काठमाडौँ । अन्ततः नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा सम्झौता भएको छ । बेइजिङमा बुधबार भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट ‘नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन’का उपाध्यक्ष ली सुसेले हस्ताक्षर गरेका हुन् । योसँगै लामो समयदेखि चर्चा र बहसमा रहेको बिआरआई सम्झौतामा ठोस प्रगतिको संकेत देखिएको छ ।
बिआरआई फ्रेमवर्कअन्तर्गत नेपालले १२ वटा परियोजना प्रस्ताव गरेको थियो । तर, अन्तिममा काठमाडौँ–हेटौँडा पोड–वे र काठमाडौँ उपत्यका प्रसारण लाइन स्तरोन्नतिको प्रस्ताव हटाएर बाँकी १० वटा परियोजना समेटेर हस्ताक्षर भएको छ ।
बिआरआई फ्रेमवर्कमा परेका परियोजनामा टोखा–छहरे सुरुङ मार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौँ ट्रान्सबोर्डर रेल्वे, जिलोङ–केरुङ–चिलिमे २२० केभी ट्रान्सबोर्डर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, झापा दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क, दमककै झापा स्पोर्ट्स एकेडेमी र डडेल्धुराको अमरगढी सिटीहल छन् ।
अनुदान कि ऋण ?
नेपालले अनुदानमा मात्रै बिआरआई अघि बढाउन प्रस्ताव गरे पनि चीन तयार नभएपछि दुवै विकल्प खुला राखेर सम्झौता गरिएको छ । नेपालले गरेको प्रस्तावमा ‘ग्रान्ट फाइनान्सिङ’ उल्लेख थियो भने चीनले ‘फाइनान्सिङ’ मात्रै बनाएको थियो । सोहीकारण मंगलबार हस्ताक्षर हुन सकेको थिएन । तर, पुनः दुवै पक्षबीच छलफल हुँदा ‘एड फाइनान्सिङ’ अर्थात् ‘सहायता’ मा सहमति भएपछि हस्ताक्षर भएको हो । यससँगै नेपालले कुनै पनि परियोजनामा ऋण वा सहायता दुवै लिने बाटो खुलेको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेसले अनुदानबाहेक ऋणमा बिआरआईमा सम्झौता गर्न नहुने अडान लिएपछि प्रधानमन्त्री ओली ऋण सम्झौता नगर्ने बाचा गर्दै चीन भ्रमणमा गएका थिए । तर, दुवै विकल्प खुला राखेर हस्ताक्षर भएको छ ।
ओली र देउवाको क्षेत्रमा ३ परियोजना
बिआरआई फ्रेमवर्कअन्तर्गत सम्झौता भएकामध्ये ३ वटा परियोजना प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका गृह जिल्लाका छन् । ओलीको गृह जिल्ला झापाको दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेक्टिस कम्प्लेक्स र देउवाको गृह जिल्ला डडेलधुरास्थित अमरगढी सिटी हल पनि बिआरआईअन्तर्गत राखिएको हो ।
पेकिङमा सुनाए नेपालको राजनीतिक रूपान्तरणको यात्रा
ओलीले पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपालको राजनीतिक रूपान्तरणको यात्रा विश्व इतिहासमा एक अद्वितीय मोडलका रूपमा रहेको बताए । उनले संसारका थुप्रै राजनीतिक संघर्ष प्रायः एकल वर्गका प्रतिनिधिहरूले नेतृत्व गरे पनि नेपालको आन्दोलन सामूहिक प्रयत्नमार्फत सफल भएको बताए ।
योसँगै उनले भने, ‘आज विश्वका कैयौँ देशले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको पुनःस्थापनाको कुरा गरिरहेका छन्, तर विडम्बना धेरै विकसित राष्ट्रहरुमा पनि आजका दिनमा पनि मानिसहरु लोकतन्त्रका लागि लड्नु परिरहेको अवस्था छ ।’
प्रतिक्रिया