १६ रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डमा रहेर त्यहाँको घरेलु क्रिकेट खेल्ने दिनेशले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । नेपालको अरु घरेलु क्रिकेट नखेल्ने दिनेशले २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा गैरआवासिय नेपाली टिमबाट खेलेका थिए ।

पोखराले पावर प्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्दै पावर प्लेमा सर्वाधिक रनको कीर्तिमान समेत बनायो । यसअघि जनकपुरले कर्णाली याक्सविरुद्ध कुनै विकेट नगुमाई बनाएको ५६ रनको कीर्तिमान तोड्यो । लुम्बिनीले ७ बलरको प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रनको योगफल तयार गरेको थियो । लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन् ।

उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किङ्सविरुद्ध ७५ बनाएका थिए । लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले ११० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए ।

मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए । लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।

आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णालीले तेस्रो खेलमा पहिलो जित हासिल गर्दा चितवनले तेस्रोमा पहिलो हार बेहारेको हो । शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स, दोस्रो खेलमा विराटनगर किङ्स र कर्णाली याक्सबीच हुनेछ ।

प्रतिक्रिया